काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् । गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।
जिल्लामा दिनानुदिन कोरोना सङ्क्रमण दर बढ्दै गएपछि केन्द्रले सार्वजनिकस्थलमा भीडभाड नगर्न आह्वान गर्दै सावधानीपूर्वक सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ ।
तेह्र स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ , बनेपा नपामा १४, पाँचखालमा सात, पनौतीमा १५, नमोबुद्धमा चार, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा पाँच, चौँरीदेउरालीमा दुई, तेमालमा दुई र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित भेटिएका छन् । तीन स्थानीय तह खानीखोला, महाभारत र बेथानचोकमा भने सङ्क्रमण देखिएको छैन ।

प्रतिक्रिया