शनिबार, वैशाख १५, २०८१

नयाँ कोरोनासँग लड्न जनस्वास्थ्यका मापदण्ड पालना नै उत्तम : डा. अनुप वास्तोला

लक्ष्मी चौलागाईं २०७७ माघ १२ गते ७:१५

नेपालमा फेला परेको नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण दर, कोरोना खोपको प्रभावकारिता, हाल नेपालमा कोरोना संक्रमणको अवस्था लगायतका विषयमा केन्द्रित रहेर नेपालखोजका लागि लक्ष्मी चौलागाईले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलासँग गरेको कुराकानी :

नयाँ प्रजातीको कोरोनाभाइरस कस्तो प्रकृतिको छ ? यसको संक्रमणदर कस्तो छ ?
कोरोना भाइरस समुदायमा फैलिने क्रममा यसले आफ्नो स्वरुपमा परिवर्तन गर्छ । यो यसअघि देखिएका भाइरसहरु भन्दा बढी मात्रामा संक्रामक देखिएको छ । गत सेप्टेम्बरमा यो नयाँ प्रजातीको कोरोनाभाइरस आएको भएतापनि डिसेम्बरमा मात्रै यो पत्ता लागेको हो ।

भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्ने क्रममा कुनै मत्थर भएर जान्छ भने कुनै बढी संक्रामक रुपमा विकास हुने गर्छ । पछिल्लो समय यूके, ब्राजिल तथा नेपालमा देखिएको उक्त भाइरस बढी संक्रामक रुपमा पाइएको छ । शरीरका कोषिकाहरुमा छिर्नका लागि रुप परिवर्तन गर्ने क्रममा यो बढी संक्रामक रुपमा देखा परेको छ ।

नेपालमा बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातीको कोरोना भाइरस देखिइसकेको वर्तमान अवस्थामा उक्त भाइरस नेपालमा फैलन सक्ने सम्भावना कत्तिको छ ?
यो भाइरसलाई नेपालमा नै देखिएको भन्न मिल्दैन । बेलायतबाट नेपाल आएका ३ जनामा यो भाइरस देखिएको थियो । नेपाल सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई निगरानी गर्ने गरेको छ । त्यसै अनुरुप बेलायतबाट आएका व्यक्तिहरुको पीसीआर परिक्षण गर्दा उनीहरुको कोरोना पोजेटिभ देखियो ।

नेपालको वर्तमान अवस्थालाई हेर्ने हो भने पहिलो कोरोना कहर मत्थर भएर गइसकेको अवस्था छ । संक्रमितहरुको संख्या दिनहुँ घटिरहेको छ । हामीले सावधानी अपनाउन सकेमा तथा सरकारी निगरानी प्रभावकारी बनाउन सकेको खण्डमा यो भाइरस नेपालमा फैलनबाट रोक्न सकिन्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा नयाँ प्रजातीको कोरोना भाइरसको संक्रमण दर बढी रहेको छ ?
कुनै उमेर विशेषमा मात्रै यसको संक्रमण बढी हुन्छ भन्ने छैन । जसरी पहिलाको कोरोनाभाइरस संक्रमणको जोखिममा कुनैपनि उमेर समूहका व्यक्तिहरु हुन्थे । यस प्रकारको भाइरसको संक्रमण पनि जुनसुकै उमेर समूहका व्यक्तिहरुमा हुने गर्छ । फरक यति हो यो बढी मात्रामा संक्रामक छ ।

नयाँ प्रकारको कोरोनाभाइरस नेपालमा फैलन नदिनका लागि सरकारले कस्तो प्रकारको कदम चाल्नु आवश्यक छ ?
यो नयाँ प्रजातीको भाइरस भएकाले यसबारेमा धेरै तथ्यहरु सार्वजनिक हुन बाँकी नै छ । संक्रमणको मात्रा बढी भए पनि यसले देखाउने लक्षणहरु भने पुरानै प्रकृतिको छ । समुदायमा फैलिएको अवस्थामा भने यसको संक्रमण दर उच्च रहेको छ ।

भ्याक्सिनले नयाँ प्रजातीको भाइरसलाई समेत काम गर्न सक्ने अध्ययन अनुसन्धानले पत्ता लगाएका छन् । केही अध्ययनहरुमा भ्याक्सिनले काम गर्छ भन्ने बताएपनि यो पर्खाइको विषय बनेको छ । बाहिरबाट आएका व्यक्तिहरुलाई निगरानीसाथ राख्न सकिएन भने संक्रमण बढ्न सक्ने जोखिम पनि उत्तिकै रहेको छ ।

कोरोनाको पहिलो छाल भारत हुँदै नेपाल भित्रिएको थियो । भारतमा अहिले लगभग कोरोना नियन्त्रणमा आइसकेको छ । सरकारी निगरानी प्रभावकारी बनाउन सकेको अवस्थामा नेपालमा कोरोना भाइरसको दोस्रो छाल आउँदैन । यसका साथ–साथै हाम्रो मुख्य रणनीति भनेको सावधानीका उपायहरु अपनाउनु नै हो । जसमा सामाजिक दूरी कायम गर्ने, माक्स लगाउने, साबुन पानीले पटक –पटक हात हुने, जथाभावी भिडभाड नगर्ने जस्ता कुराहरु पर्छन् । कोरोना खोपलाई सरकारी तवरबाट व्यवस्थित गर्न सकेको खण्डमा पनि कोरोनाबाट बच्न सकिन्छ ।

हाल नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
अहिले नेपालमा कोरोना संक्रमणको दर घटेको छ । पछिल्लो २–३ हप्तामा गम्भीर प्रकृतिका कोरोना संक्रमितहरु उपचारका लागि आउने क्रम घटेको हुनाले पनि हामी यो भन्न सक्ने अवस्थामा छौं । कोरोनाका कारण हुने मृत्युदर नै कम भएको अवस्था छ । त्यसैले भन्न सकिन्छ कोरोनाको पहिलो छाल उत्कर्षमा पुगेर मत्थर हुने अवस्थामा छ ।

तर, यसो भन्दैमा कोरोनाको जोखिम शुन्य अवस्थामा नै पुगिसकेको अवस्था भने होइन । अहिले मानिसहरुले कोरोनाको जोखिम शुन्य नै भएजस्तो लापरवाही गरिरहेका छन् । त्यो विल्कुल ठीक होइन ।

अस्पतालमा आएका कोरोना संक्रमितहरुको उपचार र व्यवस्थापन कसरी भइरहेको छ ?
अहिलेको अवस्थामा गम्भीर प्रकृतिका भन्दा पनि कोरोनाको सामान्य लक्षण भएका व्यक्तिहरु अस्पताल आउने गरेका छन् । हाल आइसियूका ११ जना गम्भीर प्रकृतिका बिरामीहरु भर्ना भएका छन् भने क्याबिनमा ५ जना बिरामीहरु छन् ।

हाल सिकिस्त बिरामीहरु मात्रै अस्पताल आउने गरेका छन् । बिरामीहरुमा मुख्य रुपमा श्वासप्रश्वासको समस्या, थकाइ बढी लाग्ने, खोकी लागिरहने, निन्द्रा नलाग्ने जस्ता समस्या पाइएको छ ।

लकडाउन र निषेधाज्ञाको अन्त्यसँगै मानिसहरुमा कोरोनाको त्रास कम हुँदै गएको छ । जनस्वास्थ्यको मापदण्ड समेत पालना नगर्नुले फेरि कोरोना संक्रमणको भयावह स्थिती आउन सक्ने सम्भावना रहन्छ कि रहदैंन ?
एकपटक संक्रमित भइसकेको व्यक्तिले जनस्वास्थ्य मापदण्डको पालना सावधानीपूर्वक गरेका हुन्छन् । जसलाई कोरोना संक्रमण भएको हुँदैन त्यस्ता व्यक्तिले बढी लापरवाही गरेर आफ्नो परिवार र समाजलाई नै कोरोनाको उच्च जोखिममा पारेका हुन्छन् । त्यस्ता व्यक्तिहरुको लापरवाहीका कारण नै नेपालमा कोरोनाको दोस्रो छाल नआउला भन्न सकिदैंन ।

नेपालमा कोरोनाको खोप आइसकेको छ, कोरोना खोप लगाएका व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड पुरा गर्नु आवश्यक छ वा छैन ?
कोरोनाको खोप लगाउँदैमा प्रतिरक्षा प्रणाली बन्छ नै भन्ने हुँदैन । त्यसैले खोप लगाएका व्यक्तिहरुले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

खोपको प्रभावकारिता ३०–९५ प्रतिशत सम्म रहेको छ । जुन बाँकी रहेको ५ प्रतिशत छ त्यसमा प्रतिरक्षा शक्ति बन्न नसक्ने भएकोले जनस्वास्थ्यका मापदण्डलाई अहिलेकै अवस्थामा भने मिच्नु हुँदैन ।

नेपालले भारतको इन्स्टिच्यूट अफ सेरमले उत्पादन गरेको खोप नै ल्याउनुको कारण के हो ?
भारतको इन्स्टिच्यूट अफ सेरमले बनाएको खोप बेलायतको अक्सफोर्ड युनिर्भसीटिको हाइब्रिड रुप हो भनिएको छ । यसको प्रभावकारिता हाफ फुल र फुल हाफ डोजमा ९० प्रतिशत तथा फुल डोजमा ६५ प्रतिशत मात्रै हुन्छ भन्ने अध्ययनले बताएको छ । यसलाई समष्टिगत रुपमा भन्ने हो भने खोपको प्रभावकारिता ६५–९० प्रतिशतसम्म मात्रै हुन्छ । भने खोप लगाएको २ महिना प्रतिरक्षा क्षमता बन्नका लागि आवश्यक हुन्छ ।

यो खोप नेपालले भारत सरकारको अनुदानमा प्राप्त गरेको हो । यो भन्दा राम्रा अन्य कम्पनीहरुले उत्पादन गरेका खोपलाई नेपालीले किन्नै सक्दैनन् । महँगा कम्पनीहरुको खोप नेपालले किन्न नसक्ने कारणले नै भारत सरकारले अनुदानमा दिएको सेरमको खोप ल्याउनुपरेको हो भन्ने मेरो बुझाई छ ।

सेरम कम्पनीको खोपको प्रयोगले भारतमा मानिसको मृत्यु भएको समाचारहरु आएका छन् नि ?
नेपालमा पनि हातीपाइलेकोे औषधि खाएर मान्छे मरे भन्ने हल्ला चलेको हामी सबैलाई याद होला । तर त्यो हातीपाइलेको औषधिका कारण नभई व्यक्तिमा रहेका अन्य स्वास्थ्य समस्याका कारण थियो । त्यस्तै कोरोना खोपका कारण मान्छे मरेको होइन । खोपमा प्रयोग भएको मेडिसिनका कारण नभई व्यक्तिमा रहेको अन्य स्वास्थ्य समस्याका कारण मानिसको मृत्यु भएको हो । त्यसैले कोरोना खोपले गर्भवती महिला, १८ वर्ष भन्दा कम उमेरका व्यक्ति, रक्तस्रावको समस्या भएका व्यक्ति तथा यसअघि खोप लगाउँदा कुनै पनि स्वास्थ्य समस्या देखिएका व्यक्ति बाहेक जोसुकैले लगाउन सक्छन्, त्यसले कुनै पनि साइड इफेक्ट देखाउँदैन ।

कोरोना संक्रमण र यसबाट बच्नका लागि तपाईको सुझाव के छ ?
कोरोना संक्रमण मान्छको व्यवहारमा भर पर्ने कुरा हो । भइरहेको भाइरसबाट मातिने तथा नयाँ प्रजातीको भाइरसबाट आत्तिने हाम्रो बानीले हामी संक्रमणको उच्च जोखिममा हुन सक्छौं । जुन प्रकृतिको कोरोना भाइरसका लागि पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु भन्दा प्रभावकारी बचाउको उपाय अरु छैन ।

प्रतिक्रिया