स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १९ औं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसावलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ । चालु आवको पौष मसान्तसम्म ६१ जिल्लाका १४० शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४६ हजार ९ सय ८६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १६ अर्व ५५ करोड २५ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा १० अर्व १० करोड ०५ लाख १७ हजार रहेको छ । राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ ।
सभाले जारी तथा चुक्ता पूँजी ९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा राम प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिक्रिया