भारतद्वारा निर्माणाधीन तटबन्ध रोक्न प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भू-भागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन।
उनले भने, “तीन महिनादेखि भइरहेको उक्त कार्य रोक्न जनताले विरोध गरिरहेको र राजनीतिक दलका भ्रातृ संस्थाले विरोध गर्दै प्रमुख जिल्लालाई ज्ञापन दिएका अवस्थामा पनि सरकार आजसम्म बेखबर हुनु अचम्मको कुरा भएको छ ।”
विसं २०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उनको भनाइ थियो ।
तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गरे ।
उनले भने, “हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ । प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ ।”
मुलुकको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधिसभाको अर्को बैठकमा आओस् भनी उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया