ओलीलाई साधारण सदस्यबाट निष्कासन, विष्णु पौडेलको पद खोसियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा सोमबार बसेको नेकपा प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले यसअघिको स्थायी कमिटीबाट आएको प्रस्तावअनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, “बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ । साथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।”

बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको उनले बताए । यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अध्यावधिक गर्न अनुरोध गरेकामा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध भएको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको छ । “हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भीरतापूर्वक नियाल्नेछ र पार्टी सधैं लोकतन्त्रको पक्षमा छ र त्यसप्रति हाम्रो नैतिक समर्थन छ,” उनले भने ।

प्रतिक्रिया