शनिबार, वैशाख १५, २०८१

कुरूप अनुहार

प्रमोद प्रधान २०७७ चैत २८ गते ८:५०

सत्तारोहणसँगै देखिन थाल्दोरहेछ
शासकको कुरूप अनुहार !

आँखाहरू विस्तारै हुँदारहेछन् धमिला
र, देखिन छाड्दा रहेछन् टाढाका अनुहारहरू,
तिनले चिन्न छाड्दा रहेछन् सहकर्मी र सहयात्रीहरू
कहिलेकाहीँ त मानिसहरू झुक्किन्छन्
ती आँखै हुन् या सिसाका गुच्चा !
कानहरूले मात्र मन पराउन थाल्दा रहेछन्
भजन र स्तुतिगान,
सकिँदै जाँदो रहेछ आलोचनाको ‘सा रे ग म’ सुन्ने धैर्य,
अनि सुन्न गाह्रो मान्दोरहेछ पीडाका गीत र सुसेलीहरू !
बढ्दो रहेछ घ्राणशक्ति र चाँडै छुट्याउन थाल्दो रहेछ
आफन्त र परायाबीचको भेद,
र मन पराउन थाल्दोरहेछ सीमित गन्धमात्र !
छालाहरू बाक्लिँदो रहेछ
र बिर्संदोरहेछ स्पर्श अनुभूति !

सत्तारोहणसँगै देखिन थाल्दोरहेछ
शासकको कुरूप अनुहार !

अनुहारबाट हराउँदो रहेछ हाँसो
र, ओढ्दो रहेछ नदेखिने गरी क्रूरताको मखुण्डो !
कति छिटै दन्तलहर दाह्रामा र
नङहरू नङ्ग्रामा परिवर्तन हुँदारहेछन् ।
घाँटीहरू मालाको भारी बोक्न तयार भएर बस्दारहेछन्
अभ्यस्त हुँदारहेछन् मुखहरू
जस्तोसुकै बोल्न र निल्न पनि,
गोडाहरूले खोज्‍न थाल्दारहेछन् राता कार्पेटहरू !
भोक झन्‌झन् बढ्दो रहेछ र त्यसमा थपिँदोरहेछ
‘सलामी भोक’ पनि
झिकेर फाल्दारहेछन् मुटु र मगज
आमाशयहरू पचाउँदा रहेछन् ‘किलो–किलो’ सुन !
बिर्संदा रहेछन् जानै छ एकदिन
वाग्मतीका किनारमा धुवाँका लहरहरूसँगै अनन्तमा…

सत्तारोहणसँगै देखिन थाल्दोरहेछ
शासकको कुरूप अनुहार !

सत्तारोहणसँगसँगै बद्लिँदोरहेछ सबैखाले परिभाषा…
सिद्धान्त, संविधान, कानुन सबै-सबै
च्यातिँदोरहेछ घोषणापत्र !
र अर्जुनदृष्टि केन्द्रित हुँदोरहेछ सत्तासुखमा !
देखिन छाड्दारहेछन्
निर्मला, नवराज विक र राजु सदाहरू !
सत्तारोहणसँगै देखिन थाल्दोरहेछ
शासकको कुरूप अनुहार !

प्रतिक्रिया