आइतबार, जेठ ६, २०८१

तिम्रो प्रदर्शनले हामीलाई सास्ती किन ?

नेपालखोज २०७७ माघ २३ गते १४:२६

काठमाडौं । मौलिक तथा नैसर्गीक हकहरू यस्ता हक–अधिकारहरू हुन्, जसले मानिसका लागि सामाजिक, आर्थिक, राजनीतिक जीवनमा स्वतन्त्रता र पहुँच जुटाउँछन् । मौलिक हकहरू आफैंमा प्राकृतिक हकहरू हुन्, जुन मानिसले स्वाभाविक रूपमा मानिस भएकै आधारमा उपभोग गर्न पाउनुपर्ने मानिन्छ ।

एउटा व्यक्तिले आफ्नी आमाको गर्भमा आफ्नो आकार बनाउँदै गर्दादेखि मृत्युवरण गरी चिहानमा प्रवेश नगर्दासम्म, उसले हुर्कने, सिक्ने, अभिव्यक्त गर्ने, विवाह तथा परिवार स्थापना गर्ने, बालबच्चा जन्माउने, पालनपोषण गर्ने, व्यवसाय गर्ने, आदि कार्यहरूमा स्वतन्त्र हुनु भनेको उसले आफ्ना मौलिक हकहरूको उपभोग गर्न पाउनु हो ।

मौलिक हकहरू प्राकृतिक रूपमा व्यक्तिले उपभोग गर्न पाउनुपर्ने सिद्धान्तका आधारमा यी हकहरूलाई वैधानिक मानिन्छ । एउटा व्यक्तिले निर्वाधरूपमा सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ । यसमा कतै–कसैबाट हस्तक्षेप हुनुहुँदैन ।

देशको सीमाभित्र वा बाहिरसमेत हिँडडुल गर्ने, यात्रा गर्ने वा मानिसहरूसँगको सम्पर्कमा पुग्नेजस्ता गतिविधिहरू आवत–जावत गर्ने हकअन्तर्गत पर्दछन् ।

तर, सत्ता र कुर्सीका राजनीतिक संघर्षमा उत्रिएका देशका शीर्ष नेताहरुबाट आम नागरिकले स्वतन्त्र रुपमा आवतजावत गर्ने हक गुमाउने अवस्थामा पुगेको छ ।

पछिल्ला दिनहरुमा सडककेन्द्रित आन्दोलनमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार भने बन्दको सहारा लिए । जसले गर्दा काठमाडौंवासीको दैनिकी ठप्प भयो । त्यसले दैनिक मजदूरी गर्नेदेखि पेशा व्यवसाय गर्नेहरु मात्र नभएर विद्यार्थीहरु समेत प्रभावित भए ।

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिप्रति असन्तुष्टिस्वरुप नेकपाको प्रचण्ड–नेपाल समूहले आमहडताल आह्वान गर्दा त्यसको असर सडकदेखि बजारसम्म पर्यो । निजी सवारीसाधन चले पनि सार्वजनिक सवारी साधन चल्न सकेनन् जसका कारण यात्रुहरु हिँडेरै गन्तव्यसम्म पुग्न बाध्य भए । तर, यसको पीडा ती राजनीतिक दलले सायदै अनुभव गरे होलान् ।

भारी बोकेर गुजारा चलाउनेले मुख्य बजार बन्द भएकाले कामै पाएनन् । विभिन्न तहका विद्यार्थीले परीक्षा केन्द्रमा पुग्न निकै सकस झेल्नुप¥यो ।

त्यसो त आफ्नो पार्टीले घोषणा गरेको आमहडताल सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं सडकमा ओर्लिए । तर, अरुलाई गाडी चलाउन र बजार खोल्न नदिन प्रचण्ड भने ल्याण्डक्रुजर चढेर सडक यात्रामा निस्किए । उनी ललितपुर पुल्चोकमा अरु नेता कार्यकर्ताले गरेको नाराबाजीमा सहभागी भए भने अर्का अध्यक्ष माधव नेपाल कार्यकर्ताको स्कुटर चढेर काठमाडौंको नारावाजीमा सहभागी भए ।

बिहीबार भएको प्रदर्शनमा प्रदर्शनकारी अराजकरुपमा प्रस्तुत भएकाले तोडफोड र आगजनीका घटना पनि भए । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरिएको छ भने विभिन्न स्थानमा तीनवटा बस र अन्य केही सवारी साधनमा तोडफोड भएको छ ।

त्यस्तै नेकपा ओली समूहले आज काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गर्दैछ । त्यसका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा रोकिएको छ । जसले गर्दा रिङरोडभित्र आवतजावत गर्ने यात्रु आज पनि समस्यामा परेका छन् ।

नेपालीमा एउटा उखान छ ‘सौताको रिस पोइमाथि ।’ नेपालमा भएका विभिन्न आन्दोलनले शासकलाई कहिल्यै प्रभाव पारेन, र पार्दैन पनि । तर, सत्ता र शक्तिका लागि पछिल्लो समय सडकमै आन्दोलन गरिरहेका शीर्ष नेताहरुलाई यसले कुनै प्रभाव पारेको छैन । बरु आवागमन अवरुद्ध हुँदा सर्वसाधारण जनताले अनाहकमा दुःख खेप्न बाध्य छन् ।

प्रतिक्रिया