आइतबार, असार २२, २०८२

महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध

नेपालखोज २०७७ चैत २० गते १६:२०

काठमाडौं । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच कोभिड–१९ को खोपका खरिदकालागि आर्थिक सहायता प्रदान कार्यक्रममा उनले यसो बताएका हुन् ।

सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा बैंकका प्रतिनिधिले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको समतामुलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न रकम सहयोगी हुने विश्वास व्यक्त गरे । उनले भने ‘जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताए ।’

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।

यस्तै, मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताए । खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न पनि प्राप्त सहयोग उपयोगी हुने उनको भनाइ थियो ।

प्रतिक्रिया