बुधबार, वैशाख १२, २०८१

साथी आन्दोलनमा जाने ? म त जान्न !

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ ११ गते ९:५३

अक्सर थोरै राजनैतिक पृष्ठभूमि भएका साथीहरुले सोध्ने प्रश्न हो यो, साथी आान्दोलनमा जाने ? त्यसपछि अर्को साथीको उत्तर हुन्छ किन जाने ? हाम्रो समूहले भोलि काठमाडौंमा १० लाख मान्छेको शक्ति प्रदर्शन गर्दैछ त्यसैले । यस्ता संवादहरु चिया पसल, गाउँघर तथा कलेजका मित्रहरुबीच भइरहेका हुन्छन् । ओलीजीले संसद् विघटन गरेपछि अक्सर सबै राजनैतिक पार्टीको खेती भएको छ प्रदर्शन या भनौं आन्दोलन ।

मलाई लाग्छ यी प्रदर्शनहरु केका लागि त ? प्रश्न सामान्य भए तापनि यस प्रश्नको उत्तर र यसको असर बडो गम्भीर छ । नेपालमा राणा शासनको अन्त्यको लागि गरिएको संघर्षदेखि हाल लोकतन्त्र र संविधानको रक्षा नामक भइरहेको संघर्षसम्म नेपाली जनता धेरै शक्ति संघर्षहरुमा सामेल भए । त्यसका परिणामहरु मूलभूत रुपमा प्रजातन्त्र, बहुदल, लोकतान्त्रिक गणतन्त्र भए तापनि अर्को रुपमा रामेको स्थानमा श्यामे परिवर्तनको अभिलासामा मात्र परिणत भएको छ । श्यामे परिवर्तित शासकको रुपमा आउँदा पनि नेपाली जनताको समस्या ज्यूँका त्यूँ नै छन् । हामीले गरिरहेको संघर्ष व्यक्ति परिवर्तनको लागि हो वा दीर्घकालीन समस्या समाधानको लागि हो यो प्रश्न भने आजको दिनसम्म अनुत्तरित नै छ ।

आन्दोलनमा जाने हो भन्ने बित्तिकै धेरै मानिसहरु उत्साहित भएको हामी पाउँछौं । मेरा हजुरबाहरुले प्रजातन्त्र ल्याएमा चैन हुन्छ भनेर संघर्ष गरे, टाउको फुटाए, ज्यान दिए आयो त चैन ? मेरा बाहरुले मुलुकको मुहार फेर्न पञ्चायत ढाल्न रगत बगाए, गोली थापे, टाउको फुटाए शहिद भए र बहुदल ल्याए, आयो त जनताको शासन ? म र मेरा साथीहरुले राजतन्त्र ढाल्न गोली थाप्यौं, टाउको फुटायौं र गणतन्त्र ल्यायौं आयो त जनताको सुखका दिन ? अब फेरि संविधान बचाउन टाउको फुटाउनु छ, ज्यान दिनु छ र शहिद हुनु छ । यसबाट आउला त अमनचयनका दिन ? अब त आफैं सोध्छु आफैंलाई जाने हो आन्दोलनमा ?

म आन्दोलनमा जान्न । म टाउको फुटाउन्न । म शहिद हुन्न । मलाई अंगभंग भएर बाँच्नु छैन । मलाई मेरो परिवार पाल्नु छ । जस्तो नेताहरु आफ्नो परिवार पाल्न रुचाउँछन् । म मेरो मेहनतले एउटा पेट पाल्ने जमर्को गर्छु । मलाई प्रजातन्त्र, बहुदल, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नु छैन । यी शब्दहरुले मूलभूत रुपमा नेताहरुको स्वार्थपूर्ति हुने हो । मेरो परिवारले भात खान अझै पनि मुग्लान भासिनै पर्छ भने म किन शहिद बनौं ? मलाई तिम्रो विकास र समृद्धि पनि चाहिएको छैन । रामेको स्थानमा श्यामे आए पनि विदेशीले बनाइदिने सानो सिमेन्टको थुप्रोलाई विकास भनेर गर्व गर्नुपर्ने कुरामा म सचेत छु । त्यसको सट्टामा मैले मेरो इतिहास, संस्कृति, भाषा र साहित्यमाथि धावा बेलेको टुलुटुलु हेर्नुपर्नेछ । त्यसैले कृपया मलाई आन्दोलनमा जाने हो भनेर नसोध्नु होला । म आन्दोलनमा जान्न ।

कथित जनयुद्धमा घाइते, बलात्कृत, बेपत्ता पारिएका, मारिएका, शहिद बनाइएकाहरुको परिवारजनको आशु पुछिएकै छैन । जर्जर मन अझै त्यो पीडाबाट मुक्ति पाउन सकेकै छैन । गोली, बारुद र बमका अवाज सम्झँदा ती कम्पमान मन अझै रातभर निदाउन सक्दैनन् । तिनको मनमा मल्हम लगाउनुपर्ने सरकारहरु धेरै फेरिए । अब आउने सरकार पनि उसै गरी फेरिएर जाने हो । तसर्थ म कुनै पनि नालायकको स्वार्थको लागि बच्चा बोकेर भिडमा जान सक्दिन । चाहे ओलीको स्वार्थ भँड्खालोमा परोस् चाहे प्रचण्डको स्वार्थ । भिडसँग मेरो पूर्ण असमर्थन छ । तसर्थ म शक्ति प्रदर्शन र आन्दोलनमा जान्न ।

गमा आकार लागेको णतन्त्र होस् या लोकतन्त्र त्यसले जनताको भावना, आकांक्षा, इच्छा, विश्वास र अपेक्षाको कदर गर्नुपर्ने हो । त्यसको आधारस्तम्भको शीलापत्रमा मन राखेर शासन सत्ताको नीति कार्यक्रमको व्यवस्थापन र तर्जुमा हुनुपर्नेमा व्यक्ति व्यक्तिको स्वेच्छाचारिताको लागि शासन सत्ता सुम्पन नेपाली जनताले प्राणाहूतिको लागि उत्तेजित किन हुने ? यस प्रश्नले हामीलाई झक्झक्याउनु पर्दछ । दस–दस वर्षमा नेपाली जनताले प्राणोत्सर्जन गर्दै के परिवर्तनको अभिलासा राख्ने हो ? अर्को गहन प्रश्न यो हो । जब अब रोटीको लागि भौंतारिनु पर्दैन कि भनेर सोच्यो फेरि हामीले मर्नको लागि तयार हुनुपर्ने ? सडकमा पनि तिमीलाई सोफामा बस्नुपर्ने म चीसो भुँइमा बसेर भाषण सुन्नुपर्ने ? त्यसैले म आन्दोलन वा प्रदर्शनमा भाग लिन्न ।

गणतन्त्रको न्यायालयप्रति सबैको विश्वास हुनुपर्ने हो । प्रधानन्याधीशको नियुक्ति पनि सबै दलको सहकार्यमा गरिएको थियो । जजसले न्यायालयको प्रमुख छाने तिनैलाई न्यायालयप्रति विश्वास छैन भने सामान्यजनले न्यायालयबाट के अभिलासा राख्ने हो यो अर्को समस्या छँदै छ । न सरकार प्रमुखलाई न्यायालयप्रति विश्वास छ, न त छ आधा टुक्रिएको नेकपालाई । यस्तोमा संविधानको रक्षा भीडले गर्न सक्छ त ? अवश्य सक्दैन । भीड, सरकार प्रमुख, टुक्रिएको नेकपा र कांग्रेस यी सबैले पर्खिने भनेको शक्ति केन्द्रको निर्देशनलाई हो । शक्ति केन्द्रको निर्देशनलाई आत्मसात गर्नु नै छ भने जनतालाई बलीको बोको बनाउनुको औचित्य के ?

हामीले भीडको एउटा निन्याउरो मुसो बनेर आफ्नो अमूल्य समय र शरीरमाथि दाउपेच गरी टाउको फुटाफुट गर्नु मूर्खताको पराकाष्ठा हो । बरु नेपाल बन्द नै भएछ भने, मकै भुटेर खाउँला । भोक सहुँला । लकडाउनमा पनि भोक सहेकै हो । निरुद्देश्य प्रदर्शनको सहभागिताले मेरो उन्नति या अवनतिमा खासै असर गर्दैन । मैले आन्दोलनको औचित्य देख्न छाडिसकें । तसर्थ आन्दोलनमा म जान्न । मलाई नसोध है साथी आन्लोदनमा जाने हो ? म जान्न ।

प्रतिक्रिया