शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीपछि पर्यटन क्षेत्रलाई उकास्न ‘मार्केटिङ’ आवश्यक

नेपालखोज २०७७ माघ १६ गते ८:३०

कोरोना महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी भयो । कोरोनाभाइरस नियन्त्रण गर्न नेपालको सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन ठप्प छ । अब सरकारले पर्यटन भित्र्याउने योजनालाई कसरी अगाडि बढाउँदैछ, रणनीति के छ, उड्डयन क्षेत्र पुरानै लयमा कहिले फर्किन्छ ? लगायतका विषयमा केन्द्रित रहेर नेपालखोजकी कार्यकारी सम्पादक आशा साहले टुरिजम एण्ड एअर ट्रान्सपोर्ट कमिटीका अध्यक्ष ज्योत्स्ना श्रेष्ठसँग गरेको कुराकानीको सारसंक्षेप :

महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको छ, अब यो कहिलेदेखि लयमा आउने आशा गर्न सकिन्छ ?
कोरोनाविरुद्धको खोप नेपालमा पनि लगाउन सुरु भइसकेको छ । भ्याक्सिन लगाउन सुरु भएपछि धेरै सहज होला भन्ने आशा राखेका छौं । तर, कहिले यो लयमा फर्किन्छ भन्ने चाहिँ भन्न सक्दैनौं । यसमा एक वर्ष वा डेढ वर्ष पनि लाग्न सक्छ ।

कोरोना महामारी फैलिएको एक वर्षपछि नेपालमा कोरोना भ्याक्सि लगाउन सुरु गरियो । यो अवस्थामा पर्यटन क्षेत्रलाई कसरी उकास्ने सोचमा हुनुहुन्छ ?
यसका लागि नेपाल उद्योग वाणिज्य संघमा पर्यटन कमिटीको आयोजना भइसकेको छ । म त्यसको सभापति पनि हुँ । हाम्रो पहिलो बैठक बस्दै छ । बैठकमा पर्यटन कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्छौं । साथै नेपालमा चाँडोभन्दा चाँडो कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर सफ्ट कमिटी समेतको आयोजना गरेका छौं । यसका लागि चारवटा बुँदा पनि बनाइसकेका छौं ।

चार बुँदामा के–के समावेश गर्नुभएको छ ?
एयरपोर्टमा जुन–जुन समस्याहरु छन्, जस्तै एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ त्यसमा के–के समस्या छन् बुझेर समाधान गर्ने । अर्को तालिम पनि हो । पर्यटन व्यवसाय क्षेत्रमा काम गर्न कर्मचारीहरुलाई तालिमको आयोजना गर्ने । त्यस्तै बाहिर देशबाट आउने पर्यटकलाई भिसा फ्रि गर्ने । भिसा फ्रि गर्दा ३०–४० डलरको फरक पर्छ । तर, ऊँ यहाँ आएर तीन–चार सय डलर खर्च गरिरहेको हुन्छ । अनि यो खर्च सरकारलाई नै गएको हुन्छ । यस्ता सबै कुरा समेटेर सरकारसँग सहकार्य गरी यसलाई अगाडि लिएर जाने हाम्रो अपेक्षा छ ।

महामारीकै बीचमा अहिले आर्थिक क्रियाकलाप बढेका छन्, यसै बेलामा पर्यटन क्षेत्रमा पनि केहि लगानी बढेको हो ?
आन्तरिक टूरिजममा पहिलाभन्दा राम्रो भइरहेको छ । यो सुरुवात मात्रै हो । किन भने हामी नेपालीहरु विदेशमा बढी जाने गर्थ्यौ । आन्तरिक टूरिजममा हामी त्यति चासो राख्दैन थियौं । तर, अहिले आन्तरिक टूरिजममा जाने संख्यामा वृद्धि भएको छ । यसका लागि विभिन्न एयरलाइन्स र होटलहरुले पनि छुट दिइराखेका छन् । यसले गर्दा आन्तरिक पर्यटकलाई राहत पुगेको छ । यसका लागि विदेशमा मार्केटिङ गर्न धेरै आवश्यक छ । हाम्रो मार्केटिङ पनि अर्को एउटा एजेण्डा हो ।

एजेण्डाकै रुपमा मार्केटिङलाई लिनुभएको छ । यसलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
मार्केटिङ एजेण्डा देखाउनुपर्ने हुन्छ । नेपाललाई बाहिरी देशमा देखाउनुपर्ने हुन्छ, पर्यटनका लागि नेपाल कति सम्भावनायुक्त देश हो भन्ने कुरा बुझाउनुपर्ने हुन्छ । हाम्रो कला, संस्कृति, रितिरिवाज, विभिन्न प्रकारका चाडपर्व, जडिबुटी छन् भनेर प्रचारप्रसार गर्नु अति आवश्यक छ । साथै नेपालमा कोरोना महामारी फैलिए पनि संक्रमण हुने र मृत्यु हुने भन्दा निको हुनेको संख्या बढी छ, यसका लागि नेपालमा पाइने जटिबुटी होस् वा हाम्रो स्वास्थ खाना होस् यी विषय बुझेर प्रचारप्रसार गर्नुपर्ने हुन्छ ।

सरकारले व्यवसायिक पुनर्कर्जामा पर्यटनलाई प्राथमिकतामा राखेको छ, के यस्तो कर्जा अहिले तपाईहरुले पाउन सक्नु भएको छ ?
पुनरकर्जाहरु पाइरहेका छौं । तर, व्यवस्थित रुपमा कार्यान्वयनमा आउन भने गाह्रो भएको छ । केहि सिमित मात्रमा पाइ पनि रहेका छौं । मैले यसबारे बुझ्दा टूरिजम व्यवसायीमा कर लिइसकेकालाई मात्र यो सुविधा दिइएको पाएँ । जस्तै जो लगानी गर्दै थियो उनीहरुले धेरै कर्जा नपाएको देखियो । सरकारले कर्जा लिइसकेकालाई मात्र नभएर लिन चाहाने र लिनुपर्ने टूरिजम क्षेत्रलाई पनि दिनुपर्छ भन्ने हाम्रो माग छ ।

किन सरकारले कर लिइसकेकालाई मात्र यो प्राथमिकतामा राख्ने गर्छ ?
सरकार बढीनै आसक्त छ । सरकारको पनि केही समस्या छ । त्यो सबै हेरेर सरकारले कति कर्जा दिन सक्ने र नसक्ने छुट्याएको हुन्छ । सरकारले एउटा क्षेत्रगत रुपमा छुट्याएको हुन्छ । बढी प्रभावितलाई बढी र कम प्रभावितलाई कम दिने उहाँहरुको आँकलन होला ।

उड्डयन क्षेत्र पुरानै लयम फर्किसक्यो या बाँकी छ ?
धेरै फर्कन बाँकी छ । विश्वमै हेर्नुपर्दा ७०–८० कोरोना महामारीले प्रभाव पारेको छ, टूरिजम क्षेत्रलाई । नेपालको कुरा गर्दा ७५ प्रतिशत घाटा भइसकेको छ । जस्तै वायु निगम पनि ५ अर्ब घाटामा गइसकेको छ । वायु निगम बाहेक अरु जुनसुकै वायु सेवा निगम कम्पनीहरुले जम्मा १५ अर्ब जति घाटा ब्योहोरी सकेका छन् । यो आंकडा सन् २०२० को मार्चदेखि डिसेम्बरसम्मको हो । यो घाटा ब्योहोर्नु भनेको राजस्वको पैसा गुम्नु हो । यसका लागि सरकार, व्यवसायी, टूरिजम र उद्योग वाणिज्य महासंघको कमिटीले पनि पहल गर्नुपर्छ । यसमा हामीले नाटा, पाटा, टान सबैलाई समेटेका छौं । यसमा सबै एकजुट भएर अगाडि बढ्नुपर्छ ।

पर्यटन क्षेत्र माथि उठाउन अब सरकारले अझै थप केही गर्नुपर्ने छ त ?
पर्यटन क्षेत्र माथि उठाउन तालिम तथा प्रचारप्रसार गर्नुपर्ने हुन्छ । यसका लागि पहिलो प्राथमिकता भनेको प्रचारप्रसार नै हो । प्रचारप्रसार जति भयो त्यति नै टुरिजम क्षेत्र फष्टाउँछ । यसका साथै विमानस्थलहरुको समस्या समाधान गर्नुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थल एउटै भएकोले समस्या देखिएको हो । अब यसलाई कसरी सहजीकरण गर्नेतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया