भारतीय माओवादी सरकारसँग वार्ता गर्न र नियन्त्रणमा लिएको सुरक्षाकर्मी फिर्ता गर्न तयार
भारत । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले छत्तिसगढको बीजापुरमा भएको आक्रमणमा आफूले नियन्त्रणमा लिएको सुरक्षाकर्मी फिर्ता दिनको लागि सशर्त वार्ताको माग र त्यसको लागि आफूहरु तयार रहेको बताएको छ ।
माओवादीले विज्ञप्ति निकालेर बीजापुर आक्रमणमा २४ सुरक्षाकर्मीको ज्यान गएको, ३१ जना घाइते भएको र एक सुरक्षाकर्मी आफ्नो नियन्त्रणमा रहेको बताएको समाचार संस्था एएनआईले जनाएकाे छ ।
माओवादीले लेखेको छ, ‘सो मुठभेडमा पिपुल्स लिब्रेशन गुरिल्ला आर्मीका चार जवानको पनि ज्यान गएको छ । यो घटनाका सम्बन्धमा हामी सरकारसँग वार्ताका लागि तयार छौँ । सरकारले मध्यस्तकर्ताको घोषणा गर्न सक्ने छ । वार्तापछि हामी नियन्त्रणमा रहेका सरकारी सुरक्षाकर्मीलाई रिहा गर्ने छौँ ।’
आम रुपमा प्रहरी आफूहरुका दुश्मन रहेको पनि विज्ञप्तिमा माओवादीले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सुकमा र बीजापुर जिल्लाका गाउँमा आक्रमणका लागि दुई हजार भन्दा धेरै प्रहरी जवान आएका थिए । यसको योजना अमित शाहको नेतृत्वमा बनाइएको थियो ।’
२०२० को नोभेम्बरदेखि सुरु भएको सरकारी सैन्य अभियानको क्रममा १५० भन्दा धेरै स्थानीय बासिन्दा मारिएको माओवादीले जनाएको छ ।
मोदी–शाह नेतृत्वको सरकारले हत्याकाण्डको योजना बनाए पनि ती सबै योजनाको जनयुद्ध मार्फत गम्भीर जवाफ दिने वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया