मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : देशको आर्थिक अवस्था सामान्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक अवस्था सामान्य रहेको बताएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले कोरोना महामारी कम हुँदै गएको र आर्थिक क्षेत्र चलायमान भएकाले अवस्था सामान्य रहेको बताएको हो ।
राष्ट्र बैंकमा भएको भर्चुअल कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सफल कार्यान्वयनबाट अर्थतन्त्र विस्तारको बाटोमा अघि बढेको, सबै क्षेत्रमा उत्साह ल्याएको बाह्य क्षेत्र सन्तुलनमा रहेको, मूल्यवृद्धि नियन्त्रणमा रहेको, वैदेशिक व्यापार सन्तुलनमा सुधार आएको, रेमिट्यान्स ११ प्रतिशतले बढेको लगायतका कारण अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको बताए ।
उनले बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन र कर्जा प्रवाह झनै उत्साहका साथ बढेको, कोरोना प्रभावितलाई लक्षित गरेर ल्याइएको पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा प्रवाहको अवस्था पनि उत्कृष्ट रहेको बताए ।
अहिलेसम्म ८७ अर्ब ८७ करोड रुपैयाँको पुनकर्जा स्वीकृति भएको र ८२ अर्ब रुपैयाँ प्रवाह नै भइसकेको उनले जानकारी दिए । ६१ हजार ऋणीले एक खर्ब ३७ अर्ब सहुलियतपूर्ण कर्जा लिएको र समग्र कर्जाको ब्याजदर क्रमशः घट्दै गएको गभर्नर अधिकारीले बताए ।
प्रतिक्रिया