मंगलबार, असार १७, २०८२

‘महंगो सेयर किन्न म सल्लाह दिन्नँ’

नेपालखोज २०७७ माघ २० गते १२:०४

नेप्से अहिले उच्च विन्दुमा पुगेको छ । बजारमा लगानीकर्ताको भीड ह्वात्तै बढेको समयमा सेयर बजार र यसमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई के गर्दा राम्रो हुन्छ भन्ने विषयमा नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीसँग नेपालखोजकी कार्यकारी सम्पादक आशा साहले गरेको कुराकानीको सम्पादित अंशः

सेयर बजारले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । के यो बजार अब केही समय निरन्तर बढ्छ ? नयाँ लगानीकर्ता अहिले बजारमा आउनु कति उचित हुन्छ ?
नयाँ लगानीकर्ता बजार आउँदा उचित त हुन्छ । तर, बैंकिङमा ‘अन्डरभ्यालू’ स्टकहरु पाइन्छन् । कुनै कुनै बैंकहरुको भ्यालू ३ सय पनि पुगेको छैन । तिनीहरुमा लगानी गर्दा खासै डुबिन्छ जस्तो लाग्दैन । तर, माथि–माथि पुगेका सेयरहरुमा लगानी गर्दा ग्यारेन्टी कसले दिनसक्छ ? कोही पनि पर्फेक्ट छैन मार्केटमा । महंगा सेयरहरुमा लगानी गर्नु भनेर म सल्लाह दिन्नँ । साना–साना ‘अन्डरभ्यालू’ भएका बैंकहरुमा लगानी गर्दा राम्रै हुन्छ । प्रायः बैंकहरुको राम्रै छ, महंगो स्टक किन्नु भनेर म सल्लाह दिन्नँ ।

अन्य क्षेत्रमा लगानी गर्ने अवसर नभएका कारण पनि बैंकमा लगानीकर्ताको आकर्षण देखिन्छ । अब स्थिती सामान्य भएर अन्य क्षेत्र पनि जर्बजस्त रुपमा चल्दैछ । के स्थिती सामान्य हुँदै गएमा पनि सेयरबजार निरन्तर उकालो लाग्ला ?
स्थिती सामान्य हुँदै गयो भने निरन्तर उकालो लाग्ला भन्दा पनि अहिलेको टे«न्ड नै युवापुस्तादेखि लिएर हरेक कुरामा हामी छिटो प्रोफिट खोज्छौं । भर्खरका युवापुस्तालाई पनि सेयर बजारमा वारेन्टीसहित चाँडो प्रोफिट चाहिएको छ ।

अहिले लगानीकर्ताको सोच नै चाँडो–चाँडो प्रोफिट होस् भन्ने छ । अरु क्षेत्रमा लगानी गर्न एक त धेरै पैसा चाहियो । लगानी गरेर पनि रिटर्न अहिल्यै आउने हैन । जस्तै तपाईले एउटा ठाउँमा गएर रेस्टुरेन्ट खोल्नुभयो, त्यसको छेउमा भोलिपल्ट अर्कोले खोलिदिन्छ । त्यहाँ प्रतिस्पर्धा मात्रै हुने भयो । कमाइहालौं भन्ने कुनै कुरा नरहने भयो । त्यो नभएको कारणले पनि युवापुस्ताहरुमा सेयर बजार आकर्षणको केन्द्रबिन्दु बनिरहेको छ ।

हेर्नु न १ सयमा आएको एनआरआसीको आइपिओ अहिले १५–१६ सय पुग्यो । ६ महिनामै लगानीकर्ताले यसको प्रतिफल पाइरहेका छन् । सेयर बजार राम्रोसँग अध्ययन गरेर लगानी गर्ने ठाउँ हो । यसमा लगानीकर्ताको आकर्षण पनि हुन्छ । यसको भविष्य पनि राम्रो छ । दिनदिनै राम्रो भइरहेको पनि छ, स्टक मार्केट । पहिलाको जस्तो पनि छैन । यसलाई नै व्यवसाय बनाउनुपर्छ भन्ने पनि होइन । तर, कतिपयले यसलाई नै व्यवसाय पनि बनाएका छन् । आफ्नो वैकल्पिक व्यापार पनि गरेका छन् । बजारबारे राम्रोसँग अध्ययन गर्दा डुबिन्छ जस्तो लाग्दैन मलाई ।

सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई कस्ता कम्पनीमा लगानी गर्न सुझाव दिनुहुन्छ ?
कस्तो कम्पनीभन्दा पनि ‘अन्डरभ्यालू’ स्टकहरु जुन बोनसहरु दिइराख्ने हेर्दा बैंकहरु सेफ छन् । यसमा लगानी गर्दा हुन्छ । जस्तै ग्लोबल आईएमई बैंकको प्राइसिङ पनि राम्रो छ । यो किनेर को डुब्छ र ? डुब्दै डुब्दैन । यसमा लगानी गरेर लामो समय राख्दा पनि हुन्छ । हरेकपटक मार्केट घट्दा दुई–तीन रुपैयाँ घट्ला । तर, यसमा डुबिँदैन । त्यसैले यस्तै भ्यालू भएका बैंकहरुमा लगानी गर्न सल्लाह दिन्छु । प्राइसिङ हाई भएका स्टकहरुमा लगानी गर्न नयाँ लगानीकर्तालाई म सल्लाह दिन्न ।

लगानीकर्ताका संघ नै संघ भए । यति धेरै संघ आवश्यक छन् र ?
संघ आवश्यकता अनावश्यकताभन्दा पनि एउटा संघ सेलायो अर्कोले गर्ने त्यो पनि सेलायो भने अर्कोले काम गरिरहेको हुन्छ । हरेक ठाउँमा कुनै पनि चिज नयाँ भयो भने ‘चार्म’ हुन्छ । हाम्रा धेरै लगानीकर्ता हुनुहुन्छ, यसमा चार–पाँच वटा संघ भए केही फरक पर्दैन । सबैले आ–आफ्नो ठाउँबाट गरेकै छन् । यो सबै भनेको मार्केटको राम्रोको लागि हो, मार्केट बिगार्नका लागि संघ खोलेको होइन, मार्केट राम्रो बनाउनकै लागि संघको आवश्यकता पर्छ । राम्रोको लागि जति वटा खोलेपनि आपत्ति नै छ नि ?

प्रतिक्रिया