शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीले एउटा गैंडाको एक वर्षको खाना र उपचारको जिम्मा लिने

नेपालखोज २०७७ फागुन १९ गते २१:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षको खाना, उपचारलगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् ।

नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधवार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत एउटा गैंडाको वर्षभरिको सम्पूर्ण खर्चको जिम्मा लिएका हुन् ।

उनले चिडियाखानालाई सरकारकातर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै विभागीय मन्त्रीलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिए । बुढाबुढि अशक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उनले बताए । आफूले कोभिड रहुञ्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना बराबर श्रीमती राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाए ।

मानिसलाई सहयोग गर्न मानिसहरु तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्धतिको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताए । कार्यक्रममा कोषका सदस्य सचिव शरदराज अधिकारीले कोषले सरकारको लक्ष्यअनुसार संरक्षित क्षेत्रको संरक्षण तथा विस्तारमा उत्साहका साथ काम गरिरहेको बताए ।

उनले प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संरक्षित क्षेत्र बढाएर अहिलेको २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने कुरा बताउँदै आएको प्रधानमन्त्रीको उद्घोषलाई कार्यान्वयन गर्ने विषयमा कोषको भूमिका अझै बढेर जाने बताए । प्रधानमन्त्रीको उद्घोष कार्यान्वयन गर्न कोष उत्साहका साथ लाग्ने प्रतिबद्धता पनि उनले जाहेर गरे ।

प्रतिक्रिया