भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भीर रहेको छः तुम्बाहाङ्फे

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भीर रहेको बताएकी छन् ।
बिहीबार काठमाडौंको कीर्तिपुर स्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले भूमि नभएकाहरुलाई भूमिको व्यवस्था गरिने बताएकी हुन्। संविधानले नै भूमिबिहीनहरुलाई भूमि उपलब्ध गराउने भनेकोले सोही अनुसार नै नियम कानूनहरु बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने कार्यलाई अगाडि बढाएको बताइन् । अहिले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर ७७ वटै जिल्लामा सुकुम्बासीहरुलाई जमिन दिने कामलाई तिब्रता दिइएको मन्त्री तुम्बाहाङ्फेले बताइन् ।
कीर्तिपुर पाँगा बालकुमारी गाँउ ब्लकमा जम्मा ५ सय ६७ कित्ता संख्या मध्ये ५६ कित्ता सरकारी सार्वजनिक र ५ सय ११ कित्ता व्यक्तिको नाममा छुट्टिएको छ । जसमध्ये अहिले ३ सय ८ कित्ता व्यक्तिको र ५६ कित्ता नेपाल सरकारको नाममा दर्ता गरी ६४ प्रतिशत दर्ता कार्य सम्पन्न भइसकेको छ ।
पाँगा बालकुमारी क्षेत्रमा ३ दशमलव ४ हेक्टर अर्थात ६६ रोपनी १२ आना १ पैसा २ दाम जमिन रहेको छ । यस क्षेत्रमा २०२१÷२२ सालमा एकसरो नापीबाट नापनक्सा गर्न छुटेको थियो । यो गाँउ ब्लकको चारै तिरको नक्सालाई भिडाउँदा बस्तिका रुपमा २०७२ सालमा पाँगा बालकुमारीमा नापनक्सा भएको थियो । २०७४÷०७५ मा नक्सा श्रेष्ता तयार गरी दर्ता प्रक्रियामा गएको र २०७५ असोज २१ ग्ते ७ दिने सूचना र २०७५ पुष १५ गते २१ दिने सूचना जारी गरिएपछि २०७७ माघ ७ गते गाँउ ब्लक सम्बन्धी निर्देशिका जारी भएको थियो । त्यसपछि २०७७ माघ १५ देखि व्यक्तिको नाममा जग्गा नामसारी गर्ने कार्य शुरु भएको थियो ।

प्रतिक्रिया