एमालेले माधव नेपालसहित ८ नेतालाई स्पष्टीकरण सोध्ने

नेपालखोज २०७८ वैशाख ६ गते १८:२८

काठमाडाैं । केपी पक्षधर नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहीन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपाल सहित ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले यस अघि सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको र कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नका लागि नेतृत्व गरेको भन्दै नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप कुमार ज्ञवालीले बताए। उनले भने ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी ह्वीपको उल्लंघन गर्ने ४ जना प्रदेश सभा सदस्यसहित अस्ति स्पष्टिकरण सोधेर चित्तबुझ्दो स्पष्टीकरण नदिएका र हाल निलम्बनमा परेका तर कर्णाली प्रदेशमा त्यो ढङ्गको अनुशासनहिन गतिविधि गर्नका निम्ति नेतृत्व गर्ने ४ जना नेताहरुलाई थप दुई दिनको समय राखेर स्पष्टिकरण सोध्ने समेत पनि निर्णय यो बैठकले गरेको छ ।’


प्रतिक्रिया