बुधबार, वैशाख १७, २०८२

२०७७ : महामारी र प्राकृतिक प्रकोपको वर्ष

नेपालखोज २०७८ वैशाख १ गते ८:३०

काठमाडौं । विगतका वर्षहरूको तुलनामा २०७७ साल थप पीडादायी, कष्टकर र अनिश्चयको वर्षका रुपमा रह्यो । कोरोना भाइरसको महामारीले यस वर्ष विश्व समुदायलाई नै आक्रान्त पार्‍यो । त्यसका साथै प्राकृतिक प्रकोप, राजनीतिक खिचातानी, हत्या-हिंसाका घटनाले विश्वका सञ्‍चारमाध्यमहरूमा प्रमुख समाचारको स्थान पाए । तीमध्ये प्रमुख घटनाबारे यहाँ संक्षेपमा उल्लेख गरिएको छ ।

हटेन कोरोना कहर
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अझैसम्म पनि विश्व समुदाय त्रासमा बाँचिरहेको छ । भाइरसविरुद्धको खोप निर्माण भएसँगै मानिसहरूको जीवन सामान्य बन्दै जान थालिसकेको थियो । तर पछिल्लो समय भाइरसको नयाँ भेरियन्ट (स्वरुप) फैलने क्रम तीव्र भए पनि यसले त्रास थपेको छ ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्त्यबाट फैलिएको भाइरसका कारण सोमबार साँझसम्म विश्वभर १३ करोड ६५ लाख जनाभन्दा बढी संक्रमित भइसकेका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । संक्रमितमध्ये कम्तीमा २९ लाख ४० हजारको मृत्यु भइसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिमा बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

यसै वर्ष अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक दलका जो बाइडेन निर्वाचित भए । उनको विजयसँगै कमला ह्यारिस उपराष्ट्रपति भइन् । ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला तथा एसियाली मूलकी उपराष्ट्रपति हुन् । पछिल्लो समय विश्वव्यापी मुद्दामा कम चासो राखेको अमेरिकाले बाइडेनको जितसँगै विश्वको नेतृत्व गर्ने अनुमानसमेत गरिएको छ ।

बाइडेनको विजयीसँगै अमेरिकामा भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद् भवनमा आक्रमण गरे । चुनावमा धाँधली भएको दाबीसहित गरिएको आक्रमणमा कम्तीमा ५ जनाले ज्यान गुमाए ।

सैनिक ‘कू’ सँगै म्यान्मारमा नरसंहार

सैनिक ‘कू’ को विरोधमा म्यान्मारको यांगुनमा मंगलबार लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शन । तस्बिर : एपी

सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै म्यान्मारको सेनाले फेब्रुअरी १७ मा सैनिक ‘कू’ मार्फत सत्ता हातमा लियो । जसको विरोधमा लोकतन्त्र पक्षधरहरूले प्रदर्शन चर्काएपछि सेनाले चरम दमन गरेपछि सात सयभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ । अधिकारवादी समूहहरूका अनुसार राष्ट्रपति विन मिन्ट, लोकतन्त्रवादी नेतृ आङ सान सूची तथा उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूसहित करिब तीन हजार जनालाई पक्राउ गरिसकिएको छ । प्रदर्शनकारीले सूचीलगायत नेताहरूलाई विनासर्त रिहा गर्न र जनताको अधिकार जनतामै फिर्ता गर्न माग गर्दै प्रदर्शन चर्काएका हुन् । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, जापानलगायत देशले सैनिक दमनको भर्त्सना गर्दै आएका छन् ।

महामारीबीच कोरियामा चुनाव
कोरोना भाइरसको महामारीबीच दक्षिण कोरियाले २०७७ वैशाख ३ मा संसदीय चुनाव सम्पन्न गरेको छ । भाइरसको महामारी देखिएपछि सामूहिक रूपमा मानिसलाई भेला हुन रोक लगाइए पनि सामाजिक दूरी कायम राखेर गरिएको चुनावमा करोडौं मतदाता सहभागी भए । चुनावबाट संसद्‌का लागि तीन सय सदस्य चुनिएका हुन् । भाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रमा ल्याएका कारण चुनावमा वर्तमान राष्ट्रपति मुन जे-इनको डेमोक्र्याटिक पार्टीले १६ वर्षपछि बहुमत हासिल गर्‍यो ।

अमेरिकाभर रंगभेदविरुद्धको प्रदर्शन
यस वर्ष अमेरिका फेरि एकपटक रंगभेदविरुद्धको प्रदर्शनको साक्षी बन्यो । प्रहरी नियन्त्रणमा एक अश्वेतको ज्यान गएपछि सुरु भएको प्रदर्शनका कारण अमेरिकाका करिब चार दर्जन सहरको जनजीवन प्रभावित भयो । कपितय सहरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएपछि कर्फ्यु लगाइयो । अमेरिकाका साथै उक्त प्रदर्शन बेलायत, फ्रान्स, स्विट्जरल्यान्डलगायत युरोपेली देशहरूमा समेत चर्कियो । प्रहरी अधिकारीले घाँटीमा घुँडाले टेकेका कारण जर्ज फ्लोयडको ज्यान गएपछि गरिएको प्रदर्शन सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछिकै ठूलो भएको बताइएको छ ।

भारत-चीन तनाव उस्तै
विगतका वर्षहरूमा भारत र चीनबीच सीमा क्षेत्रमा सामान्य झडपहरू हुने गरे पनि यस वर्ष पूर्वी लद्दाखको गलवान उपत्यकामा ठूलो भिडन्त भयो । जसका कारण एक अधिकृतसहित २० भारतीय सैनिकको ज्यान गयो भने चीनका चारजना सैनिकले ज्यान गुमाए । घटनापछि दुई देशबीचको सम्बन्ध थप तिक्ततापूर्ण बनेको छ । भारतले चिनियाँ कम्पनीलाई दिइएको ठेक्का तोडेको छ भने दर्जनौं चिनियाँ एपमाथि प्रतिबन्धसमेत लगाइसकेको छ ।

रोकिएन भारतीय किसानको आन्दोलन

कृषि कानुनहरूको विरोधमा भारतीय किसानहरूले जनवरीमा नयाँदिल्लीस्थित लालकिल्लामा गरेको प्रदर्शन । तस्बिर : रोयटर्स

सरकारले ल्याएका कृषि कानुनको विरोधमा भारतीय किसानले गरेको आन्दोलन अझै जारी छ । सरकारले ल्याएका कृषि उत्पादन वाणिज्य तथा व्यापार प्रोत्साहन र प्रवर्द्धन ऐन २०२०, किसान सशक्तीकरण र संरक्षण सम्झौताका लागि मूल्य बिमा र कृषि सेवा ऐन, २०२० र अति आवश्यकीय वस्तुहरूको संशोधित ऐन, २०२० ले उद्योगी व्यवसायीलाई खुसी पार्न खोजिएको र आफ्नो पेसा संकटमा परेको भन्दै किसानहरू आन्दोलित भएका हुन् ।

राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

फिलिप आफ्नी पत्नी तथा बेलायती महारानी एलिजाबेथ द्वितीयका साथ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको गत शुक्रबार निधन भयो । बेलायती राजतन्त्रलाई नजिकबाट नियालेका फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ नोभेम्बर २० मा बिहे गरेका राजकुमार फिलिप र रानीका ४ सन्तान, ८ नातिनातिना र १० जना पनाति-पनातिनी छन् । उनको आगामी शनिबार अन्त्येष्टि गरिँदै छ ।

यूएई, चीन र नासाले मंगलग्रहमा यान पठाए
यस वर्ष संयुक्त अरब इमिरेट्स (यूएई), चीन र अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहमा यान पठाएका छन् । यूएईले ‘होप’, चीनको ‘तियावेन-१ र नासाको ‘रोभर पर्सिभरेन्स’ मिसनले मंगलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने जनाइएको छ ।

पाकिस्तानमा विमान दुर्घटना
पाकिस्तानको लाहोरबाट उडेको यात्रुवाहक विमान कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा दुर्घटना हुँदा ९७ जनाको ज्यान गयो । विमानमा ९१ यात्रु र चालक दलका आठ सदस्य थिए । अधिकारीहरूका अनुसार दुर्घटनामा दुईजना बच्‍न सफल भएका थिए ।

ए-३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटरबाहिरको आवासीय क्षेत्र मोडेल कोलोनीमा गत असार १० गते खसेको हो । अधिकारीहरूका अनुसार लाहोरबाट कराचीका लागि उडेको पाकिस्तान इन्टरनेसनल एयरलान्सको विमान दुवै इन्जिन फेल भएपछि दुर्घटना भएको हो ।

मलेसियाली पूर्वप्रधानमन्त्रीलाई १२ वर्षको कैद सजाय
मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लाखौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाएको छ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा नाजिब दोषी भएको ठहरसमेत गरेको छ । आफूमाथि लागाइएका आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू नाजिबले अस्वीकार गरेका छन् ।

विहारमा सत्ताधारी गठबन्धनलाई बहुमत
भारतको विहारमा सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जेडीयूसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) विजयी भयो । एनडीएले १२५ सिटसहित सरकार गठनका लागि आवश्यक बहुमत ल्याएको हो । विहार विधानसभामा २४३ सदस्य छन् । पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बन्न सफल भयो । दोस्रोमा रहेको भाजपाको ७४ सिट छ । विहारको वर्तमान सत्ता गठबन्धनमा यतिन्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नीतिशकुमारका लागि भने चुनावी परिणाम अप्रत्याशित जस्तै बन्यो । उनको जनता दल युनाइटेड जेडीयूले केवल ४३ सिट मात्र जित्न सफल भयो ।

यौन दुर्व्यवहारविरुद्ध हजारौंले गरे प्रदर्शन
यौन दुर्व्यवहार तथा लैंगिक हिंसा अन्त्यको माग गर्दै यस वर्ष अस्ट्रेलियाका हजारौं महिलाले देशव्यापी प्रदर्शन गरे । अस्ट्रेलियाली राजधानी क्यानबेरासहित सबै मुख्य सहरमा गरिएको प्रदर्शनका सहभागीले महिलामाथि हुने यौन दुर्व्यवहार र उत्पीडनविरुद्ध स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरेका छन् ।

‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा एक लाखभन्दा बढी महिला, पुरुष तथा बालबालिका सहभागी भएका थिए । करिब एक महिनाअघि संसद् भवनस्थित रक्षामन्त्री लिन्डा रेनल्डस्को कार्यालयमा काम गर्ने पूर्वकर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा अघि आएको हो । यसलगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करिब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो ।

छेकियो स्वेज नहरको जलमार्ग

स्वेज नरहमा ६ दिनसम्म फसेको पानीजहाज ।

अचानक आएको हावाहुरीका कारण मालवाहक पानीजहाज अड्किएपछि विश्वकै व्यस्त व्यापारिक जलमार्ग इजिप्टको स्वेज नहर करिब एक साता अवरुद्ध भयो । दुई लाख २० हजारभन्दा बढी कन्टेनर बोक्ने चार सय मिटर लामो र ५९ मिटर चौडा ‘एभर गिभन’ अड्किएपछि ३ सय ५० भन्दा बढी पानीजहाजहरू करिब एक साता उक्त क्षेत्रमा रोकिन बाध्य भए । जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भयो । यो संसारकै महँगो ट्राफिक जामसमेत भएको जनाइएको छ ।

रुसमा विपक्षीको प्रदर्शन

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गत जनवरीमा मस्कोमा गरिएको प्रदर्शन । तस्बिर : रोयटर्स

रुसको जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेल हाल्ने फैसलापछि उनका समर्थकहरूले देशव्यापी रुपमा प्रदर्शन चर्काए । त्यसक्रममा नाभाल्नी पत्नी युलियासहित कम्तीमा तीन हजार प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक ४४ वर्षीय नाभाल्नीले सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कू’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

इन्डोनेसियामा भीषण बाढीपहिरो
यस वर्षको ठूलो प्राकृतिक विपत्‌का रुपमा इन्डोनेसिया र इस्ट टिमोरमा गत साता गएको बाढीपहिरोलाई हेरिएको छ । उक्त घटनामा करिब १७० जनाको ज्यान गएको छ । तीमध्ये १३० जना इन्डोनेसियाली र अन्य इस्ट टिमोरका हुन् ।

प्रतिक्रिया