डा. यम बहादुर रोका सुप्रवल जनसेवाश्री पदकबाट विभुषित

काठमाडौं । न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन तथा समाजसेवी डा. यम बहादुर रोका सुप्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी हुन् ।

नेपालको पूर्वाञ्चलमा न्यूरोसर्जरीमा विशिष्ठ योगदान दिइरहेका समाजसेवी डा. यम बहादुर रोकाले बागलुङ जिल्लामा जन्मिएर विगत २१ वर्षदेखि पूर्वाञ्चललाई कर्मथलो बनाएका छन् । उनले ११ वर्षभन्दा बढि समयदेखि विराटनगरमै सेवा दिईरहेका छन् । नेपालमा न्यूरोसर्जरी सुरु भएपछि पूर्वाञ्चलमा पहिलो न्यूरोसर्जरी सेवा दिने उनी नै पहिलो डाक्टर हुन् ।
डा. रोका एक अब्बल कवि पनि हुन् । अंग्रेजी विधामा उनले १ हजारभन्दा बढि कविता लेखिसकेका छन् । उनको कविता संग्रह ‘१०८ पोइम्स’ भोल्यूम– १ र २ प्रकाशित भइसकेका छन् भने अरु ५–७ वटा भोल्यूमहरु प्रकाशनको तयारीमा रहेका छन् ।
विभिन्न सामाजिक कार्यमा संलग्न उनले २ दर्जनभन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि पाइसकेका छन् । डा. रोकाले भारत, सिंगापुर तथा अन्य मुलुकहरुमा अध्ययन गरेका हुन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि शुक्रबारै सुशोभन गरिएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ ।
विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार समितिमा प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, कलाकार हरिहर शर्मा, इञ्जिनीयर काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य रहेका थिए ।
प्रतिक्रिया