बिहीबार, वैशाख १३, २०८१

घोषणापत्र

अशेष मल्ल २०७९ वैशाख २८ गते १०:०९

निर्वाचनपछि
सदाका लागि
पुस्तकभित्रै कैद
र पुन:
अर्को चुनावका संघारमा
बग्रेल्ती अक्षरहरु
झन्डा बोकेर आउने
शब्दजालको पुलिन्दा हो
घोषणाा पत्र

घोषणापत्र भनेकै
अक्षरहरूका जादूगरी बयान
हर चुनावपछि कैदखानामा
बन्द हुन सिर्जिएका
अघोषित बकपत्र

घोषणा पत्र भनेकै
पल्टाएर पढ्न
फुर्सद नपाएर
ढुसी परेका
अक्षरहरूको एउटा
बेनामी बहिखाता

सपनाहरुको अनाम थैली
बदनाम गीतहरुका
व्यर्थका अलाप
आकाशका तारा
खस्ला कि खस्ला कि
सधैंको मीठो भ्रम
र कहिल्यै बाली नलाग्ने
कागजको खेती

घोषणापत्र भनेकै
नदी किनारमा
केटाकेटीले बनाएको
बालुवाको घर
क्षणभरको रहर ।

चुनाउको मौसम छ यतिखेर
राजनीतिको खेतीमा
घोषणापत्रका वालाहरु
लहलह झुलिरहेछन् ।

प्रतिक्रिया