नयाँ वर्ष (भिडियोसहित)

भरखरै खबर पाएँ
यसपालि पनि
पोहोर साल जस्तै
फेरि नयाँ वर्ष आउँदैछ रे
सुन्छु
अनन्त आशा र सपनाको उपहार बोकेर
उ छिट्टै आउँदैछ रे।
यसपालिको नयाँ वर्ष
बितेका नयाँ वर्षहरुले
बाँडेका सपनाको कोसेली
डोकोभरि बोकेर
विगतमा कबुलेका
उपहारको बक्यौता बुझाउन
मलाई खोज्दै
यतै छिट्टै आउँदैछ रे ।
म जसो तसो ठिकै छु
यसपालिको नयाँ वर्षले मलाई
महङ्गो र आकर्षक उपहार नदिए पनि
जीवन धान्नका लागि
अरब जानुपर्ने बाध्यताको लगाम
फुकाइ दिए पुग्छ
अरबी साहुको घरमा
बलात्कृत चेलीहरुले भोग्नुपरेको
अपमान र पिडा
अबका चेलीहरुले
भोग्नु पर्दैन भन्ने
इमान्दार प्रतिज्ञापत्रमा
सहिछाप गरिदिए पुग्छ ।
हराएको हिमालको पुरानो हाँसो
र
राजनीतिले चोरेको
मेरो देशको खुसीको नासो
कन्जुस्याईं नगरी
आउने नयाँ वर्षले
मलाई नै फर्काइदिए पुग्छ ।
रेमिट्यान्सको कच्ची इँटाले थेगेको
मेरो घरमा जग
आउनै लागेको नयाँ वर्षले
मेरै पहाडको बलियो ढुङ्गा हाली
नयाँ जग खन्न सिकाइदिए पुग्छ
दासता स्वीकारेर
पराइलाई पसिना बेच्नुभन्दा
आफ्नै पुर्खाको घरगाउँमा
मेरो पसिना किन्ने
पौरखी पसल
खोलिदिए पुग्छ
विदेश पलायन हुने
छोरा छोरीलाई
उसैको घरभित्र
कुनातिर कतै
उसले खोजेको वस्तु
छरपस्ट पोखिएको छ भनेर
आउने नयाँ वर्षले
राम्ररी सम्झाइदिए पुग्छ ।
देशको अस्तित्वरक्षा गर्दै
नालापानीको युद्धमा
शताब्दियौं अगाडि
वीरगति प्राप्त गर्ने
महान् शहिदहरुको
विरताको आत्मकहानी
अनि
अपराजित पुर्खाहरुको
साहसको जवानी
उदाउँदो पुस्ताको
रगतमा मिसाइदिए पुग्छ ।
बाहिरी र भित्री
घात, प्रतिघात, र अन्तर्घातले
थित्थिलिएको
मेरो देशको बिरामी र कमजोर
राष्ट्रियताको रक्षार्थ
नयाँ वर्षले मलाई सगौरव
स्वाभिमानी निष्ठाको लौरो
मेरो सन्तानको हातमा
थमाइदिए पुग्छ
म चाहन्छु
यस्तै यस्तै उपहार लिएर
आउँदै गरेको
नयाँ वर्षलाई देखेर
मेरी आमाको छाती
गर्वको गौरवले फुलोस्
मेरी आमाका फरक फरक
सन्तानहरुमा
मानव चैतन्यको शाश्वत सत्य
चिन्न र देख्न सक्ने
ज्ञानको तेस्रो आँखा खुलोस् ।।
प्रतिक्रिया