कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँछौं : नेता नेपाल

नेपालखोज २०७७ चैत १८ गते १६:२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्‍याउन नदिने संकल्प समेत गरे । त्यसका लागि देशै भरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी रुवरुप दिने पक्षमा आफू रहेको स्पष्ट पारे । उनले भने ‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं र हाम्रो सङ्कल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिने छैनौं ।’

उनले आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए ।

प्रतिक्रिया