नेकपा खारेजको फैसला पुनरावलोकनमा जाने माओवादीको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग परामर्श गरेको हो ।
सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बदर गरी ती दुई दललाई एकीकरण पूर्वको अवस्थामा पुर्याइ दिएको थियो ।
नेकपाको नामसम्बन्धी मुद्दामा सर्वोच्चले रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर पार्टी एकीकरण बदर गर्ने फैसला गरेको भन्दै कानून व्यवसायीले आश्चर्य प्रकट गरेका थिए । यद्यपि, अदालतको फैसलाअनुसार दुवै दलले पूर्ववत् अवस्थामा आ-आफ्नो गतिविधि अगाडि बढाएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले माग दाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुनरावलोकनमा जान सकिने सुझाव दिएका सो पार्टीका प्रमुख सचेतक देव प्रसाद गुरुङले जानकारी दिए । फैसलाको पुनरावलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ ।
‘पार्टी एकता बदर गर्ने सर्वोच्चको फैसला बेठीक छ भनेर पहिलेदेखि नै कानून व्यवसायीले भन्दै आएका थिए, यो फैसला न्यायिक भन्दा पनि राजनीतिक प्रकृतिको छ, मागदाबी नै नगरेको विषयमा फैसला गरिएको छ, त्यसकारणले छिटोभन्दा छिटो पुनरावलोकनमा जानुपर्छ भनेर कानून व्यवसायीको सुझाव रह्यो’, उनले भने, ‘अब पार्टीले छिट्टै निर्णय गरेर अगाडि बढ्छ ।’
सर्वोच्च अदालतको फैसलाबाट जनप्रतिनिधिमूलक संस्था संसद् पुनःस्थापना भए पनि सरकारको पछिल्लो गतिविधि फेरि पनि संसद् विघटन गर्ने दिशातर्फ उन्मुख रहेको पनि माओवादीले निष्कर्ष निकालेको छ । सरकारले सदनलाई प्रभावकारीरुपमा अगाडि बढाउन आवश्यक ‘बिजनेस’ दिन नसकेको भन्दै माओवादीले असन्तुष्टिसमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया