तनावका बीच रामकुमारीलाई पक्राउ

नेपालखोज २०७७ माघ २९ गते १३:०१

काठमाडौं । तनावका बीच प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । उनलाई राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरिएको छ ।

के छ राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८मा ?

राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः उल्लेख छ । दफा ५८ को उपदफा १ बमाेजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्‍यवस्‍था छ । 

५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः

(१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ ।

५९. हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित दफा बाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएकोे मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन ।

यसअघि पक्राउ पुर्जी बिना पक्राउ गर्न गएको प्रहरीलाई रामकुमार झाँक्रीले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनलाई बिहीबार उपस्थित हुन बोलाएको थियो । लगत्तै सादा पोसाकका सुरक्षाकर्मी उनलाई पक्राउ गर्न शंखमूलस्थित निवास पुगेका थिए ।

केही दिनअघि गोरखा पुगेर झाँक्रीले प्रतिनिधिसभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुल क्षेत्र तनावग्रस्त भएको थियो । झाँक्रीको निवासमा प्रहरी पुगेको खबर आएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका हुन् ।

प्रतिक्रिया