शुक्रबार, वैशाख १४, २०८१

‘वायु प्रदूषणले कोरोनाको प्रभाव बढ्ला ?’

डा. रुपक अर्याल २०७७ चैत २० गते ११:३८

काठमाडौंमा प्रदूषणको विगतको मेरो अनुसन्धान, हाल विश्‍वव्यापी अध्ययन र तथ्यांक केलाएर विश्लेषण गर्दा के देखिन्छ भने जुन ठाउँ लामो समयदेखि वायु प्रदूषित छ र त्यहाँका बासिन्दा प्रदूषणको सिकार लामो समयदेखि छन् भने कोरोना प्रकोप छिटो फैलने र स्वस्थमा बढी असर पर्ने देखिन्छ। केही साथीहरुको तर्कमा हामी कोरोनाको प्रकोप केही अरु ठाउँ र देशको तुलनामा कम छ भन्ने होला, त्यो सही हुन पनि सक्छ । तर हामीकहाँ वायु प्रदूषण कम हुँदो हो त अहिलेको भन्दा ज्यादै न्यून क्षति हुन्थ्यो भन्ने तथ्यांक केलाएर हेर्दा देखिन्छ ।

त्यसका केही सम्भाव्य कारणहरु निम्‍न छन् :

१) हावाको कणमा कोरोना भाइरस सजिलैसँग टाँसिने र हावाको बहावसँगै धेरै टाढासम्म पुग्न सक्छ । हावामा रहेको कार्बनका कणले विभिन्न रसायन, ब्याक्टेरिया र भाइरसलाई आफ्नो सतहमा आकर्षण गरी टाँसेर राख्छ । त्यसैले वायु प्रदूषण भएको ठाउँमा हावामा रहेको धुलोको कणले विकारयुक्त पदार्थलगायत कोरोना भाइरसलाई निकै टाढासम्म फैलाउन मद्दत पुग्छ । टाढा केही मिटरदेखि सयौं मिटरसम्म हुन सक्छ। कोरोनाको प्रकोप फेरि बढ्न थालेको र अहिलेको अत्यन्त प्रदूषित वातावरणको अवस्थामा त्यसैले निकै बढी सतर्क हुन अत्यन्त जरुरी छ।

२) हामीले दूषित हावा श्‍वास फेर्दा श्‍वास नली र फोक्सोले बाहिरी वस्तुको अवागमन थाहा पाउनासाथ ल्यार ग्रन्थीबाट प्रतिरोधात्मक हर्मोन उत्पादन गर्छ र त्यससँग लड्छ । ल्यार ग्रन्थीबाट निक्लेको हर्मोनले फोक्सोमा रहेको कोषिकालाई सतर्क गराउँछ । त्यस्तो अवस्थामा फोक्सोले प्रतिरोधात्मक प्रोटिन उत्पादन गर्छ जसले बाहिरी वस्तुलाई मार्ने या निष्क्रिय पर्ने काम गर्छ । जो मानिस लामो समयसम्म वायु प्रदूषणको सिकार हुन्छ त्यसमा यस्तो प्रतिरोधात्मक हर्मोन उत्पादन गर्ने क्षमता कम हुन्छ । त्यसकारण वायु प्रदूषित वातावरणमा बसेको मानिसलाई कोरोना लाग्ने सम्भावना बढी हुन्छ ।

३) हाम्रो शरीरमा अक्सिजन फोक्सोबाट रक्त सञ्‍चारमा जान विशेष रसायनको ठूलो भूमिका हुन्छ । लामो समयसम्म वायु प्रदूषणमा बसेको मानिसको शरीरमा उक्त रसायन उत्पादन क्षमता निकै कम हुन्छ ।

४) वायु प्रदूषणले मानिसको शरीरमा एक प्रकारको इन्जाइम बढाउँछ । यो इन्जाइमले कोरोना भाइरसलाई आकर्षण गर्छ र आफैंसँग टसाँएर राख्छ। त्यसबाहेक यो इन्जाइमले उक्त रक्तचाप र मधुमेहजस्ता जटिल रोग पनि निम्त्याउँछ । त्यसैलेले गर्दा वायु प्रदूषणमा लामो समयसम्म बसेको मानिसलाई कोरोना संक्रमण बढ्ने मात्र नभई कोरोना रोग जटिल पनि बनाउँछ ।

के गर्ने त ?
घरबाट निस्कँदा मुखमा मास्क लगाएर निस्कने गरौं । दीर्घकालीनका लागि प्रदूषित वातावरणमा लामो समयसम्म सकेसम्म नबसौं । वातावरण प्रदूषण नियन्त्रणका लागि आफूले सक्दो प्रयास गरौं । प्रदूषण नियन्त्रण गर्न पहल गरौं, समाजका सबै जिम्मेवार निकायलाई सचेत, सतर्क र प्रदूषण नियन्त्रणमा अग्रसर गराऔं । स्वास्थ्य (आफ्नो, समुदायको) हाम्रो अमूल्य सम्पत्ति हो यसप्रति सधैं जिम्मेवार र सतर्क बनौं ।

०००
लेखक डा. रुपक अर्याल वातावरणविद् हुन् । करिब २० वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्‍न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको उनको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्‍वविद्यालयमा अध्यापन र अनुसन्धान मा संलग्‍न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् । यो लेख एनआरएन अस्ट्रेलियाले हालै प्रकाशित गरेको पुस्तक (Dissecting the Pandemic COVID-19) मा प्रकाशित छ ।

प्रतिक्रिया