‘सेयर बजार महिलाका लागि हो’ (भिडियाेसहित)
पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । यस्तो कसरी हुन गयो भन्ने विषयमा नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नेपालखोजका प्रतिनिधि लवण श्रीपालीले गरेको कुराकानीको अंश–

नेपालमा पूँजी कत्तिको उत्साहित छ ? दिनप्रतिदिन सेयर बजारले नयाँ रेकर्ड बनाउँदै छ ।
लगानीकर्तालाई सबैभन्दा धेरै राम्रो कुरा भनेको बजार बढ्नु हो । चार वर्षदेखि बजार निरन्तर ओरालो लागिरहेको थियो । अहिले कोरोना महामारी भित्रिएसँगै लगानीकर्तामा उत्साह छाएको छ । किनभने पूँजी बजारले शिखर नै चुमेको छ । यस अर्थले लगानीकर्ताको अध्यक्ष भएको कारणले पनि हामी एकदमै खुशी छौं ।
पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको वृद्धि भइरहेको छ । यसको कारण के हुन सक्छ ?
जब नेपालमा कोभिड भित्रियो यस बीचमा अन्य क्षेत्रहरु सबै बन्द भए । मानिसहरु पनि घर–घरमा थुन्निनु पर्यो । त्यसबेला के–कसो गर्ने भन्ने एउटा नैराश्यता छायो । यस बीचमा आइपीओहरु खुलिरहेका थिए र लगानीकर्ताहरुले यत्तिकै घरमा बस्नुको साटो पूँजी बजारमा प्रवेश गर्न रुचाए । त्यतिखेर सयमा लिएको आइपीओ १८ सयसम्ममा बिक्री भयो । त्यसले गर्दा पनि पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्यो । कोरोना महामारीमा उद्योग, कलकारखाना र होटल सबै बन्द रह्यो भने बैंकमा पैसा अधिक मात्रामा थुप्रियो । र, त्यो लगानी गर्न कहाँ जाने ? सीमा नाका पनि सिल्ड थियो र सबै पैसा पूँजी बजारमा भित्रियो ।
पछिल्लो सयम असन्तुलित तरिकाले बजार वृद्धि भएको पनि देखियो । यसको कारण के होला ?
बजार सँधै घट्ने वा बढ्ने भन्ने हुँदैन । घटेपछि बढ्छ र बढेपछि घट्छ । जब पैसा धेरै हुन्छ तब लगानी गर्न पूँजी बजार एक मात्र माध्यम बन्यो । त्यो सँगसँगै १८ लाख लगानीकर्ता थिए । १८ लाखबाट २६ लाख पुगे भनेपछि डब्बल जस्तै बढे । ती सबै लगानीकर्ता बजारमा भित्रिए । यस अर्थले बजार बढेको हो । कुनै कम्पनी अस्वभाविक रुपले बढेको छ होला । तर पनि १८ सय इन्डेक्स हुँदा हामी बजारमा थियौं । कुनै कम्पनीको ३२ सय थियो भने अहिले त्यो कम्पनीको ८ सय मात्रै छ । त्यसैले अस्वाभाविक रुपले बढ्यो भन्न चाहिँ मिल्दैन ।
कोरोना महामारीले विश्वकै अर्थ व्यवस्थामा असर पारेको अवस्थामा सेयर बजार फस्टाउँदै गयो । यो हिसाबले लगानीकर्ता कत्तिको उत्साहित देख्नुभएको छ ?
कोरोना महामारीले नेपाल मात्र नभएर विश्वकै अर्थतन्त्र के होला भन्ने प्रश्न उठिरहेको थियो । यस अर्थमा पनि सबै लगानीकर्ताहरु पूँजी बजारमा प्रवेश भए । ठूलाठूला कम्पनीहरु र इन्भेष्टर्सहरु पर्ख र हेरको अवस्थामा थिए । धेरै लगानीकर्ता बजारमा भित्रिए । काठमाडौंमा मात्रै नभएर उपत्यका बाहिर पनि त्यतिकै लगानीकर्ता भित्रिए । पहिला अनलाइन राम्रो सँग चल्दापनि चल्दैन थियो । जब कोरोना महामारी भित्रियो तब सबै जनाले अनलाइन गर्न थाले । यसले गर्दा गाउँ–गाउँमा छरिएका लगानीकर्ताले अनलाइनको माध्यमबाट किनबेच गर्न थाले ।
नेपाल पूँजी बजार लगानीकर्ता संघको कुनै त्यस्तो मापदण्ड छ, लगानीकर्ताहरुको लागि ?
जो सेयर बजारमा आवद्ध हुनु भएको छ उहाँहरुलाई एकदम मिनिमम रेटमा राखेका छौ । पुरानो लगानीकर्तालाई हाम्रो संघमा आवद्ध हुनुपरेन । उहाँहरु आफै पनि बुझ्नु हुन्छ । नयाँ लगानीकर्ता पूँजी बजारमा आउन चाहनुहुन्छ भने उहाँहरुलाई आउनुस् र केही भएपनि सिक्नुहोस् भनेर हामीले ५ सयमात्र न्यूनतम शुल्क राखेका छौ ।
अन्य समयमा राजनीतिक उतावचढावले पनि सेयर बजारमा असर पारेको देखिन्थ्यो । तर, यो समयमा यसले खासै प्रभाव पारेको देखिएन । यसको कारण के हुन सक्छ ?
बजारलाई असर पार्ने तत्वहरु धेरै नै छन् । किनभने समय–समयमा फैलिने अफवाहहरु पनि हुन्छन् ।
अफवाह भने कस्तो खालको ?
केही दिन अघिमात्र राष्ट्र बैंकले अर्धवार्षिक समिक्षा गर्यो । त्यो समिक्षामा ७० प्रतिशत सेयर धितो राखेर ७० प्रतिशत मार्जिन दिन्थ्यो । त्यसको लागि घटाइँदै छ भनेर अफवाह ल्याइयो । जुन हुँदै होइन । हामीले त्यो रोकिसकेका थियौं । यस्तो अफवाहा फैलाउने भनेको एकदम पहुँचवाला लगानीकर्ता वा ठूला लगानीकर्ता हुन्छन् । तिनीहरुले गर्दा साना लगानीकर्तालाई असर पर्ने भयो । यो सँगसँगै एकदम राम्रो कम्पनी छ, मैले एकदमै राम्रो कम्पनीको सेयर लिएको छु । तर, त्यो कम्पनी एकदम नराम्रो छ भनेर कुनै मिडियाले लेखिदिन्छ भने त्यसलाई पनि अफवाहको रुपमा लिन सकिन्छ ।
सेयर बजारमा महिलाहरुको संख्या पनि उल्लेख्य देखिन्छ । सेयर बजारबारे महिलामा ज्ञान कतिको हुन्छ ?
पछिल्लो सयम म अध्यक्ष हुनुभन्दा अगाडि त्यति धेरै महिला लगानीकर्ता देखिनुभएको थिएन । जब म अध्यक्ष भए त्यसपछि महिला लगानीकर्ता धेरै हुनुभएको छ ।
यसको मतलव तपाईबाट पनि महिलाहरु प्रभावित हुनुभयो ?
हो प्रभावित हुनुभयो । यति सानो उमेरमा यस्तो गर्दै हुनुहुन्छ भने हामीले पनि किन नगर्ने भन्ने हुन्छ । त्यस सँगसँगै सेयर बजार नारीहरुका लागि मात्रै होला भन्ने जस्तो लाग्छ । किनभने हामीले बिहान अफिस जानुपर्यो भने ८–९ बजेदेखि तयारी गर्नुपर्छ । बालबच्चा र परिवारलाई समय दिन सकिँदैन । सेयर बजार भनेको यस्तो क्षेत्र हो, हामीले परिवार र बालबच्चालाई पनि समय दिनसक्छौं । जस्तै पहिला बालबच्चालाई स्कुल पठाएपछि हामी बजार जान्छौं । ११ बजेदेखि ३ बजेसम्म बजार खुल्छ । त्यसपछि बालबच्चा र परिवारलाई समय दिन सकियो । र, आफूसँग धेरैधेरै भएको पूँजी पनि बजारमा भित्र्याउन सकिन्छ । जस्तो मलाई कुनै व्यापार विजनेस गर्नुपर्यो त्यसका लागि पनि ८–९ लाख चाहिन्छ । तर, बजारमा १० हजारदेखि लगानी गर्न सकिन्छ । यस अर्थले पनि महिलाहरु यस क्षेत्रमा विशेष आकर्षित भएको मैलले देखेको छु ।
प्रतिक्रिया