मंगलबार, वैशाख ११, २०८१

‘आमजनताको उत्तम विकल्प लोकसेवा आयोग’

नेपालखोज २०७८ चैत १४ गते ९:५५

कर्णाली प्रदेशको मुगु जिल्लाको प्रशासनिक नेतृत्व अहिले चन्दननाथ नगरपालिका जुम्लाका रोमबहादुर महतको काँधमा छ । २०७८ असोज २० गतेदेखि मुगुको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महत कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ महतलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै १९ वर्ष बिताएका मुगुका प्रजिअ महत यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रजिअका रुपमा कार्यरत थिए । प्रजिअ महत निजामती सेवा अझै आकर्षणको केन्द्र रहेको बताउँछन् । ‘निजामती सेवा अहिले पनि आकर्षणको केन्द्र नै हो,’ प्रजिअ महतले नेपालखोजसँग भने, ‘वास्तवमा आमव्यक्तिले जागिर खान सक्ने, कसैको पहुँचको प्रभाव नपर्ने, पढेर नाम निकालेर जागिर खान सकिने ठाउँ भनेको निजामती सेवा नै हो ।’
मुगुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोमबहादुर महतसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ५०औं शृंखला :

हाइलाइट्स :
-हामीले हिजो सेवा लिने क्रममा के भोग्यौं, कुन खालका अप्ठ्याराहरू थिए ? ती कुरालाई महसुस गरेर सेवा-प्रवाह गर्दा आएका मान्छेलाई सहज सेवा दिनुपर्छ भन्ने भावनाले, छिटो-छरितो गर्नुपर्छ भन्ने भएको छ ।
-टाठो-बाठो जान्ने-बुझ्ने भन्ने जो हुन्छ, जहाँ पनि उनीहरूले नै दबाब दिने हुन् । राजनीति अथवा जानेबुझेको नाममा, जो आफूलाई समाजको केही हुँ भन्छ त्यसले प्रक्रियाभन्दा पनि छिटो काम सक्न खोज्छ ।
-सेवाग्राहीको सहजका लागि महिलालाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको छ । खानेपानीको व्यवस्था गरिएको छ । सेवाग्राहीका लागि बस्ने बेन्चहरू राखेका छौं । कार्यालय सुरक्षाका लागि तारबार पनि गरिएको छ ।
-हामी गरिब र आमजनताका लागि उत्तम विकल्प लोकसेवा आयोग हो । व्यापार व्यवसाय गर्न, उद्योग खोल्न पनि लगानी चाहिन्छ । थोरै र मिहिनेतले हुने भनेको यही निजामती सेवाको जागिर हो ।
-निजामती सेवा अहिले पनि आकर्षणको केन्द्र नै हो । वास्तवमा आमव्यक्तिले जागिर खान सक्ने, कसैको पहुँचको प्रभाव नपर्ने, पढेर नाम निकालेर जागिर खान सकिने ठाउँ भनेको निजामती सेवा नै हो ।
-निजमती सेवा कमजोर हुनुको मुख्य कारण चाँडो-चाँडो सरुवा हो । ऐनमा भएको व्यवस्था वर्गअनुसारको सरुवा प्रावधानलाई कार्यान्वयन गरेको भएको हुन्थ्यो, यो नियमअनुसार भएको छैन ।
-संघीयतामा सेवा प्रवाह त आवश्यक हो तर त्यहाँ स्रोत चाहियो, जनशक्ति चाहियो र जिम्मेवार अधिकार दिनुपर्‍यो यो भए मात्र जनताले सेवा पाउने हो ।
-विकास भनेको काठमाडौंमा पिचमाथि पिच हुन्छ यहाँ मुगुमा एक किलोमिटर पनि बाटो पिच छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
हामी सार्वजनिक सेवा प्रवाहका लागि सरकारी सेवामा प्रवेश गरेका छौं । हामी पनि एउटा साधारण नागरिक नै हौं । दूरदराज कर्णालीबाट निजमती सेवामा आएर प्रजिअको भूमिका निर्वाह गर्दा मैले आफूलाई नै सम्झने गर्छु । किनभने हामीले हिजो सेवा लिने क्रममा के भोग्यौं, कुन खालका अप्ठ्याराहरू थिए ? ती कुरालाई महसुस गरेर सेवा-प्रवाह गर्दा आएका मान्छेलाई सहज सेवा दिनुपर्छ भन्ने भावनाले, छिटो-छरितो गर्नुपर्छ भन्ने भएको छ । यस हिसाबले आफ्नो कार्यालयमा साथीहरूलाई गरिब-दु:खी, अपांग, महिला, ज्येष्ठ नागरिकहरूलाई प्राथामिकतामा राखेर सेवा दिनुपर्छ है भनेर साथीहरूलाई सचेत गराएको छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
काम गर्ने क्रममा दबाब दिने भनेको आर्थिक रुपले प्रभाव दिइँदैन । धेरै जनता सोझो हुनुहुन्छ । टाठो-बाठो जान्ने-बुझ्ने भन्ने जो हुन्छ, जहाँ पनि उनीहरूले नै दबाब दिने हुन् । राजनीति अथवा जानेबुझेको नाममा, जो आफूलाई समाजको केही हुँ भन्छ त्यसले प्रक्रियाभन्दा पनि छिटो काम सक्न खोज्छ । सामान्य दबाब राजनीति दल र नेताबाट आउने हो आमजनताबाट आउँदैन उहाँहरूले दिनु पनि हुन्न ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
म यहाँ आइसकेपछि राम्रोसँग बत्ती पनि नबल्ने रहेछ । अहिले अनलाइनबाट सेवा प्रवाह गर्ने बेला बत्ती नै नहुँदा कसरी काम गर्ने चिन्ता र चासो भयो । कार्यालया चौबीसै घण्टा बत्ती हुनुपर्छ भन्ने मेरो भनाइ थियो । सोलार राखेर कहिले पनि बत्तीका कारण सेवा अवरुद्ध नहुने व्यवस्था बनाइयो । अहिले प्राय: सबै काम अनलाइन सिस्टमबाटै हुन्छ । सेवाग्राहीको सहजका लागि हामीले हेल्पडेस्क पनि राखेका छौं । महिलालाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको छ । खानेपानीको व्यवस्था गरिएको छ । सेवाग्राहीका लागि बस्ने बेन्चहरू राखेका छौं । कार्यालय सुरक्षाका लागि तारबार पनि गरिएको छ । यी सबै कुराले कार्यालय व्यवस्थित भएजस्तो लाग्छ मलाई ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
धरातल नै महत्त्वपूर्ण कुरा हो । म सामान्य गाउँको किसानको छोरो हो । खेती-किसानीबाट जीवन धान्न कठिन भएपछि कुनै विकल्प रोजिन्छ । हामी गरिब र आमजनताका लागि उत्तम विकल्प लोकसेवा आयोग हो । व्यापार व्यवसाय गर्न, उद्योग खोल्न पनि लगानी चाहिन्छ । थोरै र मिहिनेतले हुने भनेको यही निजामती सेवाको जागिर हो ।

निजामतीतर्फ अहिलेको पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
निजामती सेवा अहिले पनि आकर्षणको केन्द्र नै हो । वास्तवमा आमव्यक्तिले जागिर खान सक्ने, कसैको पहुँचको प्रभाव नपर्ने, पढेर नाम निकालेर जागिर खान सकिने ठाउँ भनेको निजामती सेवा नै हो । तर अहिले देशको परिस्थितिअनुसार पढेलेखेका युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । कोही उतै सेटल हुने गरी गएका छन् । तर पनि नेपामा जो छन् उनीहरूको रोजाइ निजामती नै हो ।

फुर्सदमा कस्ता पुस्तक पढ्न रूचाउनुहुन्छ ?
म विशेष गरेर साहित्यिक पुस्तक पढ्छु । समाचार सुन्ने, गीत सुन्ने गर्छु ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजमती सेवा कमजोर हुनुको मुख्य कारण चाँडो-चाँडो सरुवा हो । ऐनमा भएको व्यवस्था वर्गअनुसारको सरुवा प्रावधानलाई कार्यान्वयन गरेको भएको हुन्थ्यो यो नियमअनुसार भएको छैन । त्यसकारण यसबाट सेवा प्रवाहमा असर परिहाल्छ । यसको कारण नै राजनीतिक अस्थिरता र राजनीतिक चलखेल हो । फेरि राजनीतिलाई मात्र दोष दिने ठाउँ छैन । हामी कर्मचारीको कमीकजोरी छ । निजामती ऐन कार्यान्वयन गर्ने ठाउँमा निजामती कर्मचारी नै छन् । नियमको कार्यान्वय कर्मचारीले नै गर्ने हो । आफ्नो अनुकूलमा राजनीतिक दबाब थेग्न नसक्ने, पदका लागि चाकडी गर्ने संस्कारले यो सरुवा व्यवस्थित हुन सकेन । सरुवा व्यवस्थित भएको भए निजामती सेवा भारतको निजामती सेवाजस्तो एउटा स्थायी सरकारको सक्षम सरकारको संयन्त्रका रुपमा चिनिन्छ । यस्तो नेपालमा पनि हुन सक्थ्यो । मुख्य कुरा माथिल्लो तहमा बस्ने कर्मचारीतन्त्र र कर्मचारी र माथिल्लो राजनीतिक तहले गर्दा अस्थिर बनाइयो । त्यसकारण सरुवा व्यवस्थित हुन सकेन ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा-प्रवाहमा के फरक पाउन सकिन्छ ?
नेपालमा संघीयताको नयाँ अभ्यास गरिरहेको अवस्था छ । हिजो केन्द्रबाट जनताले सेवा पाएनन् भन्ने हिसाबले जनताको नजिकै पुगेर सेवा-प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो व्यवस्था आएको हो । तर यो व्यवस्थाअनुसार बन्नुपर्ने कानुनहरू बनेनन्, कर्मचारी व्यवस्थापन हुन सकेन, जनशक्ति अभावले नियम कार्यान्वयन र सेवा-प्रवाह पनि कमजोर भयो । कतिपय सुगम ठाउँ जहाँ जनप्रतिनिधिहरू अब्बल हुनुहुन्छ त्यहाँ कर्मचारी व्यवस्थापन गर्नुभयो र सेवा प्रवाह पनि प्रभावकारी बनेको छ । संघीयतामा सेवा प्रवाह त आवश्यक हो तर त्यहाँ स्रोत चाहियो, जनशक्ति चाहियो र जिम्मेवार अधिकार दिनुपर्‍यो यो भए मात्र जनताले सेवा पाउने हो । अहिले के भयो भने अधिकार र स्रोत-साधन केन्द्रले दिनुपर्ने आफ्नो स्रोत-साधन नभएको र जनशक्ति पनि नभएको, ऐन कानुनहरू बन्नुपर्ने अवस्था छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
कर्णालीवासी भएकाले मलाई यही सेवा गर्ने इच्छा भएर निजामती सेवामा आएँ । यहीँ सेवा गरिरहेको छु । विकास भनेको काठमाडौंमा पिचमाथि पिच हुन्छ यहाँ मुगुमा एक किलोमिटर पनि बाटो पिच छैन । कर्णाली जस्तो ठाउँ अझै विकट छ । सेवा-प्रवाह गर्न माथिल्लो स्थानमा बसेकाहरूलाई के भन्छु भने बजेट विनियोजनदेखि नीति निर्माण तहमा जो हुनुहुन्छ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको रारा तालजस्ता विभिन्न ठाउँमा आउन मान्छेको घुइँचो छ अझै पनि । जो पनि यहाँ आउन चाहन्छ यहाँ विकासको पूर्वाधार नहुँदा, सवारी चल्न नसक्दा कठिनाइ छ । हामीलाई पनि सेवा प्रवाह गर्न गाह्रो छ । हामीले भनेको स्थानमा सेवा दिन सकेका छैनौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा (पौडेल) सँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

नेत्रप्रसाद शर्मा (पौडेल), प्रजिअ, मुस्ताङ – ‘लोकसेवा आयोगको पद्धतिमा कानुन र सुशासनको पालना गरिन्छ’

थानेश्वर गौतम, प्रजिअ, सर्लाही – ‘निजामती राष्ट्रसेवकमा शासक होइन सेवककै भावना हुनुपर्छ’

विजयाकुमारी प्रसाई, प्रजिअ, जुम्ला – ‘स्रोत-साधन एकदमै थोरै, जनताका अपेक्षा धेरै’

किरण थापा, प्रजिअ, कैलाली – ‘निजामती सेवा फराकिलो क्षेत्र हो, गर्छु भन्नेलाई देखाउने ठाउँ पनि छ’

कृष्णप्रसाद लम्साल, प्रजिअ, धादिङ – ‘मुलुकको सेवा गर्नुपर्छ भन्ने सोचले निजामतीतर्फ लाग्ने प्रेरणा मिल्यो’

शंकरबहादुर विष्ट, प्रजिअ, डोटी – ‘सेवाग्राहीले नतिजा खोज्छ, हामी प्रक्रिया फलो गर्छौं’

दिलकुमार तामाङ, प्रजिअ, ओखलढुंगा – ‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया