शिक्षामन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय रहेको बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसँग मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिका बीचको वर्षौसम्मको सम्बन्ध अझै सुमधुर रहने बताएका हुन् ।
‘विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपुर्ण रहेको छ’ मन्त्री श्रेष्ठले भने । विपद्को समय होस वा कोरोना संक्रमण नियन्त्रण गर्न अमेरिकी सरकारले उपलब्ध गराएको सय वटा भेन्टीलेटर सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाई थियो । उनले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

भेटका क्रममा राजदूत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिए । उनले भने नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौ । उनले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा थप सहयोग गर्ने बताए ।
नेपालको प्राथमिकदेखि दुर शिक्षामा गरेको लगानीमा थप सहयोग हुनसक्ने विश्वास व्यक्त गर्दै राजदूत बेरीले अमेरिकामा नयाँ सरकारले आएपनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पारे । सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपुर्ण रहेको बताए । उनले विद्यालय क्षेत्र सुधार परियोजना, दुर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग युएस आइडीले महत्वपूर्ण सहयोग गरेको बताए ।
सो अवसरमा सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए । उनले भने, ‘गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्यमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट ततथ्काल प्रकृया अघि बढाईनेछ ।’

मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताए । अमेरिकी विकास सहयोग नियोग युएसइआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राखे ।
उनले सन २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भैरहेको बताए । कोभिड लागि सहयोग गर्नेछौ । नेपालको विकासको अनुदानमा कुनै फरक पर्दैन–उहाको भनाई थियो । उनले प्राथमिक र दुर शिक्षामा सहयोग गरिरहेको बताए । उनले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने बचनबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।

प्रतिक्रिया