सभामुख झगडिया हुन् : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन ८ गते १७:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख र उपराष्ट्रपतिको आलोचना गरेका छन् ।

शनिबार विराटनगमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको विरोधमा भाषण गर्दै हिँडेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका हुन् ।

उपराष्ट्रपति पुनले सरकारको आलोचना गरेको र सभामुख सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भनेर प्रधानमन्त्रीले आलोचना गरे ।

सभामा प्रधानमन्त्रीले सभामुख बनाइएको व्यक्ति सरकारको विरुद्धमा मुद्दा हाल्दै हिँडेको र किर्ते काममा लागेको आरोप लगाएका हुन् । उनले भने–‘सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ? सभामुख झगडिया हुन जानुभएको छ ।’

उपराष्ट्रपतिलाई सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभन्दा निर्वाचनमा आउन ओलीले चुनौती दिएका छन् । उपराष्ट्रपति पुनले पत्रकार महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए ।

उक्त भनाइतर्फ इंगित गर्दै ओलीले उपराष्ट्रपतिले पदले भाषण गरेर हिँडेको बताए । उनले भने–‘सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ । उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने होइन । संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरू, प्रतिनधिसभा विघटन गरेर बेठिक भयो चुनाव, गर्न पाइँदैन भन्ने होइन ।’

उपराष्ट्रपति चुनाव नगर्ने नै पृष्ठभूमिबाट आएको भन्दै प्रधानमन्त्री ओलीले अब चुनावतिर आउन आग्रह गरे ।

प्रतिक्रिया