साखः ग्रुपका अध्यक्ष गणेशभक्तको निधन

नेपालखोज २०७८ वैशाख ५ गते ९:५१

काठमाडौं । साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको ९१ वर्षको उमेरमा निधन भएको छ। भक्तपुर पुर्ख्यौली भएका साखः आफ्नो अन्तिम समय सम्म उद्योग– व्यवसायमा सक्रिय थिए।


गणेशका पाँच छोरामध्ये एक जनाको निधन भइसकेको छ। उनका छोराहरु किरणप्रकाश, तेज प्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश छन् भने श्रीमति जनकलक्ष्मी र साहिँलो छोरा प्रभातको निधन भइसकेको छ। उनले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग व्यापार बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए।


यो समूहको भक्तपुरमा नेपाल पेन्टस र साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिज छ। उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका साखः सामाजिक क्षेत्रमा पनि क्रियाशील थिए। उनलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरेको थियो।


गणेशभक्तका बाबु रामभक्तले जापानबाट कपडा र सिंगापुरबाट ल्वाङ, सुकमेल मरिच लगायतका सामान आयात गर्थे। मुम्बइबाट व्यवस्थापनमा स्नातक गरेका गणेशभक्तले चकलेट, बिस्कुट बनाउने तथा लुगा सिलाउने उद्योग स्थापना गरे भने जर्मनी, चीन र जापानबाट सामान ल्याएर कारोबार पनि चलाए । काठमाडौको हात्तीसारमा साखःको कर्पोरेट कार्यालय छ।

व्यवसायसँगै उनले उद्योग क्षेत्रमा हात हाल्दै युनिसा पोलिकेम र नेपाल पेन्ट्स उद्योग खोले। २०५१ सालमा सिमरामा साखः स्टील स्थापना गरे। गणेशभक्तले एफएमसीजीमा समेत हात हाल्दै मल्टिफुड इन्डस्ट्रिज खोलेर चाउचाउ उत्पादन समेत गरेका थिए। उनि चेमी ड्रग उद्योग किनेर औषधी उद्योगमा समेत संलग्न भएका थिए।

प्रतिक्रिया