कीर्तिपुरमा नेपालको पहिलो सालक पदमार्ग घोषणा

काठमाडौं । नेपालमा पहिलो पटक सालक पदमार्गको घोषणा गरिएको छ । १०औं विश्व सालक दिवसको अवसर पारेर कीर्तिपुरको बाघभैरव सामुदायिक वनमा साल पदमार्गको घोषणा गरिएको छ ।
दुर्लभ एवं संरक्षित जीव सालकको संरक्षणका लागि भन्दै शनिबार एक कार्यक्रमका बीच सामुदायिक वन, कीर्तिपुर नगरपालिका, साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउण्डेसन (एसएमसीआरएफ) लगायतका संस्थाहरुको अगुवाइमा पदमार्ग घोषणा गरिएको हो ।
कीर्तिपुर–४ को बाघभैरव सामुदायिक वन क्षेत्रबाट सुरु हुने उक्त पदमार्ग करिब २ घन्टा उकालो लागेपछि सालक चौतारीमा पुगेर टुंगिन्छ । यो ट्रेल ५ किलोमिटर लम्बाइको छ । सालक पाइने क्षेत्र भएकाले संरक्षणका अन्य कार्यक्रमहरू ल्याउन पनि यहाँ पदमार्ग घोषणा गरिएको हो ।
लजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन् । सालकले मानिसलाई हानि गर्दैन । कीरा र कमिलालाई आहारा बनाउने सालकको संख्या बर्सेनि घट्दा यसलाई कसरी जोगाउने भन्नेमा संरक्षणकर्मीको ध्यानाकर्षण भएको छ ।
नेपालमा मात्रै नभएर सालक पदमार्ग विश्वमै पहिलो पटक घोषणा गरिएको सालकमा विद्यावारिधि गरिरहेकी एसएमआरएफकी संस्थापक तुलसीलक्ष्मी सुवालले बताइन् । ‘सम्भवतस् यो विश्वकै पहिलो सालक पदमार्ग हो । यो पदमार्गमा सालकको चौतारी पनि छ,’ उनले भनिन्,‘बाघभैरव मन्दिरदेखि सुरु भएर सालक चौतरीमा पुगेर टुंगिने यो पदमार्गमा सालकका बासस्थानहरु धेरै देखिन्छ ।’

प्रतिक्रिया