के के एग्रो ग्रुपले हेटाैंडामा २ अर्ब लगानीकाे दाना उद्योग खोल्दै, ९ महिनाभित्र दाना उत्पादन गर्ने लक्ष्य

नेपालखोज २०७७ फागुन ६ गते १०:४६

काठमाडौं। पोल्ट्री व्यवसायमा एग्रेसिभ लगानी गरिरहेको केके एग्रो ग्रुपले हेटौंडामा दुई अर्ब रुपैयाँमा दाना उद्योग खोल्ने भएको छ।

डेढ महिना अघि जनकपुरमा दुई अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म, बायो ग्यास र अर्गानिक मल उत्पादन गर्ने फार्मको शिलान्यास गरेको थियो। हेटौडा उपमहानगरपालिका नेवारपानीमा ५४ कठ्ठा जग्गामा कुखुरा र गाईभैसीका लागि आवश्यक दाना उद्योग स्थापना हुनेछ। यो उद्योगमा ग्लोबल आइएमई बैंकले फाइनान्सिङ गरेको छ।

यो समूहमा मेडिकल कलेजमा लगानी गर्दै आएका खुमाप्रसाद अर्याल, भेषराज अर्याल र शोभाकान्त ढकालको लगानी छ। खुमाको भैरहवा मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा प्रत्यक्ष लगानी छ। कम्पनीका संचालक ढकालले नौ महिनाभित्र दाना उद्योग तयार हुने र उद्योगका लागि आवश्यक प्लान्ट खरीदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

‘हामीले मंगलबार उद्योगको भूमि पुजा गरेका छौं। नौ महिनाभित्र दाना उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाएका छौं,’ ढकालकाले भने, ‘यहाँबाट उत्पादन भएको दाना आफ्नो पोल्ट्री फार्मका साथै व्यवसायिक रुपमा पनि बिक्री गरिनेछ।’ उद्योगको क्षमता प्रति घण्टा २० टन उत्पादन गर्ने हुने उनले बताए। यो समूहले स्याङजामा व्यवसायिक रुपमा कुखुरापालन गरिरहेको छ भने जनकपुरमा डेढ महिना अघि शिलान्यास भएको फार्म एक वर्षभित्र संचालनमा आउँदैछ। यी दुई उद्योगका लागि दैनिक ८० टन दाना आवश्यक पर्छ। ढकालका अनुसार कुखुराको दाना वाहेक गाईभैसीका लागि आवश्यक दानाको सम्भावना देखेर प्लान्ट लगाउन लागिएको हो।

‘अहिले व्यवसायिक रुपमा पशुपालन समेत सुरु भएको छ। त्यसको पनि राम्रो सम्भावना छ,’ उनले भने, ‘कुखुराको दाना उत्पादन गर्ने ठाउँमा सानो युनिटको क्याटल फिडको समेत प्लान्ट लगाएर उत्पादन गर्नेछौं।’ ढकालले उद्योगमा राखिने प्लान्ट विश्वस्तरीय र अत्याधुनिक हुने समेत जिकिर गरे। ‘हामीले मेसिनरी प्लान्टमा कुनै सम्झौता गर्दैनौं। युरोपेली ब्राण्डको मेसिनरी हामीले लगाउँदैछौं,’ उनले भने, ‘दाना पनि गुणस्तरीय हुनेछ।’

डेढ महिना अघि शिलान्यास भएको जनकपुर एग्रो फार्मको काम तीब्र गतिमा अघि बढेको ढकालले बताए।

‘हामीले सोचे भन्दा पनि राम्रो हिसाबले फार्म निर्माणको काम भइरहेको छ। त्यो फार्मको निर्माणका कारण पनि हतारहतार दाना उद्योग स्थापना गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने, ‘पोल्ट्री फार्म भन्दा पहिला दाना उद्योग ल्याउनलाई हम्मेहम्मे पर्ने देखेका छौं।’१२ बिघा जग्गामा निर्माण भइरहेको फार्ममा ६ लाख लेयर्स पालेर दैनिक पाँच लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखेको छ। यो फार्म पूर्ण वातानुकुलित र स्वचालित हुनेछ।

यो बाहेक फार्मभित्र दैनिक तीन सय सिलिण्डर बायोग्यास उत्पादन हुनेछ। यो बायोग्यास औद्योगिक प्रयोजनमा बिक्री हुनेछ। यो बाहेक जैविक मलको प्रयोग बढ्दै गएकाले उत्पादनका लागि प्लान्ट पनि हुनेछ। यो प्लान्टबाट दैनिक २० टन जैविक मल उत्पादन हुनेछ।

प्रतिक्रिया