शुक्रबार, वैशाख १४, २०८१

नेकपाका सांसद भन्छन्- आफ्नै पार्टीका साथीहरुलाई गाली गरियो अब कुन मुखले बोल्ने होला ख्वै ?

नेपालखोज २०७७ फागुन २३ गते १२:१६

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्‍न ४ बजे संसद् बैठक बोलाइएको छ ।

गत पुस ५ गतेयता विशेषगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको छ । जनताले पाँच वर्षका लागि सरकार चलाउन म्यान्डेट दिएको नेकपा आन्तरिक खिचातानीकै कारण दुई चिरामा विभक्त बनेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परे । प्रधानमन्त्री ओलीले नै नेतृत्व गरेको नेकपा भने फुटेर दुई चिरा बने पनि निर्वाचन आयोगले भने आधिकारिकता दिएको अवस्था भने छैन ।

संसद् पुन:स्थापनाको मागसहित सर्वोच्चमा परेको रिट निवेदनमाथिको झन्डै दुईमहिने बहसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय इजलासले फागुन ११ गते संसद् पुन:स्थापनाको पक्षमा फैसला गरेको थियो । इजलासले प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिले गरेको संसद् विघटनको घोषणालाई असंवैधानिक ठहर्‍याएको थियो ।

सर्वोच्चले १३ दिनभित्रै बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोहीअनुसार पुन:स्थापित संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेको हो । अर्थात् सर्वोच्चको संसद् पुन:स्थापना गर्ने भनेर गरेको फैसलापछि मन्त्रिपरिषद्‌ले राष्ट्रपति भण्डारीलाई संसद् बैठक बोलाउनका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सोही सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले आज ४ बजेका लागि संसद् बैठक आह्‍वान गरेकी हुन् ।

यो हिउँदे अधिवेशन हो । प्रतिनिधिसभा विघटन हुँदा राष्ट्रियसभाको हिउँदे अधिवेशन यसअघि नै प्रारम्भ भई अन्त्य भएको थियो । संघीय संसद्को निर्वाचनपछि दुई सदनको फरक-फरक रूपमा अधिवेशन बसेको यो पहिलोपटक हो ।

जुहारीमा रमाएका नेताहरुको ‘फेस टु फेस’
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद् विघटनको प्रस्ताव गर्दै राष्ट्रपतिले संसद् विघटन गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले यो असंवैधानिक कदम भन्दै अभिव्यक्ति सार्वजनिक गरे । ओलीले संसद् विघटनको प्रस्तावसँगै तर्सिएका दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको सहयोगमा सडक आन्दोलन थाले । उनीहरुले निरन्तार ओलीको विरुद्धमा अभिव्यक्ति दिइरहे । देश-व्यापी रुपमा आन्दोलन गरियो । ओलीलाई कुहिएको अन्डा, तानाशाह, कमेडियन भन्दै चर्को आलोचना गर्न भ्याए ।

प्रत्युत्तरमा ओली पनि देशव्यापी प्रदर्शनका लागि आफूलाई सक्रिय बनाइरहे । देश दौडाहामा निस्किएर आफ्नै पार्टीका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायत सबैको उछितो काढ्न भ्याए । त्यतिमात्रैले नपुगेर दाहाल-नेपाल समूहमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपतिविरुद्ध मानहानिको अभिव्यक्ति दिएको भन्दै प्रहरी पठाएर नियन्त्रणमै लिए । उसो त चौतर्फी दबाबकै कारण ओलीले रामकुमारीलाई ५ घण्टाभन्दा बढी नियन्त्रणमा लिन भने सकेनन् ।

यही विरोध र उछितो काढाकाढको अवस्थामै ओलीले एउटा कार्यक्रममा दाहाललाई व्यंग्य गर्दै भन्न भ्याए- ‘पहिले डाक्टर साथमा लगाए, पछि वैद्य, अहिले झाँक्रीलाई साथै लिएर हिँडेका छन्, डाक्टरले र वैद्यले साथ त छाडिसके हेरौं अब झाँक्रीको साथ कतिदिन हुने हो ।’ पुस ५ यता नेकपाकै नेताहरु दुईवटा खेमामा विभक्त भएर एक-अर्कालाई तल्लो तहसम्मै पुगेर गाली गलौज गर्न हिच्किचाएका छैनन् । पार्टी दुईवटा भइसकेको भान भए पनि निर्वाचन आयोगले आजै यस विवादबारे टुंगो लगाउने तयारी गरिरहेको जनाएको छ।

नेकपाको ओली समूह र दाहाल-नेपाल समूह दुवै आफूहरु असली (आधिकारिक) रहेको दाबी गर्दै आएका छन् । उनीहरुले तल्लो स्तरको गाली गराइले उनीहरुको मानसिकतासँगै स्तरलाई समेत उजागर गरेको आमजनताले अनुभव गरेको कुरा हो । यद्यपि आज अपराह्‍न चार बजे संसद् बैठकमा ती गाली गर्ने र गाली खाने नेताहरुको जमघट भने संसद् भवनमा हुने भएको छ । नेकपाकै एक सांसद उल्टै प्रश्न गर्दै भन्छन्- ‘आफ्नै पार्टीका साथीहरुलाई गाली गरियो अब कुन मुखले बोल्ने होला ख्वै ?’ उनलाई आफ्नै साथीहरुमाथि गरिएको तुच्छ टिप्पणी निको (राम्रो) लागेको छैन । उनले जे भए पनि राजनीतिक गर्ने व्यक्तिहरुले अलिकति भए पनि संयम् देखाउनुपर्ने भए पनि त्यसो हुन नसकेकोमा दु:खी देखिए ।

के हुनेछ कार्यसूची ?
संघीय संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची शनिबार (हिजै) प्रकाशन भइसकेको छ । जसअनुसार बैठक प्रारम्भसँगै राष्ट्रपतिद्वारा प्राप्त अधिवेशन आह्‍वानको पत्र पढेर सुनाइनेछ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्र पनि सदनको जानकारीका लागि पेस गरिनेछ । योसँगै सरकारले जारी गरेका आठवटा अध्यादेश पनि पेस हुने कार्यसूची तय भएको छ ।

बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरूको निधनमा शोक प्रस्तावको कार्यसूची छ । बहालवाला तथा पूर्व गरी १४ जनाको निधनको शोक प्रस्ताव पारितको कार्यसूची छ । सदनले प्रतिनिधिसभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसीको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।

बैठक सञ्‍चालनमा जटिलता
दुईतिहाइनजिकको बहुमत पाएको नेकपाका सांसद दुई समूहमा विभाजित भएसँगै आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा पनि केही जटिलता देखिएको छ । पार्टी विभाजनले सरकार र संसद्‌बीचको सम्बन्ध पनि चिसिएको छ । कानुनी रूपमा नेकपा विभाजित नभए पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूहको निर्णयअनुसार नेकपा संसदीय दलमा दुई नेता र दुई मुख्य सचेतक छन् । अझ दाहाल समूहले पनि माधव नेपाललाई अध्यक्षका रुपमा निर्णय गरेको छ । संसदीय दलको नेतामा अस्ति (शुक्रबार) मात्र दाहाल तोकिएका छन् । उता ओली अध्यक्षसँगै आफैं संसदीय दलको नेता छँदै छन् ।

दुवैको दाबी बहुमत हाम्रै
ओली र दाहाल-नेपाल समूहले बहुमत सांसदहरु आफूहरुसँगै रहेको दाबी गर्दै आएका छन् । दुवैले ११५ सांसद आफूहरुकै साथमा रहेको दाबी गरेका हुन् । सत्तापक्ष नै दुई समूहमा बाँडिएपछि बैठक व्यवस्थापनका लागि कार्यव्यवस्था समितिको बैठक बस्ने/नबस्ने यकिन हुन सकेको छैन ।

नेकपाका दुवै समूहका संसदीय दलका नेता र सचेतक पनि आ-आफ्नै छन् । संसद् सचिवालयले नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई आधिकारिकता दिइसकेको छ । नेकपा दाहाल-नेपाल समूहले पनि आधिकारिक पार्टी आफैं भएको दाबी गर्दै देवप्रसाद गुरुङलाई नै सचेतक मान्दै आएको छ । गुरुङ ओलीले नियुक्ति गरेका प्रमुख सचेतक हुन् तर ओलीले पार्टीको विवाद बढ्दै गएपछि उनलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका छन् ।

निर्वाचन आयोगले ढिलाइले बल्झियो विवाद
सत्तारूढ नेकपा अहिले एक पार्टी हुन सकेको छैन । वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने सम्भावना पनि छैन । कुन समूह आधिकारिक हो भन्ने निर्वाचन आयोगले टुंगो नलगाउँदा विवाद झनै बल्झिएको छ । नेकपाबीचको तिक्तता ओलीले पुस ५ मा संसद् विघटन गरेसँगै बढेको हो । नेकपा व्यवहारिक रूपमा विभक्त देखिए पनि कानुनी रुपमा भने एउटै पार्टी छ ।

प्रतिक्रिया