शनिबार, माघ १२, २०८१

१४ बैंकहरुको खराब कर्जा बढ्यो, राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढि खराब ऋण

नेपालखोज २०७७ माघ १९ गते १३:००

काठमाडौं । २७ मध्ये १४ वटा बैंकहरुको खराब कर्जा बढेको देखिएको छ । राष्ट्र बैंकले दिएको सहुलियतका बाबजुद पनि बैंकहरुको खराब कर्जा बढेको छ । आगामी दिनमा यस्तो खराब कर्जा झनै बढ्ने देखिएको छ ।

Advertisement

बैंकहरुले हालैमात्रै प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणका अनुसार सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको कर्जा सबैभन्दा बढि देखिएको छ । यद्यपि यसको कर्जा भने गत वर्षको तुलनामा केही कम भने भएको छ ।

गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४ दशमलव सात सात रहेको थियो । अहिले यो घटेर ४ दशमलव दुई तीन प्रतिशत कायम भएको छ ।

तर, अहिले बैंकहरुको वास्तविक खराब कर्जा नदेखिएको बैंकरहरु बताउँछन् । किनकी राष्ट्र बैंकले कोभिड–१९ बाट अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइदिएको छ । जसका कारण लामो समयदेखि ब्याज र किस्ता नबुझाएका कर्जाहरु पनि खराब भइसकेका छैनन् ।

उच्च नाफा कमाउने ग्लोबल आइएमई बैैकको खराब कर्जामा वृद्धि भएको छ । गत वर्षको पुसमा १ दशमलव दुई शुन्य प्रतिशत रहेको खराब कर्जा अहिले बढेर १ दशमलव सात दुई प्रतिशत भएको छ ।

महामारीका कारण कैयन व्यवसायीहरुले लामो समयदेखि आम्दानी गर्न सकेका छैनन् । खाद्यान्न र औषधि बाहेक अन्य उद्योगधन्दा त धरासायी नै हुन पुगे । औषधि र खाद्यान्न सम्वद्ध उद्योगको पनि कारोबार भएपनि उत्पादन भने घटेको थियो । महामारीका बेलामा पनि औषधि उद्योगले नै ६० प्रतिशत आफ्नो उत्पादन घटाएका थिए ।

महामारीले सबैजसो क्षेत्रलाई छोएका कारण राष्ट्र बैंकले लामो समयसम्म कर्जा नतिर्दासम्म पनि त्यस्तो ऋणीलाई असलमै राख्ने छुट दिएको छ । तर, यसअघि नै शंकास्पद वा वाचलिस्टमा परेका ऋणीहरु भने खराब ऋणीमा परिणत भएका छन् । जसका कारण बैंकहरुको खराब कर्जा बढ्न गएको हो ।

खराब कर्जा बढ्नु भनेको राम्रो होइन । यसरी खराब कर्जा बढ्दा बैंकहरुले नाफाबाट कमाएको रकमबाट खराब ऋणको शतप्रतिशत हुन आउने गरि प्रोभिजनिङ गर्नुपर्छ । जसले बैंकको नाफा खुम्च्याउने र लाभाशंमा पनि प्रभाव पार्छ ।

अझ यस्तो कर्जा उच्च हुँदै गएमा त बैंकहरु नै धरासायी पनि हुने स्थिती आउँछ । खराब कर्जाका कारण यसअघि नै सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक समस्यामा परेका थिए । जसलाई माथि उठाउन अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंक नै आउनु परेको थियो । यसपछि नै नेपालको बैंकिङ प्रणालीमा अन्तर्राष्ट्रिय मुद्राकोषको प्रभाव रहँदै आएको छ ।

प्रतिक्रिया