आइतबार, जेठ ६, २०८१

एक्काइसौं शताब्दीको मुख्य चुनौती तानाशाही वृत्तिबाट मुक्ति

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ २१ गते १३:२०

रुसको पुटिन सरकार रुसी प्रतिपक्ष दलका नेता अलेक्जाई नभाल्नीलाई एउटा किरा बराबर पनि मान्दैन । संसारमा यसतो कुनै देश होला जहाँ प्रतिपक्षी दलका नेतालाई यति अपमान गरियोस् । उनलाई पुटिन सरकारले बारम्बार धरपकड गरिरहन्छ । जर्मनीका चिकित्सकहरुको दाबीलाई मान्ने हो भने पुटिन सरकारले नाल्भानीलाई मार्न विष समेत खुवाएको थियो । नाभाल्नी गत हप्ता जर्मनीमा उपचार गरेर फर्किए त्यसपछि उनलाई पुनः थुनामा राखिएको छ । सरकारको विरोध गर्नेहरुलाई राष्ट्रद्रोहको झुटो मुद्दा लगाएर धरपकड गर्ने पुटिन सरकारको जति भत्र्सना गरे पनि कम हुन्छ । बारम्बार सत्ताको मोजमा रमाएको पुटिन सरकारको विरोध गर्नु भनेको नेपालमा पहिले जङ्गबहादुरको विरोध गर्नु जस्तै हो । सरकारको विरोधीलाई विदेशी जासुस, देश द्रोही, रुसी इतिहासको अपव्याख्याकार जस्ता दर्जनौं मुद्दा लगाई कुटपिट गर्नु, धरपकड गर्नु केहि नलागे मार्नेसम्मका काम सरकारसँग प्रश्न सोध्नेहरुलाई पुटिन सरकारले गर्दै आएको तथ्य झुटो होइन । नाल्भानी त्यसका साक्षी र भोक्ता छँदै छन् । पुटिन एकरुपले तानाशाह हुन् जसले लोकतन्त्रको धज्जी उडाईरहेका छन् र उनका समर्थकले त्यसमा ताली पिटिरहेका छन् । त्यस्तो समय पनि आउला पुटिन सरकारबाटै पीडित भएर पुटिन समर्थकहरु ताली पिट्नै नसक्ने होऊन् ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र मानिएको भारतको लोकतन्त्र ठूलो टपरीमा एक पित्को अचार जस्तो भएको छ । मोदीको आगमनसँगै हिन्दुवादी संगठन र मिडियाका मार्फत घाँटी निमोठ्न सुरु गरिएको थियो । मोदीलाई कुनै पत्रकारले कुनै प्रश्न सोध्न पाउँदैन, मानौं उनी भारतका राजा हुन् । सरकारका गतिविधिका विरोधी पत्रकार गौरी लंकेश जस्ता निडर पत्रकारहरु २ हजार चौधदेखि नै मारिन सुरु गरेका थिए । प्रतिपक्षी दलका नेतालाई गोदी मिडियाका मार्फत् भाजपा सरकारले राष्ट्रिय पप्पु घोषणा गरिएको छ । सरकारका असफलताका बारेमा चर्चा गर्नेहरुलाई सुरुका दिनमा एन्टी नेश्नलिजम भनिन्थ्यो हाल आतंकवादी या पाकिस्तानी भनेर मुख थुन्ने काम गरिन्छ । भारतको अर्थतन्त्र पहिलेभन्दा निकै गिरिरहेको छ । रोजगारी र जनताका समस्याका बारेमा कुनै चर्चा छैन तर मिडियाहरुले मोदीलाई लगातार भगवान् बनाई रहेका छन् । महिनौंदेखि चलिरहेको किसानहरुलाई सरकारले आतंकवादीको नामले संबोधन गरिरहेको छ । यसले मोदी सरकारको नालायकीपन र तानाशाही प्रवृत्तिको जति निन्दा गरे पनि कम हुन्छ । चाहिनेभन्दा बढी प्रशंसा गर्नाले आज जनताको लोकतन्त्रको धज्जी उडाउन मोदीलाई छेक्न सक्ने कोही छैन । किसान र रोजगारका मुद्दा उठाइरहेका पत्रकार रवीश कुमारलाई मोदी सरकारले हालै पक्राउ पुर्जी काटेको घटना निकै स्मरणीय छ । सरकारको विरोधीहरुको मुख बन्द गराउने तन्त्रलाई भारतीय जनताले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर कतिन्जेल बस्लान् त्यो त समयले नै देखाउला ।

अमेरिकाको पूर्वराष्ट्रपति ट्रम्पलाई अमेरिकी जनताले चुनावमार्फत् राष्ट्रपतिबाट बाहिरिन सन्देश दिँदादिँदै पनि ट्रम्पको सत्तालिप्साले संसद् आक्रमण गर्नेसम्मको विरुप दृश्य देखाएको ताजै छ । ट्रम्प अमेरिकी राष्ट्रपतिको रुपमा असफल भईसक्दा पनि उनले असफल भएको स्वीकार गर्न नसक्दा हिंसात्मक गतिविधिसम्मका बाटो समातेको कसैबाट छिपेको छैन । लोकतन्त्रको गहना भनेकै जनताले चुनेको प्रतिनीधि हुन पाउनु हो तर ट्रम्पले त्यो स्वीकार गर्न सकेका थिएनन् । उनलाई सेना लगाएर राष्ट्रपति भवनबाट निकाल्नेसम्ममका पूर्वानुमान गरिए पनि बाध्य भएर उनले राष्ट्रपति भवन खाली गरेका हुन् । एक्काइसौं शताब्दीमा लोकतन्त्रलाई कु गर्न चाहने, तानाशाहहरुलाई तह लगाउनसमेत हम्मेहम्मे पर्नु दुखको कुरा हो ।

म्यानमारको सेना प्रमुख मिन आङ लाइङले सोमबार जनताबाट चुनिएकी आङसाङसुकीको सत्ता नियन्त्रणमा लियो । मिन आङ लाइङलले सोमबार बिहान राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई हिरासतमा लिई सत्ता कब्जा गरेपछि म्यानमारका सेनाप्रमुख सत्ताको लागि कति लालायित रहेछन् भन्ने जानकारी मिल्छ । जनप्रतिनीधिको सरकारलाई अपदस्थ गर्नु, संकटकाल घोषणा गर्नु, राजधानी नेपिटाव र मुख्य सहर यंगुनको सडकमा गस्ती गर्नु, टेलिफोन र इन्टरनेट सेवासहित सञ्चारसम्पर्क विच्छेद गर्नु र बैंकहरु बन्द गरिनु यी घटना एक्काइसौं शताब्दीमा हाम्रै नजिकै भइरहेको छ । यो तानाशाहवृत्तिको जति निन्दा गरे पनि कमै हुन्छ । शक्तिमा एकपटक रहेको व्यक्ति लगातार शक्तिमा रहिराख्न जुनसुकै हदसम्म गिर्नु यो शताब्दीको मूख्य चुनौतिको विषय भएको छ ।

अर्कोतर्फ उत्तर कोरियाको अवस्था त्यस्तै छ । किमजोङ उन जीवित रहेसम्म उत्तर कोरियाली जनताले विश्वलाई हेर्ने नयाँ सोच पाउने छैनन् । उनी आजीवन उत्तर कोरियाका शासक हुन् । उनका विलासी जीवनको लागि उत्तर कोरियाली जनताले धेरै बलिदानी र दुख खेप्नु नै छ । यी भोग र वासनाबाट कहिले अघाउन नसक्ने अघासुरले उत्तर कोरियालाई जर्जर बनाइराखेका छन् । त्यस्तो तानाशाहीवृत्तिबाट मुक्ति मिल्न उत्तरलाई अझै धेरै वर्ष वा एक शताब्दी नै कुर्नुपर्ने हुनसक्छ ।

विश्वका तानाशाहहरुको बारेमा कुरा गर्दा हामी हिटलर, मुसेलिनी, लुईं चौधौं, र लुईं सोह्रौंको नाम लिने गर्छौं परन्तु हाल राष्ट्रवादका नाराले राष्ट्रलाई आफ्नो बपौति बनाउन चाहने तानाशाहहरुको बारेमा चर्चा गर्दैनौं । यी नव तानाशाहहरुले आआफ्नो देशलाई जर्जर बनाउन गरिरहेको सत्ताको घृणित नमुनाहरुलाई वास्तै गर्दैनौं । याद राख्नुपर्ने कुरा, हरेक तानाशाही बिचारका शासकहरुले शक्तिमा टिकिराख्न अतिराष्ट्रवादको नारा घन्काउने गर्दछन् । जनताले सुरुमा त्यस्तो राष्ट्रवादलाई अनुमोदन गरे तापनि आन्ततोगत्वा त्यो निकै प्रत्युत्पादक साबित हुन पुग्छ । नेपालको सन्दर्भमा पनि ओली सरकारको अतिराष्ट्रवाद कालान्तरमा प्रत्युत्पादक हुनेछ भन्ने कुरा हामीले भुल्नुहुँदैन । कसैको पनि सत्तालिप्साको जीजिविषालाई हामीले राष्ट्रवादी भनेर प्रचार गर्नु रुस, भारत, उत्तरकोरिया, म्यानमार र अमेरिकाको आँखै अगाडिका घटनाहरु जस्तै बनाउन खोज्नु हो । ती घटनाहरु हुनमा सत्ताशीन तानाशाहीहरु मात्र मतियार नभएर मूलभूतरुपमा त्यहाँका जनताले त्यस्ता शासकलाई अनुमोदन गर्नु हो । एक्काईंसौं शताब्दीको मुख्य चुनौति भनेको तानाशाहीवृत्तिबाट मुक्ति हो ।

प्रतिक्रिया