कोरोनाविरुद्धको पहिलो खोप डा अनुप र सागरले लगाउने

नेपालखोज २०७७ माघ १३ गते १२:३६


काठमाडौं । कोरोना बिरुद्धको खोप अभियानको शुभारम्भ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट हुने भएको छ ।

बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

कोरोना बिरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारी र दोस्रो खोप पहिलो कोरोना संक्रमितदेखि अहिलेसम्म कोरोनाका बिरामी हेरिरहेका अस्पतालका प्रमुख कन्सलटेन्ट डा अनुप बाँस्तोलाले लगाउने कार्यक्रम रहेको छ ।


सुरुमा कोरोना भित्रँदा नेपालमा पीसीआर जाँच्न स्रोत र साधनसमेत थिएन भने अहिले देशभर ८० भन्दा बढी प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । भोलि देशभरका ६२ अस्पताल र १२० वटा खोप केन्द्रबाट एकै साथ खोप अभियान सुरु हुनेछ ।

सो अभियान सुरु भएको एक हप्ताभित्र सम्पन्न गर्ने योजना सरकारको रहेको छ । काठमाडौं उपत्यकामा भने ११ वटा प्रमुख अस्पतालबाट खोप लगाइनेछ । उपत्यकाबाट खोप दिइने ११ अस्पतालहरु निम्न अनुसार छन् ।

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
६.त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी बलम्बु अस्पताल
११. शहिद गंगालाल अस्पताल

प्रतिक्रिया