ओलीको भेट्ने प्रस्तावमा प्रचण्डले भने ‘अहिले म मिटिङमा व्यस्त छु’

काठमाडौं । सोमबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर भेट्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान प्रचण्डलाई फोन गरेर तत्कालै भेट्न प्रस्ताव गरेका हुन् ।
‘भेट्न पर्यो परिस्थिति नयाँ छ’, ओलीले फोनमा भनेका थिए ‘बरु आजै भेटौँ ।’ जवाफमा प्रचण्डले आफु मिटिङमा भएकाले तत्काल भेट्न असम्भव रहेको जनाएका थिए । ‘अहिले म मिटिङमा व्यस्त छु । मिटिङहरु सकिएपछि भेटौँला’ भन्ने जवाफ दिएका थिए ।
प्रचण्डले भेट्न आनाकानी गरेपछि ओलीले पुन दोहोर्याएर भनेका थिए, ‘हैन अलि चाँडो भेट्नुपर्यो । सकभर आजै भेट्न समय मिलाउनुहोला । नभए पनि भोलिसम्म त भेट्नै पर्यो ।’
प्रचण्डले नेकपा बैठकमा १९ पन्ने राजनीतिक प्रस्ताव पेश गरेपछि ओली प्रचण्डबीचको सम्बन्ध बिग्रँदै गएको थियो । पछिल्लो पटक गत पुस दोस्रो साता ओलीले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न फोन गरेपनि त्यसयता उनीहरुबीच संवाद भएको थिएन ।

प्रतिक्रिया