जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छ : युरोपेली आयुक्त

एएफपी । कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताएका छन् ।
युरोपेली मुलुकहरुमा कोभिडविरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भएपनि केही आशाको किरण देखा परेको छ ।
कोभिडको तेस्रो लहर देखापरेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड सङ्क्रमण तिव्ररुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनीयतामाथि शङ्का उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।
युरोपेली आयोगका आयुक्त थिएरी ब्रेटोनले जुलाई १४ सम्ममा अर्थात् अबका चार महिनाभित्रमा युरोपमा रोगप्रतिरोधी क्षमता (इम्युनिटी) तयार हुने बताएका छन् । फ्रान्सेली प्रशारक टिएफ१ सँग कुरा गर्दै उनले भने, “कोरोना महामारीलाई परास्त गर्न एउटा मात्रै उपाय छ, त्यो हो खोप । अहिले बजारमा खोप उपलब्ध हुनेक्रम बढेको छ ।”
फ्रान्सको एक तिहाईभन्दा बढी जनसंख्या अहिले लकडाउनमा छ भने लकडाउन र कडा प्रतिबन्धका विरुद्धमा जर्मनी, आम्स्टर्डम, बुल्गेरिया र स्वीट्जरल्यान्डमा प्रदर्शन भइरहेका छन् ।
रगत जम्ने समस्या देखिएको आशंकामा अस्ट्राजेनिकाको खोप लगाउने क्रम स्थगित भएको थियो । युरोपेली मुलुकमा अस्ट्राजेनिकाको खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको छ । तर युरोपेली औषधि नियामक निकायले अस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरु भएको छ ।
प्रतिक्रिया