बिहीबार, वैशाख १३, २०८१

कानुनी रुपमा नेकपा विभाजन भइसकेको छैन : सुवास नेम्वाङ

नेपालखोज २०७७ फागुन १५ गते २०:०९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको बताए ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ भएका प्रधानमन्त्री ओली पुनस्स्थापनापछि दह्रो भएको बताएका छन् ।

उनले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरे । प्रतिनिधिसभा पुनस्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेको समेत नेम्वाङले बताए । तर उनले अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै-कुरा नभएको पनि प्रष्ट पारे।

प्रतिनिधि सभा पुनस्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताए।

नेता नेम्वाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्वाङले बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे ।

प्रतिक्रिया