सरकारले ल्यायो घरमै बसेर माटो परीक्षण गर्न सकिने प्रविधि

नेपालखोज २०७७ फागुन १३ गते ७:२५

काठमाडौं । सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी.पी.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । यो नक्साको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।

कृषि मन्त्रालयकाअनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सीमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्छन्’, उनले भने।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने पनि प्रधानमन्त्रीले बताए। जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उनले प्रतिशतको तुलना अलि नमिलेको बताए। यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताए।

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको बताए । माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ, कुन बालीको उत्पादन राम्रो हुन्छ, कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया