सुपारी आयातमा भएको भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिईएकोबारे समितिमा सांसदहरुले प्रश्न उठाएपछि यसबारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय भएको हो । त्यसअघि समिति सदस्य रायमाझीले सुपारी आयातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए ।
जुन सरकार आएपनि सधै सरकार र सरकारका मन्त्रीलाई अनुकुल हुनेगरी बजेट ल्याउने गरिएको भन्दै दिगो विकास तथा सुशासन समितिका सदस्य रमेशजंग रायमाझीले दिगो विकासका लक्ष्य प्राप्तीलाई प्राथमिकतामा राखे नराखिएको बारे समितिले चासोका साथ अध्ययन गर्नुपर्ने धारणा राखे ।
राजनीतिक दलका नेताहरु मुलुक र जनताका प्रति जिम्मेवार बन्न नसक्दा पछिल्लो पुस्तामा राजनीति प्रति नै घृणा उत्पन्न हुन थालेको भन्दै उनले सबैले जिम्मेबार हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनीएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । सुपारी आयातका लागि दिईएको अनुमति बारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया