चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ, ३० वटा मोटरसाईकल बरामद

नेपालखोज २०७७ चैत ९ गते १४:२२

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाएको छ ।

महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमान सिंह कुवरको हराएको बा९२ प ९१३३ नंम्बरको निलो बुलेट चोरीमा संलग्न नुवाकोटका ३० वर्षे बिमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाईकलसहित पक्राउ गरेको हो ।

उक्त मोटरसाइकलको वास्तबिक नम्बर प्लेट परिवर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो । महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव् बरामद गर्न सफल भएको छ ।
उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिव्रता दिइदै आएको बताए । उनले भने, “यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमितरूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशनमार्फत मोटरसाईकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन् ।”

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वएर, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

ट्राफिक महाशाखाले विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन । चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेको र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ । चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेहिकल एप्लीकेशन मा लगईन गरेर निवेदन दिने व्यवस्थासमेत रहेकोले समयमै जानकारी गराउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया