शुक्रबार, वैशाख १४, २०८१

आफू सँगसँगै अरुलाई पनि उद्यमी बनाउँदै रेखा दिदी (भिडियाेसहित)

नेपालखोज २०७७ माघ १४ गते ७:३१

करिब २८ वर्षअघि बर्दिया घर भएकी एक ब्राम्हण जातकी किशोरीले चौधरीसँग बिवाह गरिन् । महिलाले खाली चुलोचौको मात्रै गरेको देखेर आत्मनिर्भर कसरी बन्नुपर्छ भन्ने शिक्षा जनमानसमा फैलाउँदै, समाजसँग संघर्ष गर्दै करिव ३ वर्ष अघिदेखि अचार बनाउने व्यवसाय गर्दैछिन् । हो, उनै लगनशील महिला उद्यमी रेखा शर्मा चौधरीसँग नेपालखोजकी कार्यकारी सम्पादक आशा साहले गरेको भलाकुसारीको केही अंशः

सामान्यतः महिलाहरु उद्योग व्यवसायमा विरलै देखिन्छन् । यो अवस्थामा तपाईंले अचार बनाउने पेशा नै किन रोज्नुभयो ?
यो पेशामा महिला दिदीबहिनी विरलै देखिनुहुन्छ । उहाँहरुसँग ज्ञानको कमिले गर्दा पनि यस्तो भएको जस्तो लाग्छ । हामी महिला भएर खाली चुलोचौको र घरभित्रको काम मात्रै नहेरी सिप सिकेर आत्मनिर्भर बन्नु धेरै राम्रो कुरा हो । किनकि सँधैभरी एकनासको जिन्दगी हुँँदैन । भोलि केही परेको खण्डमा आफ्नो हातमा सिप छ भने बाँच्न सजिलो हुन्छ ।

तर, यो पेशा सोचेजस्तो सजिलो छैन । यसका लागि मेहेनत त धेरै गर्नुपर्छ । अनि आवश्यक पर्ने कच्चा पदार्थ कहाँबाट ल्याउनुहुन्छ ?
अचार बनाउन कच्चा पदार्थ धेरै चाहिन्छ । विभिन्न होलसेलहरु लगायत कालिमाटी तरकारी बजार तथा गाउँबाट पनि मगाउने गरेको छु । अकबरे खुर्सानि इलामबाट, अमला र सागपात बर्दिया र दाङबाट आउँछ ।

कच्चा पदार्थलाई राख्न स्टोरको पनि आवश्यक पर्छ । यसको व्यवस्था कसरी गर्नुभएको छ ?
कच्चा पदार्थ राख्ने स्टोरभन्दा पनि उत्पादन गरेर नै राख्छु । स्टक सामान पनि राख्नैपर्छ । अफ सिजनमा सामान पाइँदैन । अहिले लप्सीको सिजन छ, यसको अचार धेरै बनाएर राख्ने गरेका छौं । यो अचार एक वर्षलाई पुग्ने तरिकाले बनाउँछौं । कहिले गुन्द्रुकको समय आउँछ । गुन्द्रुक बनाउन आवश्यक पर्ने तोरी र रायोको साग पनि सिजनमा मात्र पाइन्छ । यसका लागि पनि मैले बनाएर नै स्टक राख्ने गरेको छु ।

सुरुमा यो काम थाल्दा समस्या र चुनौती कति आए ?
कुनै पनि काम गर्दा सुरुमा समस्या आउँछ नै, समस्या नआउने होइन । तर, समस्या आयो भनेर आत्तिन भने हुँदैन । व्यापार वा कुनै पेशा गर्दा जो व्यक्ति आत्तिन्छन्, हिम्मत हार्छन्, त्यो मानिसले कहिलै पनि प्रगति गर्न सक्दैन । हिम्मत हार्न भएन । म केहि न केहि गर्छु भनेर लागि सकेपछि त्यसमा निरन्तर काम गरिरहनुपर्यो अनि त सफल भइन्छ ।

तपाई आफैं महिला, त्यसमाथि गृहिणी । यो अवस्थामा घर परिवार, श्रीमान र छोराछोरीबाट कति साथ सहयोग पाउनुभएको छ ?
घर परिवारबाट साथ सहयोग भन्दा पनि मेरो श्रीमान बर्दिया हुनुहुन्छ । उहाँ आफ्नो काम गर्नुहुन्छ । खेतीपाति पनि उतै छ । म बाहुन कि छोरी, चौधरीसँग बिवाह गरेँ । हाम्रो बिवाह भएको २७–२८ वर्ष भयो । श्रीमान गाउँमा हुनुहुन्छ । उहाँले त्यहिँबाट कच्चा पदार्थ पठाउनुहुन्छ । छोराछोरीले स्कुल कलेज बिदा भएको बेलामा धेरै नै सहयोग गर्छन् । साथै, केही महिला दिदीबहिनीलाई रोजगार दिएको छु । यसमा उहाँहरुको पनि भरपूर्ण साथ र सहयोग पाएकी छु ।

रोजगार कति जनालाई दिनु भएको छ ?
लकडाउन भन्दा पहिला १५–१६ जनालाई रोजगार दिएकी थिए । तर, अहिले ६–७ जना मात्र हुनुहुन्छ । लकडाउनले गर्दा अन्य दिदीबहिनीहरु घर जानुभएको छ । अब केही समयपछि आउनुहुन्छ ।

तपाईले धेरै प्रकारका अचारहरु बनाउनुहुन्छ । यसमध्ये धेरै प्राथमिकता कुनलाई दिनुहुन्छ, र यसलाई बजारीकरण कसरी गर्नुहुन्छ ?
जुन अचारको माग धेरै हुन्छ, त्यही अनुसारले बनाइन्छ । मैले स्टक सामान राख्छु नै तर, अकबरे खुर्सानी, टिम्मुरको अचार, टिम्मुरको पाउडर, गुन्द्रुक र मस्यौराको सबैभन्दा बढी माग हुन्छ ।

नेपालीलाई सबैभन्दा धेरै मनपर्ने खानामध्ये एक हो गुन्द्रुक, यसको माग बजारमा कस्तो छ ?
बजारमा गुन्द्रुकको माग बढी नै छ । रायो र तोरीको गुन्द्रुक बढी मात्रामा विदेश जान्छ, अष्ट्रेलिया, अमेरिका र यूके । यी देशमा नेपालीहरु बढी छन् । त्यसकारणले गर्दा विदेशमा गुन्द्रुकको माग बढी छ । तर, नेपाली बजारमा पनि गुन्द्रक र मस्यौराको माग बढी नै छ ।

यी सामान विदेशमा कसरी पठाइ रहनुभएको छ ?
मैले आफ्नै प्रयासमा पठाएको छैन । एउटा सर्कल छ त्यहाँ कन्ट्याक हुन्छ र कन्ट्याकको माध्यमबाट बाहिर पठाउँछौं । अब विस्तारै आफ्नै तरिकाले आफ्नै प्रयासमा पठाउने तयारीमा छु ।

यो व्यवसायलाई अझ व्यवस्थित गर्न के गर्दै हुनुहुन्छ, आगमी योजना के छ ?
अहिले आफ्नै घरमा सानोतिनो हिसाबले गर्दै आइरहेकी छु । यसलाई अझ राम्ररी बुझ्दै जाँदा यो ठाउँ उपयुक्त नभएको जस्तो लागेको छ । अहिले दुई–तीन रोपनी जग्गा लिएर अलि ठूलो ठाउँमा यसलाई अझ व्यवस्थित गर्ने योजनामा छु । साथै, आफैं मह उत्पादन गर्ने योजनाका साथ मौरी पालनमा पनि सक्रिय भएकी छु ।

तपाई त एक महिला उद्यमी, अरुलाई तालिम पनि दिने गर्नुभएको छ ?
दिन्छु । महिला दिदीबहिनीहरु मेरै घरमा आएर ट्रेनिङ गर्नुहुन्छ । मैले ठाउँ–ठाउँमा गएर तालिम पनि दिने गरेकी छु ।

यो पेशामा आवद्ध हुनुभएको कति भयो ?
यो फागुनमा तीन वर्ष हुन्छ ।

तपाईको सपना के छ ?
मेरो धेरै ठूलो सपना भनेको म जस्तो हजारौं महिला दिदीबहिनीहरुलाई सिप सिकाउने, आत्मनिर्भर बनाउने, भोलिका दिनमा रेखा शर्मा चौधरी मरेर गएपनि मेरो नाम रहोस्, रेखा शर्मा चौधरीले सिकाएर आज हामीले बालबच्चा पाल्न सक्ने भयौं, भनेर मेरो नाम लिउन् । साथै दुर्गम र जिल्ला–जिल्लामा गएर तालिम दिन चाहान्छु । मेरो सपना पूरा होस् भन्ने कामनाका साथ काम गरिरहेको छु । म हिम्मत कहिले पनि हार्दिन जबसम्म मेरो श्वास रहन्छ तबसम्म काम गर्न छोड्दिन । काम गर्दै जाँदा मलाई हौसला पनि बढिरहेको छ । वास्तवमा भन्ने हो भने महिला दिदीबहिनीहरुले एक–दुई आइटम बनाएर पनि आफ्नो गुजरा चलाउन सक्छन् । छोराछोरी पाल्न सकिन्छ । मैले धेरै प्रकारको तालिम लिएको नै सिप सिकाउन हो ।

अन्तिममा केही भन्नुहुन्छ, महिला दिदीबहिनीलाई ?
म जस्ता हजारौं दिदीबहिनी आत्मनिर्भर बनाउने तालिम दिन्छु भन्ने सपना बोकेर धेरै तालिम लिइरहेकी छु । तर, अर्को के हो भने– मैले ५० हजारको अचार बेचेँ भने १० हजार आश्रममा बुझाउँछु । गरिब दुःखीको सेवा गर्न पाउँदा एकदमै खुशी लाग्छ । हामीले त दुःख गरेर भएपनि दुई छाक खाएकै छौं, ती गरिब दुःखीहरुको कोही पनि छैन भनेर म मानव सेवा आश्रममा आवद्ध छु । गरिब दुःखीको सेवा गर्न चाहान्छु । धन हुनेको मन हुन्न मन हुनेको धन हुन्न भने जस्तै मसँग पनि धेरै धन भइदिएको भए के–के गर्थें होला, गरिब दुःखीका लागि कति सहयोग गर्थें होला भन्ने यो मनमा लाग्छ । तर, म सामान्य व्यक्ति हुँ । तैपनि मैले गरिब दुःखीका लागि सकेको सेवा गरि नै रहेकी छु र गरिरहन्छु पनि ।

प्रतिक्रिया