शनिबार, वैशाख २२, २०८१

‘अहिले पनि ज्ञानेन्द्र शाह भाजपाका छोटेमोटे नेताको शरणमा पुगिरहेकै छन्’ (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख ११ गते ९:००

काठमाडौं । लोकतन्त्र पुनःस्थापना भएकामा यो दिनप्रति मलाई सधैं गर्व रहनेछ । यो दिन एउटा इतिहास बन्यो । नेपाली जनताले आफ्नो भाग्यको फैसला आफैं गर्ने गरी देशलाई नयाँ बाटोमा डोराए । ०६२-६३ को दोस्रो जनआन्दोलनमा नागरिक समाजको नेतृत्वमा रहेका प्रसिद्ध मानवअधिकारवादी कृष्ण पहाडीले जनआन्दोलन दिवसका अवसरमा नेपालखोज अनलाइनसँगको विशेष कुराकानीमा भनेका छन् । यदि यो लोकतन्त्र खतरामा छ भने जनताका कारण होइन, राजनीतिक दल तथा तीनका नेताहरुकै कारण खतरामा छ ।

‘कहिलेकाहीं अतिवादको आवेग पनि चल्न सक्छ र त्यसमा लोकतन्त्रको हत्या पनि हुनसक्छ । त्यसैले नागरिकहरुले विशेषगरी युवापुस्ताले के बुझ्नुपर्छ भने दास हुने कि स्वाभिमानी नागरिक बन्ने ? आफ्नो हातमा आएको अधिकार फेरि अरुलाई बुझाउने कि आफैंले सदुपयोग गर्ने ? देशको अन्योलपूर्ण राजनीतिमा जनताले नै दलहरुलाई, नेताहरुलाई तह लगाउनुपर्ने धारणा व्यक्त गर्दै पहाडी भन्छन्, ‘यहाँ दल र नेताको होइन, व्यवस्थाकै घाँटी निमोट्नपर्छ भनेर किन भनिँदै छ भने त्यसमा अनेकौँ स्वार्थ मिसिएका छन् । आज हामी अनेकन किसिमका अतिवादको चपेटामा छौँ । ती अतिवादलाई परास्थ गर्न पनि मुलुकमा सहमतीय संस्कृति आवश्यक छ ।’ संसारभर कतै पनि लोकतन्त्रको विकल्प खोजिँदैन । बरु लोकतन्त्रले विकल्प दिन्छ ।

तर हामीकहाँ त्यसो हुन सकेन, विकृतिहरु यसरी बढेर गए कि ती लोकतन्त्रविरोधीहरुको खुराक बन्न पुगे । दुखका साथ भन्नुपर्छ नेताहरुका यस्तै व्यवहारका कारण हामी धरापमा छौँ ।

दोस्रो जनआन्दोलनका दिनहरुको स्मरण गर्दै पहाडीले नेपालखोजसँग एक घण्टा लामो अन्तरंग कुराकानी गरे । कुराकानीको क्रममा उनी कही उत्साहित देखिए त कहीँ निराश पनि भए ।

त्यसक्रममा उनले चेतावनी दिँदै भने, ‘लोकतन्त्रलाई उल्ट्याउने काम भयो भने पनि जनताले फेरि कुनै दिन आफ्नो सक्ता स्थापित गरेरै छाड्नेछन् ।
विदेशीहरुको इशारामा गणतन्त्र स्थापना गरिएको आरोपको प्रतिवाद गर्दै उनले त्यसलाई वकवासको संज्ञा दिए ।

पहाडी भने- ‘त्यतिबेला भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह तथा कांग्रेस आईकी अध्यक्ष सोनीया गान्धीको विशेषदूत भएर काठमाडौं आएका कस्मिरका पूर्वयुवराज करण सिंहले राजतन्त्र टिकाउन भरमग्दूर प्रयास गरेकै हुन् । अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाह भाजपाका छोटेमोटे नेता, त्यसमा पनि आरएसएस तथा मठ-मन्दिरहरुको शरणमा पुगिरहेकै छन् ।’

पहाडीले त्यतिबेला युरोपियन युनियन, भारतलगायत अमेरिका लोकतन्त्रको पक्षमा र राजाको कदमको विपक्षको भए पनि राजतन्त्र फाल्ने पक्षमा नरहेको जानकारी दिँदै भने, ‘शान्ति र विकासको सर्तमा राजतन्त्र फ्याँके ।’ विदेशी शक्तिहरु त्यतिबेला आ-आफ्नो एजेन्डा लाद्‌न लागिपरेको स्मरण गर्दै पहाडी भन्छन्, ‘मुलुक धर्मनिरपेक्षतामा जानु त्यसकै परिणाम हो ।’

त्यतिबेलाको जनआन्दोलन राजनीतिक दलहरुको नियन्त्रणमा नरहेको बताउँदै उनी भन्छन्, दलहरुले त वैशाख ८ गते राजा ज्ञानेन्द्रसँग सम्झौता गरेकै हुन् । तर जनताले त्यसलाई मानेनन् । जनताले आन्दोलनलाई निरन्तरता दिए, वैशाख ११ गते राजा गद्दी त्याग्न बाध्य भए । त्यतिबेला नेपाली जनताले राजतन्त्रलाई मुलुकको अस्थिरताको प्रमुख कारण मानेकैले यो दिन आएको उनको तर्क छ ।

पहाडी भन्छन्- जनता माओवादी हिंसाको अन्त्य चाहन्थ्ये । लोकतन्त्र, स्थायी शान्ती अनि विकास चाहन्थ्ये । नेपालको लोकतन्त्र अनेकौ असहमतिबीच जनताका कैयौं मुद्दालाई सम्बोधन गर्दै अघि वढिरहेको बताउदै पहाडीले भने बहुमतीय प्रणालीमा गए पनि ०६२-६३ को आन्दोलनको मुख्य ध्येय सहमतीय संस्कृति नै हो ।
तसर्थ दलहरुसँग सहमतिमा मुद्दाहरुको निष्कर्ष खोज्दै अघि बढ्नुको विकल्प छैन । यो संविधानले जनतालाई नागरिक बनाउने प्रयत्‍न गरेको छ । तर आज पनि नेपाली नागरिक कमजोर छन् । नागरिकहरु जति बलिया हुन्छन् लोकतन्त्र त्यति बलियो हुन्छ । तर नेपालीहरु अहिले नयाँ किसिमले उत्पीडित छन् । तर उनीहरुको आवाज सुनिएको छैन ।

हिजोभन्दा आज राम्रो भएको छ भनेर देखाउने कतिपय काम त भए होलान् तर नेताहरुले त्यसलाई देखाउन सकेनन् बरु जनताले हिजो चप्पल लगाएर हिँड्ने नेताहरु आज अर्बपति भएको चाहिँ देखें । राजतन्त्र त हट्यो तर नेतातन्त्र हाबी भयो भन्ने गुनासो प्रवल भएर गयो ।

पहाडी भन्छन्- राजनीतिलाई विकासमुखी बनाउने, देशलाई सवल बनाउने इच्छाशक्ति र भिजन भएको नेतृत्व भएन । नेतृत्वमा त २०६१ मा जनताबाट फालिएकाहरु नै आए । नेता ठीक छैनन् भने नेता फालौं । दलहरु ठीक छैनन् भने नयाँ दल खोलौं । लोकतन्त्र हाम्रा लागि हो । यसमा केही कुरा चित्त बुझेन भने परिवर्तनको विकल्प खुला छ । पहाडी भन्छन्- आजको दिन मैले सत्य भन्नै पर्छ ‘जनतामा चरम निराशा छ । राजतन्त्रको अन्त्य भनेको छोटेमोटे राजा जन्माउनु थिएन भन्ने उनीहरुको भावना छ । हिजो जनता राजाका दास थिए । आज नेताका दास भए । अर्को कुरा भष्ट्राचारले खायो । सुशासन नभएपछि राज्य कमजोर त हुने भइहाल्यो । त्यसैले हामी अहिले अनेकौँ आशंकाहरुबीच लोकतन्त्र दिवस मनाउदैँ छौ ।

अहिले मुलुकका नेताहरुमा देशभन्दा पहिले म, लोकतन्त्र पहिले म वा मेरो दलभन्दा ठूलो म भन्ने भावना पैदा भएकोमा पहाडीले दु:ख व्यक्त गर्दै भने- ‘राष्ट्रियहितका विषयमा सबैलाई सहमतिमा विश्वासमा लिएर चल्न सक्नुपर्छ ।’

कुनै पनि संविधान उत्कृष्ट वा निष्कृष्ट हुँदैन । मैले यो संविधानलाई उत्कृष्ट पनि भनेको छैन । यसमा संशोधनको गुञ्जायस छ । तसर्थ केही कुरा मिलेको छैन । पुगेको छैन भने संशोधन गर्दै लैजानुपर्छ । किनभने यो संविधानको कुनै पनि धारा अपरिवर्तनीय छैन । कुनै पनि देशको जीवनधारा, पद्धति, संस्कृति आदिले संविधानको सफलता वा असफलता निर्धारण गर्छ । पहाडीको तर्क छ, ‘यदि हामी कमजोर छौँ भने संविधान पनि कमजोर छ, तर त्यसो भन्दैमा पछाडि फर्केर फेरि रैती बन्न जाने कुरा हुँदैन ।

पहाडीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया