सोमबार, वैशाख २९, २०८२

किरण चेम्जोङ धनगढी एफसीको आइकोनिक खेलाडीका रूपमा अनुबन्ध

नेपालखोज २०७८ वैशाख २ गते २०:२२

काठमाडौं । किरण चेम्जोङलाई नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

काठमाडौंमा बिहीवार धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडीको रूपमा नियुक्त गरेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेदेखि दशरथ रङ्गशालामा हुँदैछ । एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो ।

राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई धनगढीले मार्की प्लेयरको रूपमा नियुक्त गरिसकेको छ । अक्शनबाट १४ जना खेलाडी धनगढीको टोलीमा अनुबन्ध भइसकेका छन् । धनगढीमा अनुबन्ध भएका किरण झन्डै पाँच वर्षपछि नेपाली फुटबल क्लबमा फर्किएका हुन् । नेपाली फुटबल क्लबमा फर्किएपछि एनएसएलको लागि आफू उत्साहित रहेको चेम्जोङले बताए ।

धनगढीले अक्शनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई टोलीमा समावेश गरिसकेको छ । धनगढीले किरणका साथै अन्य विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ । विदेशी खेलाडीसहितको टोलीसँग नेपाली खेलाडीले खेल्दा नेपाली खेलाडीको स्तर उकासिने विश्वास राखिएको छ ।

यस्तै धनगढी फुटबल क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका पूर्वखेलाडी युगल किशोर राईलाई दिएको छ । नियुक्त भएका राईले धनगढीलाई राम्रो स्थानमा पुर्‍याउन मेहनत गर्ने प्रतिक्रिया दिए ।

यसअघि मनाङ मर्स्याङ्दी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसकेका तोपे फुजालाई क्लबले प्रशिक्षकको रूपमा अनुबन्ध गरेको थियो । यस्तै टोलीका लगानीकर्ता सुवास शाहीले किरण जस्ता खेलाडीलाई अनुबन्ध गर्दै पहिलो फ्रेन्चाइज लिगमा सहभागिता हुन पाउँदा खुसी भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया