शुक्रबार, वैशाख ७, २०८१

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

दीपकिरण खड्का २०७७ चैत २८ गते ९:०१

मेरो पनि सेमेस्टरको परीक्षा भर्खरै सकिएको थियो । उता दाइहरूको पनि फाइनल इअरको परीक्षा सकेर घुमाघाम गर्दै रैछन् । “तिम्रो घर हुँदै गोसाईंकुण्ड जान मन थियो ।” भनेर विजय दाइले मलाई भन्नुभएको थियो । भाइहरूले पनि इन्जिनियरिङ पढाइमा भर्ना गरिसकेपछि मैले समय हुन्छ भनेको थिएँ । ठ्याक्कै मेसोमा दाइहरुले सम्झिनुभएछ । काठमाडौंबाट दाइहरु विजय, अविन, अशोक, विवेक, विराट र मनोज दाइहरु आउनुभयो ।

उहाँहरुले सम्पूर्ण जिम्मा मनोज दाइलाई दिनुभएको रहेछ । ९ बजेको लोकल गाडी चढेर उहाँहरु हाम्रो घर आइपुग्नुभयो । मम्मीले खान तयार गरिसक्नुभएको थियो । बस यात्राबारे गफिँदै दाइहरुले आफ्ना अनुभूतिहरु सुनाउनुभयो । ‘पटेलको अचम्मको बानी भनेको तराईमा जन्मेर नि माछा खाँदैन ।” अशोक दाइले विवेक दाइलाई भन्नुभयो । खाना खाइसकेर दाइहरु मेलम्ची खोलामा डुल्ने भनेर जानुभयो । बेलुका दाइहरुलाई चखाउनुपर्छ भनेर बालेमाथि गाउँबाट कोदोको झोल मगाउनुभएछ । विजय दाइ र अंकितचाहिँ कुखुरो लिन पारी गाउँ गए । बा र आमा खाना तयार गर्न लाग्नुभयो । “हाम्रो पालामा त हाम्ले एकैदिनमा हाम्रो बा’लाई बोकेर गोसाईंकुण्ड दर्शन गर्न लगेका थ्यौँ । तिमेरू त्यै बाटोलाई २ दिन लाग्छ भन्छौ ।” भन्दै गोसाईंकुण्डबारे ऊबेलाको चल्तिको किंवदन्ती सुनाउनुभयो ।

“तामाङ जातिभित्रको गोले समुदाय गोसाईंकुण्ड जान हुन्न भन्ने मान्यता रहेछ । उनीहरुको मान्यताअनुसार त्यो बेला गोसाईंकुण्डमा एउटा डरलाग्दो विषालु नाग बस्थ्यो रे । त्यो विषालु नाग मार्नका लागि बोन्पोसहित गोले समुदायका अरु मान्छे पनि गएका थिए, सँगै बोन्पोको श्रीमती पनि गएकी थिइन् । गोले बोन्पोले आफूले बजाउँदै गरेको ढ्याङ्ग्रो श्रीमतीलाई दिएर म अब कुन्डभित्रको नाम मार्न जान्छु । म मन्त्र भन्दै हुन्छु, तिमीले निरन्तर ढ्याङ्ग्रो बजाउनु है । नाग बाहिर देखिन थाले झन् जोडले ढ्याङ्गो बजाउनु । श्रीमतीले हुन्छ भनिन् । बोन्पो भित्र पसे, नाग बाहिर निस्कियो । नागको बडेमानको रूप देखेर बोन्पोको श्रीमती तर्सिइन् । ढ्याङ्ग्रो बजाउन छाडिन् । र नागले बोन्पोलाई बेर्‍यो । यही कारणले उबेलाको मान्यताअनुसार गोलेहरु गोसाईंकुण्ड जाँदैनन् ।” यति भन्दै गर्दा सबै गम्भीर मुद्रामा सुनिरहेका थिए ।

“कोदोको झोल त कडा रैछ, तर स्पेसल पनि । यस्तो कहीं चाखिएको थिएन आजसम्म ।” अबिन दाइ हौसित मुद्रामा भन्दै थिए । बेलुका खाना खाइवरी तल काकाको घरतिर लागियो । कोही आगो ताप्‍न तिर लागे, कोही खोला सुसाएको आनन्द लिँदै थिए । बिहान मनोज दाइ चाँडै उठेर बजार गई हामीलाई यात्रामा चाहिने सामानहरु किन्न बजार लागे । मचाहिँ घर सरसफाइतिर लागेँ । भाइ माछा फार्म सफा गर्न लाग्यो । “७/८ दिन हामी घरमा हुन्नौं, अत्यावश्यक कामचाहिँ सकेर मात्रै जानुपर्छ है । यति गर्न पाए आमालाई पनि काम होलो हुन्थ्यो ।” भाइहरुलाई यति भनिसकेर, कामहरु सक्दा, खाना खाइवरी तयारी हुँदा दिउँसोको १२ बजिसकेको थियो ।

घरबाट दाइहरु र हाम्ले मम्मीसँग बिदा माग्यौँ, “सबैलाई शुभयात्रा” भनेर मम्मीले एकमुष्ट शुभकामना व्यक्त गर्नुभयो । घरको ढुंगे भित्तोलाई पृष्ठभूमिमा हामीले एउटा तस्बिर पनि खिचायौँ । तल हजुरआमालाई सगुन बनाएर राख्नुभएको रहेछ । “कुनै शुभकार्य गर्दा दही खाएर गरियो भने त्यो सोचेजस्तै बन्छ । तिमेरूको गोसाईंकुण्ड यात्रा पनि सफल बनोस् । आउँदा गोसाईंकुण्डको पवित्र जल लिएर आउनु है ।” यति भन्दै हजुरामासँग बिदा माग्यौँ । तल घरकी काकी हामीलाई पर्खेर बस्नुभएको रहेछ ।

“चैतको समय छ, लेकतिर हुरी चल्छ । सुक्खा पहिरो खस्छ । अलि सचेत भएर हिँड्नु है ।” सबैसँग बिदा भईवरि हामी कुटुमसाङ पुग्ने लक्ष्यसहित हिँड्यौं । तुवाँलोले आकाश उति खुलेको थिएन तर बाहिर घाम चर्को थियो । सबै जनाअघि पछि हुँदै उकालो उक्लिन थाल्यौं । बाटाभरी गफिँदै, तामाङ बस्तीहरु छुँदै हामी उक्लिरह्यौँ । बङगारे, सुर्सिङ, पातिङका बस्तीहरुमा मानिसहरुले हामीसँग मुस्कान साटे । “टाढै बाबुहरू ?” भनेर धेरैले सोधे पनि । हामी बाटामा भेटिएका मान्छेहरुसँग बोल्दै, सोध्दै हिँड्यौ । झन्डौं ३ घण्टा उकालो उक्लेपछि हामीले सम्म परेको ठाउँमा झिक्राझिक्री बटुलेर चिया बनायौं ।

मनोज दाइलाई चिया बनाउने जिम्मा थियो, चिनी र चियापत्ती मसँग थियो, कित्ली अविन दाइसँग थियो र पानी त्यतैको मूलबाट जम्मा गर्‍यौं । चिया खाएर उक्लिँदै गर्दा जोड-जोडले हावा चल्दै थियो, बस्तीका लुङ्दारहरु फर्फराएको आवाज सुन्दा नै गज्जब लाग्थ्यो । झन्डै चार घण्टा लगाएर हामी कुटुमसाङ पुग्यौँ । साँझ झमक्क परिसकेकाले माङ्‍‌गिन गोठ बास बस्न नजाने सबैबीच सहमति भयो । बाहिर चिसो हावा चलेको थियो । हामी आगो ताप्न पस्यौं । नौलो खालको आगो ताप्ने ठाउँ देखेर दाइहरु आश्चर्यमा परे । “यस्तै खाले आगो ताप्ने कुरो त मार्दीमा नि देख्या थेम् हाम्ले ।”

अविन दाइ विजय दाइतिर फर्केर भन्छन् । पाहुनाहरुको चाँजोपाँजो मिलाउन निकै व्यस्त भएका होटेलवाला दाइ हामी भएको ठाउँमा आइपुग्छन् । “होटेल कति राम्रो है ? लगानी निकै गर्नुभएको होला ?” विजय दाइ सोध्छन् । “पैले त कोरिया बसेर आएको ६ वर्ष । यति घर बनाउन निकै पैसा लाग्यो । भुइँचालोले केही बचेन । विदेशबाट कमाएकै पैसाले बनाएको । ठीकै छ ।”

म पनि मेसोमा सोधिहाल्छु, “कता सन्तुष्ट दाइ नेपालमा कि कोरियामा ?” “परिवारसँगै हुँदा आफ्नै माटोको माया लाग्छ । तर कमाउन जानु पनि बाध्यता हो । भुइँचालो लाग्यो, ऐले त कोरोना पनि लाग्यो । कमाइ शून्य छ । यसो सम्झँदा फेरि विदेश जाने होकि पनि लाग्छ । तर आशाले फेरि यतै टिक्नपर्छ पनि भन्छ ।” दाइ अलिक निराश भावमा यसो भन्छन् । गफिँदा-गफिँदै खाना पाकिसकेको खबर आइपुग्छ । ढोकाबाट चिसो सिरेटो छिर्छ । तराईबाट लेकाली गाउँ घुम्न आएका दाइहरू पनि चिसोको मस्त मजा लिइरहेका छन् । सबैजना खाना खाइसकेर हामी सुत्न लाग्छौं ।

बिहान ६ बजे सबै उठिसक्छन् । झन्डै २,५०० मिटर उचाइमा रहेको कुटुमसाङबाट सिन्धुपाल्चोक र नुवाकोटलाई सिमाना बनाएर उभिन सकिन्छ ।

पाटीभञ्ज्याङबाट सोलो ट्रेक गर्दै आइपुगेका दाइसँग भेट हुन्छ । “ब्रोहरू आज कहाँसम्म हो ? ती दाइ सोध्छन् । “आज फेदी पुग्ने लक्ष्य हो दाइ हाम्रो, पुग्नैपर्छ ।” म हौसित मुद्रामा भन्छु । “म नि फेदीसम्म नै हो । म हिँड्दै गर्छु । ब्रोहरुलाई बाटामै भेटिएला ।” यति भन्दै उनी हिँड्छन् । हामी पनि बिस्तारै हिँड्छौ । १५/२० मिनेट हिँडिसकेर हामी लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा पुग्छौं । “भाइहरु कताबाट ?” एकजना आर्मी दाइ सोध्छन् । “हामी हेलम्बु ३, पाल्चोकबाट । यही गाउँपालिकाको हो ।” हामीले यसो भनेपछि आर्मी दाइले नाम मात्रै टिपे । “टिकट नकाटे हुनेरैछ । फूलहरू विषालु हुनसक्छन् । “टिप्दै नहिँड्नुहोला ।” मनोज दाइ र मैले आर्मी दाइहरुसँग बिदा माग्यौँ । अब भने बिस्तारै हामी हाम्रो गति बढाउन थाल्यौं । लालीगुराँसहरु फुल्दै रहेछन्, अरु प्रजातिका गुराँसहरुले कोपिला मात्रै भरेका थिए । अब भने बाटो उकालो थियो । ढुंगे सिँढी हुँदै माङ्गिन गोठ पुग्नु थियो । माङ्गिन गोठका कालु दाईलाई कुटुमसाङमै भेटिएकाले खाना पकाएर राख्न भन्दिन्छु भनेर भन्नुभएको थियो ।

डाँडाहरु हेर्दै झन्डै दुई घण्टाको उकालो यात्रापछि हामी माङ्गिन गोठ पुग्यौं । विजय दाइ, अंकित र मिलन निकै अघि पुगिसकेका रहेछन् । मनोज दाइ, अशोक दाइ, अविन दाइ, विराट दाइ, सञ्जीव भाइ र मचाहिँ पछि नै थियौँ । मध्यम हिँडाइ भने विवेक दाइको थियो । बाटाभरि गफिँदै हामी माङ्गिन गोठ पुग्यौं । एकैछिन फ्रेस भएर हामीले खाना खान थाल्यौं । आन्टीलाई भित्रै गएर भेटेँ, “मलाई चिन्नुभयो नि है ?” । एकटक हेरेर भन्नुभयो, “चिनेँ, चनौटेको भाइ त हो नि । दारी जस्ताको तस्तै रैछ ।” सबैले खाना खाइसकेपछि हामी हिँड्न थाल्यौं । पैलो ओरालो झर्‍यौं, र तेर्सो लाग्यौं ल । “अब भने थारेपाटीसम्म ठाडो उकालो छ है । बिस्तारै हिँडौ तर अलमल पनि नगरौं ।” भनेर मैले सबैलाई भने । १० जनाको टोली, अघि र पछि त हुने भयो नै । साढे दुई घण्टाको उकालो यात्रापछि हामी सबै थारेपाटीमा जम्मा भयौं ! एकैछिन थकाइ मार्‍यौं ।

थारेपाटी सबैभन्दा उत्तरपट्टि देखिने फेदीमा पुग्नु थियो । अग्ला-अग्ला रूख, सल्ला, देवदर र धुपीका बास्‍ना र अग्ला-अग्ला पहराबीच छिचोलिएका गोरेटोबाट हामी लम्किरह्यौं । आकाशमा बादल मडारिरहेको थियो, गड्याङ्गुडुङ् गर्दै थियो, मौसम बदली हुनसक्ने सम्भावना र सङ्केत पाइसकेको थियौं हामीले । ओल्लो घोप्टे पुग्नु अघि नै हिउँका ससाना छिर्काहरु झर्न थाले । धन्न हामी घोप्टे निर होटेल देखेर खुशी भयौं । तर होटेल बन्द रैछ । वरपर दाउरा जम्मा गर्‍यौं । मनोज दाइ ओत परेको ठाउँ तिर आगो बाल्न थाले । चिया खाने कुरो पनि भयो । दाइले कित्ली राख्न मिल्ने गरी चम्को पनि बनाए । अविन दाइ, अशोक दाइहरु हिउँ पर्दै गरेको देखेर दङ्‍ग पर्दै उफ्रिन र नाच्न थाले । “मार्दी जाँदा हिउँ पर्न आँट्यो भनेर खुसी भएको त, हिउँ नै नपर्दी’रा के त्यतिबेला । हिउँ अनुभूति गर्न हेलम्बु यात्रा जुर्न लेख्या रैछ र पो !” हिउँ परेको उत्साहमा अबिन दाइ र अशोक दाइले एकैस्वरमा खुसी व्यक्त गरे !

विवेक दाइ हिउँ परेको भिडियो कैद गर्न थाले । हिउँ बाक्लो पर्दै गयो । कतै विचल्लीमा पो पर्ने हो कि भन्ने चिन्ता पनि गर्न थाले दाइहरु । मैले सबैलाई ढुक्क हुन भने । चिया र बिस्कुट खाइसकेर सबैले रेनकोट, प्लास्टिक ओढ्यौं । हिउँ पर्न रोकिएको थिएन तर हिउँ रोकिएला र हिँडौला भन्ने अवस्था पनि थिएन । र यो परिस्थितिबीच हिँड्दै गर्ने भन्ने सबैको सहमति भयो । दाइहरुलाई र भाइहरुलाई हिउँमा सजगताको साथ हिँड्न सल्लाह र अनुरोध गरेँ । झन्डै-झन्डै आधा फिट हिउँ परिसकेछ दुई घण्टाको अन्तरालमा । हिउँ परेपछि हिँडाइको गति पनि घट्यो नै । साँझ छिप्पिँदै गयो । मैले विजय दाइ, मिलन र अंकितलाई बोलाएँ, “रात छिप्पिन थाल्यो, बाटो साँघुरो र अप्ठ्यारो छ । तपाईंहरु सरासर जानुस् । होटेलमा बरु गएर त्यहाँका दाइहरुलाई यसो बाटोसम्म बत्ती लिएर जान भन्नुस् है ।”

यति भन्दै दाइहरुलाई सरासर जान भनेँ । यता अशोक, अविन, विवेक दाइलाई अघि हिँड्न भनें । मनोज दाइ र म पछि बस्यौं । विराट दाइलाई खुट्टामा समस्या देखिएकाले बिस्तारै हिँड्नुपर्‍यो । सञ्जीवलाई पनि अशोक दाइसँगै हिँड्न भनेँ । सोलो ट्रेक गर्दै आएका दाजु पनि हामीसँगै थिए । “दीपक दाइ अब कति घण्टा लाग्छ, कति पर हो फेदी ?” हिँड्दा-हिँड्दै एकपछि अर्को पहाड उभिएको देखेर सञ्जीव मलाई प्रश्न तेर्स्याउँछ । “ऊ यही एउटा पहाड कटेपछि ओरालो झर्ने, एउटा सानो उकालो चढ्ने अनि फड्के तर्ने त्यसपछि त आइहाल्यो नि, नआत्ति न पिरती !” जुनेली रातमा हिँडेर काट्नुपर्ने डाँडाहरु देखाउँदै म भन्छु । सञ्जीवलाई जिस्काएर हामी पिरती भन्छौं । पब्जी खेल्दा उसले पाइरेट राखेको रैछ तर नेपाली केटाहरुले मिस्-स्पेल गर्दिनाले उसको नाम नै पिरती बन्न पुगेको कुरो उसले थारेपाटीको उकालो उक्लिँदै गर्दा सुनाएको थियो ।
क्रमश :
(नियात्राको दोस्रो भाग आगामी शनिबार अर्थात् २०७८ वैशाख ४ गते प्रकाशन हुनेछ ।)

प्रतिक्रिया