शुक्रबार, वैशाख १४, २०८१

‘व्यवसाय गर्न महिलालाई परिवारको साथ चाहिन्छ’

नेपालखोज २०७७ माघ २८ गते १५:५४

कोरोना कहरपछि तङ्ग्रिँदै गरेका व्यवसायहरुका अवस्थाका विषयमा नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीसँग नेपालखोजकी कार्यकारी सम्पादक आशा साहले गरेको कुराकानीको अंश –

महामारीसँगै अहिले बजारमा चहलपहल बढेको छ । के व्यापार व्यवसाय अहिले पुरानै स्थितिमा फर्किएको हो ?
भगवानको कृपाले हामीले कोरोनालाई जित्यौं भन्ने भनाइहरु आइरहेका छन् । पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्यामा पनि कमी आइरहेको छ । यो हाम्रो लागि राम्रो पक्ष हो । विशेषगरी यो महामारीले व्यापार व्यवसायहरु विगत एक वर्षदेखि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको थियो । अब विस्तारै व्यापारहरु सामान्य अवस्थामा खुल्न सुरु भएको छ । हस्पिटालिटी क्षेत्रमा लागेकाहरुले पछिल्लो एक डेढ महिनादेखि व्यवसाय त खुले, तर पहिलाको अवस्था जस्तो भने छैन ।

सरकारले महामारीबाट प्रत्यक्ष प्रभाव परेकाहरुलाई सहुलियत दरमा व्यवसाय पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । के यो व्यवसायीले पाएका छन् त ?
विभिन्न मुलुकका सरकारले अनेक राहतको प्याकेज ल्याए । त्यसो त अर्थतन्त्रले कमजोर भएपनि नेपाल सरकारले पनि केही राहतको प्याकेज भने ल्याएकै हो । गर्भनरले तीन तहमा अति प्रभावित, प्रभावित र कम प्रभावित भनेर व्यवसाय उद्योगलाई छुट्टाउने निर्णय गरेको थियो । साथै ब्याज तिर्नका लागि समयावधि पनि लम्ब्याइएको थियो । तर, महिला चेम्बरको एउटा सेक्रेटरीका नाताले महिलाहरुको गुनासो, दुःख, कष्टहरु झेलेको मैले प्रत्यक्ष रुपमा देखेकी छु । सरकारले ल्याएको राहत प्याकेज धेरैले पाउनुभएको छैन । कतिले त कोरोनापछि यस्तो गाह्रो अवस्था भयो भन्दै व्यापार व्यवसाय नै बन्द गर्नुभयो । अब हामी उठ्न सक्दैनौं, सधैँका लागि व्यापार बन्द गर्नुपर्ने अवस्था भयो भनेर गुनासो पनि गर्नुभएको छ ।

यो अवस्थामा उहाँहरुलाई फेरी उठाउन के गर्न सकिन्छ ? तपाईहरुको संस्थाले यसका लागि कुनै योजना बनाएको छ ?
राहतको प्याकेज सरकारले निजी क्षेत्रलाई दिने हो । विदेशमा पनि त्यही देखिन्छ, हाम्रो नेपालमा पनि त्यही नै छ । हाम्रो जस्तो संस्थाले गर्ने भनेको थलिएका महिला उद्यमीहरुको प्रोडक्ट बिक्री गरिदिन सहयोग गर्ने हो । कोरोना महामारीका कारण ८–९ महिनादेखि प्रोडक्ट बिक्री नहुँदा उहाँहरुलाई गाह्रो भएको थियो । उहाँहरुका लागि एउटा माध्यम खोजिदिने हो । त्यसका लागि हामीले एउटा अनलाईन पोर्टलबाट महिला दिदीबहिनीहरुको प्रोडक्ट डिस्प्ले गरी बिक्री गरिदिने काम गर्यौं । कम चार्ज लिएर प्रोडक्ट बिक्री गरिदिने, बिक्री गर्न सकिने ठाउँ खोजिदिने र हामीले एक अर्काको व्यवसायमा सहकार्य गर्नुपर्छ भन्ने अभियान चेम्बरबाट चलाएका छौं ।

निजी क्षेत्रले पनि विस्तारै आफ्ना गतिविधि अघि बढाउँदै लगेका छन् । यसमा झनै उर्जा थप्न सरकारले कुनै कदम चाल्नु पर्ने अवस्था देख्नुहुन्छ ?
खासमा यस्तो अवस्थामा सरकारले नै कदम चाल्ने हो । सरकारले चालेको कदमले हामीलाई पुगेको त छैन । तर, एकैपटक हामीले यूरोप, अमेरिकसँग तुलना गरेर पनि भएन । आफ्नो देशको भौगोलिक, आर्थिक अवस्थालाई हेरेर हामीले त्यो अनुसारको चाहाना राख्नुपर्छ । सरकारले यो महामारीको अवस्थामा केही भएपनि राहतको प्याकेज ल्यायो । यतिमा सन्तोष हुनुपर्छ । हाम्रो देश नै गरिब छ, आर्थिक अवस्था नै डामाडोल छ भन्ने भन्दापनि सरकारले यति भएपनि ल्यायो भनेर सन्तोष लिने ठाउँ छ जस्तो लाग्छ ।

देशमा अहिले संसद् विघटन भएको स्थिति छ । यसले व्यवसायीहरुको मनोभावमा कस्तो स्थिति सिर्जना गरेको छ ?
एउटा व्यवसायीको हिसाबले म के भन्छु भने– उहाँहरुको बाध्यात्मक स्थिति होला । म पनि कुनै पार्टीप्रति आस्था राख्छु होला । मलाई पनि केही कुरा चित्त बुझेको छैन होला, त्यो मेरो व्यक्तिगत धारणा हो । तर, कोभिडले गर्दा ९–१० महिना थलिएको अर्थतन्त्र सुरु मात्रै के भएको थियो यसरी राजनीतिक झगडाका कारण फेरी अर्थतन्त्रमा असर पर्ने देखियो । एउटा पार्टीभित्रको झगडालाई लिएर जुन किसिमको अराजक, असंवैधानिक कदम चालियो यसले व्यवसायीलाई झनै गाह्रो बनाएको छ । जसका लागि चलायमान हुन सुरु भएको व्यवसाय झनै थलिने अवस्थामा पुगेको छ ।

व्यापार व्यवसाय चलायमान कसरी बनाउने भन्ने तिर ध्यान केन्द्रित हुनुपर्ने ठाउँमा सरकार आफैँ लडाइँमा छ । कोभिड–१९ पछि यो जटिल अवस्थामा उहाँहरुले आफूहरुलाई मिलाउनु पर्थ्यो । देशको अभिभावकको रुपमा उभिएपछि हरेक समस्या समाधान गर्नुपर्ने हुन्छ । घरमा पनि झगडा हुन्छ, तर अभिभावकले मिलाउनु पर्छ । जो सत्ता पक्षमा हुनुहुन्छ, अभिभावक हुनुहुन्छ । उहाँहरुले आफ्नो इगोलाई त्यागेर देश र जनताका लागि सोचिदिएको भए आज यो दिन आउँदैन थियो होला ।

यो हिसाबले देशमा फेरी बन्दका घटना दोहोरिरहने नै भयो । यस्तो अवस्थामा आर्थिक क्रियाकलाप झनै प्रभावित हुने त होइनन् ?
काठमाडौं केन्द्रित र्याली भएको छ, तराईबाट १०–२० वटा बसमा कार्यकर्ता ओसारिएका छन् । यसले गर्दा तराईदेखि राजधानीसम्मका व्यापार व्यवसाय डमाडोल हुने भए । जाम, बन्द र हड्ताल यसले गर्दा हामीले एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न सक्दैनौं, जस्तै कोही ग्राहक हुनुहुन्छ भने बन्द, हड्तालले गर्दा हामीसम्म आउनै सक्नुहुन्न । बाहिर बजारमा किनमेल हुँदैन । किनभने बाहिरको अवस्था तनावग्रस्त छ, निस्कनुहुँदैन भनेपछि बिजनेस क्षेत्रलाई त्यो एक दिनले धेरै प्रभाव पार्छ । यो कति लामो हुने हो यसप्रति हाम्रो निजी क्षेत्र धेरै चिन्तित छ । महामारी पछिको समयमा सम्पूर्ण राजनीतिक पार्टीहरु एकजुट भएर जनतालाई निकास दिनुपर्ने बेला यस्तो किसिमका घटनाहरु हुनु देशको लागि ठूलो दुर्भाग्यको कुरा हो ।

व्यवसायमा अहिले पनि महिलाको संख्या सानो छ, महिलाहरुलाई व्यवसायमा आकर्षण गर्न सरकारले के गर्न सक्छ ?
महिलाहरुलाई सबैभन्दा पहिला परिवारले साथ दिनुपर्छ । एउटा महिला परिवारमा जन्मेको हुन्छ, हुर्केकी हुन्छन् वा कुनै परिवारमा बिवाह गरेर गएको हुन्छ । कसैकी छोरी हुन्छिन्, कसैको बुहारी हुन्छिन् । यस हिसाबले हेर्दा महिलालाई सबैभन्दा पहिला परिवारले साथ दिनुपर्छ । परिवारले तिमी जाऔं हामी छौ हामी साथ दिन्छौं केही गर भन्नुपर्छ । तिमीलाई व्यवसाय गर्न मन छ हामी पुँजी दिन्छौं ल गर भन्नुपर्छ । त्यसपछि समाजले साथ दिनुपर्छ । परिवारले साथ दियो भने समाजले साथ दिन्छ । त्यसपछि राज्यले गर्नुपर्ने कुरा राज्यले गर्छ । सबैभन्दा महत्वपूर्ण कुरा परिवार हो । म अहिले काठमाडौंमा बसेर अन्तर्वार्ता दिइरहेको छु, म गाडी चढेर हिँडिरहेको छु, घरमा यस्तो सुविधा छ, मैले यतिवटा व्यवसाय गरेको छु भन्दैमा मैले मुलुकका सबै व्यवसायी महिलालाई प्रतिनिधित्व गर्दिंन । मैले खाली आफ्नो मात्र प्रतिनिधित्व गरेको छु । तर, सानो पुँजीबाट आफ्नो व्यवसाय सुरु गर्नुभएका महिला दिदीबहिनीका लागि सरकारदेखि सरोकारवालाहरु सबैले सोच्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया