रेल, पानी जहाज, विद्युतीय बस कहिलेदेखि चल्छ प्रधानमन्त्रीज्यू !

नेपालखोज २०७७ फागुन १२ गते ९:००

काठमाडौं । ‘जनकपुर–जयनगर रेल्वे’ गत माघ अन्तिम सातादेखि सञ्चालनमा ल्याउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका थिए । रेल्वे सञ्चालका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र माघ अन्तिम सातादेखि रेल सेवा सुरु हुने भनिएको थियो । तर, फागुन दोस्रो साता वितिसक्दा पनि रेल सञ्चालन हुने कुनै सुरसार देखिएको छैन ।

भारतबाट ८४ करोडमा किनेर ल्याइएका दुई रेल कानुन र कर्मचारी अभावमा पाँच महिनादेखि त्रिपालले छोपेर राखिएका छन् । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताइएको थियो ।

रेल चलाउने प्रयोजनकै लागि गत जेठ अन्तिममा रेल्वे कम्पनीका महाप्रबन्धकका रुपमा गुरु भट्टराई नियुक्ति भएका थिए । तर, पटक–पटक रेल सञ्चालनमा ल्याउने मिति सार्वजनिक भएपनि तोकिएकै मितिमा रेल सञ्चालनमा आउन सकेको छैन ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले निकै महत्व दिएका योजनाहरु एकपछि अर्को गरी अलपत्र भएका छन् । जसमध्ये रेल सञ्चालन गर्ने योजना पनि एक हो । यस्ता धेरै योजनाहरु छन् जुन प्रधानमन्त्री ओलीले निकै महत्व दिएका थिए ।

पानी जहाज र विद्युतीय बस सञ्चालनमा पनि कुनै प्रगति भएको छैन । देशभित्र समुद्र नरहेपनि पानी जहाज प्रधानमन्त्री ओलीको मुख्य योजना हो । तर, दुई वर्ष वितिसक्दा पनि यसले गति लिन सकेको छैन ।

त्यसो त दुई वर्षअघि पानी जहाज कार्यालय खोल्न लगाएका ओलीले विरोधीहरुलाई टिकट काटेर बस्न समेत भने । उनले पानी जहाज सञ्चालनमा आउँछ भनेको मिति गुज्रिसकेको छ भने कार्यालयले अहिलेसम्म सिन्को समेत भाँच्न सकेको छैन । १६ कर्मचारीको दरबन्दी रहेको कार्यालयमा १० जना मात्रै छन् । खाली रहेका दरबन्दी माथिल्लो तहका हुन् ।

ओलीले महत्व दिएको अर्को योजना हो, विद्युतीय बस । चुनावी घोषणापत्रमै तीन वर्षमा काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने भनिएको थियो । तर, विद्युतीय बस कहिलेबाट सञ्चालनमा ल्याइन्छ अत्तोपत्तो छैन । २०७६ असारमा ३ सय वटा विद्युतीय बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिएको सरकारले प्रक्रिया नै अगाडि नबढाएको भन्दै ६ महिनापछि ब्याजसहित रकम फिर्ता लिने र आफैं बस किन्ने निर्णय गर्यो । तर न साझाले रकम फिर्ता गर्यो, न त सरकारले बस किन्यो । अहिले फेरि त्यहि साझालाई अगाडि सारिएको छ । पूर्वतयारी, सरकारी संयन्त्रको क्षमता, आवश्यकता र बिनाऔचित्य लहडमा निर्णय गरिएकाले प्रधानमन्त्रीले नै अगाडि सारेका योजना अलपत्र परेका हुन् ।

एसियाली विकास बैंकको सहयोगमा किनिएका ५ वटा विद्युती बस समेत प्राविधिक त्रुटी देखाइ थन्क्याएर राखिएका छन् ।

दुई वर्ष अघि प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकापर्ण समेत गरेका थिए । साझा यातायातले आयोजना गरेको बिजुली बस शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो ५ वटा विद्युतीय गाडी मात्र नभई देशको आगामी कार्यदिशा रहेको जिकिर गरेका थिए ।

यता नेपाल विद्युत प्राधिकरणले २० ठाँउमा चार्जिङ स्टेसन राखेको जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले सन् २०२० सम्म कुल सवारी साधनको २० प्रतिशत विद्युतीय हुने दाबी गरेका थिए ।

प्रतिक्रिया