देउवालाई पौडेलको प्रश्न– पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ? भनेर प्रश्न गरेका छन् ।
केही दिनअघि पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा प्रचण्ड–नेपाल समूहको जस्तो प्रदर्शन गर्न कांग्रेससँग पैसा नभएको बताएका थिए ।
त्यसको जवाफ दिँदै आइतबार पौडेलले भने– ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ? यसका लागि त पार्टीको संकल्प र निर्णयले पुग्छ । पैसाले जुलुस गर्नु पर्दैन ।’
आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको विरोधमा गरिने प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताए । उनले जुलुस, सभा र विरोध प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका हुन् ।
प्रदर्शनका लागि पार्टीले निर्णय गरेर आह्वान गरे कार्यकर्ता र जनता सडकमा स्वतःस्फुर्त आउने उनले बताए ।

प्रतिक्रिया