शनिबार, वैशाख १३, २०८२

दलालकारिताको जय होस्

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ १९ गते ८:५५

भारतको कुनै एक युट्यूब च्यानलमा नेपाली जनताको विश्लेषण गर्दा भनेको कुरा अहिले मलाई झल्झल्ती याद आउँछ । त्यसमा नेपालका तीन करोड नेपाली मध्ये लगभग एक करोड मानिस विदेशमा रोजगारी गर्न गएको र बाँकी दुई करोडमध्ये नब्बे प्रतिशत मानिसको रोजीरोटी दलालीबाट चलेको छ भनी विश्लेषण गरिएको थियो । यो सुन्दा कुनै पनि स्वाभिमानी नेपालीलाई झनक्क रिस नउठ्ने कुरै भएन । मलाई पनि त्यस्तै भयो त्यो सुन्दा । पछि यो कुरालाई मैले मनमनै बिचार गरें । वास्तवमा ऊ ठीक भन्दै थियो । त्यो अलिक कडा भाषामा भनिएको भए पनि गम्भीर रुपमा बिचार गर्ने हो भने यो असत्य कुरा थिएन ।

हरेक नेपाली जनताको घरमा नजानिँदो रुपले एकजना दलाल छन् । त्यो विभिन्न रुपमा मुखरित भएकै कुरा हो । घरको साइकल बेच्ने कुरा होस्, भैंसी बेच्ने कुरा होस्, बाख्रा बेच्ने कुरा होस्, जग्गा बेच्ने कुरा होस्, घर बेच्ने कुरा होस्, भोट बेच्ने कुरा होस् वा आन्दोलनमा सहभागिता बेच्ने कुरा होस् यी सबै कुरामा कुनै न कुनै एउटा दलालको अनिवार्य संलग्नता रहन्छ । यी बेच्नको लागि बेच्ने प्रक्रियाहरु हुँँदैनन् । यी बेच्न कुनै न कुनै रुपमा एकजना दलालको आवश्यकता पर्दछ । मुलुकको व्यापारिक प्रक्रिया पनि यस्तै छ । यसलाई हामी सहज बनाउन चाहँदैनौं । यो दलालकारितालाई अझ घनीभूत पार्नमा नै हाम्रो जोड रहन्छ किनभने हामी काम गर्न चाहँदैनौैं । अकोतर्फ काम गर्नलाई उद्योगहरु पनि त छैनन् । तसर्थ हाम्रो मूल पेशा दलालकारिता हो यसमा हामीले हीनताबोध गर्न पर्दैन ।

नेपाल निर्माणको योजना बनाउनेहरुले पनि हामीलाई दलाल बन्न सिकाएका छन् । चीन र भारतको व्यापारिक पारवहनको बाटो नेपाललाई बनाउन सक्ने हो भने नेपालीले कामै गर्न पर्दैन, बसीबसी खान पुग्छ भन्ने जस्ता तर्कहरु एक सय वर्षदेखि बजारमा छ्यापछ्याप्ती छन् । नेपालीहरु बसीबसी खान पाइएला भनेर पर्खेर बसेका छन् । हामीलाई त्यस्तो अवसर आयो भने आगामी वर्षहरुमा त दलाली नै हाम्रो मुख्य आम्दानीको स्रोत हुनेछ । त्यसकारण अहिलेदेखि नै हामीले दलाली सिक्नु छ । कुनै दिन बीस रुपैयाँको नुन किन्न जाँदा, कुनै दलालले उभिएर भाइ यो पसलमा एक रुपैयाँ महङ्गो छ आउ म तिमीलाई उन्नाइस रुपैयाँमा मिलाइदिन्छु भन्यो भने अनौठो मान्न पर्दैन । त्या दलालीको पराकाष्टा आउँदा दिनमा आउन सक्छ ।

पुख्र्यौली जमीन भटाभट प्लटिङको नाममा दलाली गरेर बेचिँदैछ । सुरुमा सहर पस्दा थोरै दलाली सिकेका व्यक्तिहरुले हाल आफ्नो जमीनको आफैं दलाली गर्दै, प्लटिङ गर्दै बेचिरहेका छन् । म्यानपावरका दलालको त कुरै भएन । गाउँगाउँका युवाहरु बेचेर भ्याइनभ्याई छ । प्रहरी, सेनालगायतका नोकरी गर्नलाई हे भाइ फिजिकल त कटा अन्तवार्तामा पावर लगाउने बेला मलाई भन् पचास हजार चैं चहिन्छ भन्ने धेरै भेटिन्छन् । अन्य लोकसेवालगायतका नोकरीमा लिखितसम्म राम्रो गर, त्यसपछि मलाई भेट, एउटा हात्तीको बिटो ठिक पार काम बन्छ, कहाँ कसरी गर्न पर्छ त्यो मेरो जिम्मा भयो भन्ने चोकचोकमा पाइन्छन् । दाजूको मोटरसाइकल बेच्न पर्यो भाइले भन्छ, बिक्छ तर मलाई कमिसन चाहिन्छ ।

ऋणले आक्रान्त भएको बाउले एकरोपनी जग्गा बेच्न लाग्दा अलिक देश जान्ने टोपलिएको छोरो भन्छ म बेचाइदिन्छु तर पच्चिस प्रतिशत मलाई चाहिन्छ । बुढीलाई सारी किन्न पर्यो दस हजारको जस्तै देखिने तर सस्तोमा किन्ने ठाउँ मलाई थाहा छ तर दुई हजार मेरो भागमा रक्सी खान दिने भए म तिमीलाई त्यहाँ लैजान्छु भन्ने श्रीमान् नामका दलालहरु प्रशस्तै छन् । तसर्थ दलालकारिता हाम्रो मूल पेशा हो ।

एकपटक अख्तियार प्रमुखलाई काठमाडौंमा जमीन किन्नुपर्ने भएछ त्यसपछि दालालको खोजी गरिएछ । दलालले ऐलानी जमीनलाई नम्बरी भनी बेच्ने प्रयास गरेछ । अख्तियार प्रमुखले त्यो कुरा पत्तो पाएछ र दलाललाई पक्रिने तयारी गरेछ । त्यसपछि दलालले अख्तियार प्रमुखलाई म पाँच जना पूर्वप्रधानमन्त्री भइसकेका दलालहरुको एकदमै नजिकको भूमाफियाको दलाल हुँ तपाईंले चानचुने दलाल सोच्नुभयो कि के हो ? भनेछ । त्यसपछि अख्तियार प्रमुखले पहिल्यै भन्नुपर्दैन तिमी त आफ्नै मान्छे परेछौ भनेर छाडिदिएछ ।

काठमाडौंमा शुद्ध घ्यू पाउन मुस्किलै छ । गुणस्तरकै प्रमुखलाई पनि शुद्ध घ्यू पाउनु भनेकोे सुनको हात्ती फेला पार्नु जत्तिकै मुस्किल हुनु नौलो कुरा भएन । गाउँबाट ल्याएको शुद्ध घ्यू भनेर कुनै ग्रामीण दलालले खाद्यान्नकै प्रमुखलाई ठगिदिन्छ । एकपटक होइन पटकपटक । गाउँमा आजकल गाईभैंसी पाल्न नै छाडिसके । गाईभैंसी पाल्ने युवा खाडीमा भेडा चराउन दलालद्वारा बेचिएका छन् । जति पशु पालिएका छन् ती त घरायसी प्रयोजनका लागि मात्र हो ।

कुनै अस्पतालमा उपचार गर्न पर्यो भने फलानो डाक्टर जति विश्वासिलो भरपर्दो डाक्टर मैले नेपालमा देखेकै छैन । मेरो उहाँसँग राम्रो सम्बन्ध पनि छ । त्यहाँ गएर मेरो नाम लिने हो भने डिस्काउन्ट पनि मिल्छ म भनिदिन्छु त्यहाँ जानु भन्ने मित्रहरु धेरै पाइन्छन् । उपचार पनि राम्रो भयो छुट पनि पाइयो । एक किसिमले त्यो मान्छेको सहयोगी दलालकारिता मेरा लागि महत्वपूर्ण पनि रह्यो तर त्यति पैसामा उपचार गर्न नमिल्ने भए त्यहाँ उपचार गरिन्थ्यो ? तमाम मान्छेहरु त सहयोगी दलाल नभेटिएर ठगिइरहेका छन् नि होइन त ? नियमतः काम गर्ने परिपाटी रहन्थ्यो भने बिचमा दलालकारिताको आवश्यकता नै रहँदैनथ्यो । त्यसको लागि राजा रङ्क सबैलाई समान हुने सिष्टम चाहिन्छ ।

प्रधानमन्त्रीदेखि सामान्य मान्छेसम्मले एक किसिमले दलालकारितालाई अपनाएका छन् । कुन पसलमा सामान किन्ने मेरो छनोट नभएर कसैको फर्माइसमा म जान्छु । किनकी त्यहाँ नठगिने कुरा कुनै दलालमार्फत मैले थाहा पाउँछु । कुनै कम्पनीको सामान कति मजबुत छ भन्ने कुरा ध्यान नदिई ज्योतिषीले फिक्स गरेको ग्रह, नक्षत्र र बारमा म नयाँ सामान प्रयोग गर्छु । कम्पनीको सामान मजबुत हुने नहुने त ज्योतिषीले फिक्स गरेको नक्षत्रले निर्धारण गर्दछ । मानौं सबै कम्पनीका सामान राम्रा नै छन् । नराम्रा ग्रह नक्षत्रमा तिनको प्रयोग गर्नाले खपत नहुने हो । यसरी दलालकारिता देशमा व्याप्त छ । तसर्थ मलाई लाग्छ दलालकारिता हाम्रो मूल पेशा हो । मलाई सिष्टम चाहिँदैन । अब म उद्घोष गर्न चाहान्छु दलालकारिताको जय होस् ।

प्रतिक्रिया