नेकपा अध्यक्ष दाहालका राजनीतिक गुरू कुँवरको निधन

नेपालखोज २०७७ माघ १३ गते १३:५०

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरू पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।

मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्यले बताएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीकाअनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए ।

उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदैछ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ । श्रद्धाञ्जलि कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

विसं २०१५ मा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए । उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो ।

त्यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका थिए । उनका एक छोरा र चार छोरी छन् । उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आएका थिए ।

प्रतिक्रिया